• २३ पुस २०८१, मङ्गलबार

डोजर चलेपछि हटाइँदै टहरा

blog

आफ्ना संरचना आफैँ हटाउँदै स्थानीय । तस्बिर : पुष्कर भण्डारी

अमरगढी समाचारदाता

डडेलधुरा, मङ्सिर १३ गते । डडेलधुरा जिल्ला सदरमुकाम बागबजार–कीर्तिपुर–डकले सडक विस्तारका क्रममा संरचना हटाउन स्थानीयले आनाकानी गरेपछि डोजर चलाइएको छ । केही दिनयता सडक विभाग र अमरगढी नगरपालिकाले डोजर लगाई संरचना भत्काउन थालेपछि बल्ल स्थानीय टहरा हटाउन थालेका छन् । 

बागबजारदेखि डकलेसम्म सडक विस्तार गर्न सडक डिभिजन कार्यालय डोटीले मुआब्जा बाँडेर सडकका नाममा जमिन प्राप्त गरिसकेको छ । अमरगढी नगरपालिकाले बारम्बार सडक क्षेत्राधिकार ३० मिटरभित्र पर्ने संरचना हटाउन सूचना जारी गर्दै आइरहेको थियो । नगरपालिकाले यसअघि कात्तिक २० गते पनि बागबजार क्षेत्रमा सडक क्षेत्राधिकार भित्रका सबै संरचना हटाउन डोजर चलाइएको थियो । घरधनी र व्यापारीको अटेरपछि अमरगढी नगरपालिका र सडक डिभिजन कार्यालय डोटी आफैँले सडक क्षेत्राधिकारभित्र रहेका घर, टहरा, सिँढी सबै भत्काउन थालेको थियो तर केही स्थानीयले मुआब्जाबापतको रकम पाउन नसकेको भन्दै विरोध भएपछि काम रोकिएको थियो । 

 सबै घरधनी र जग्गाधनीले मुआब्जाबापतको रकम बुझिसक्नुभएको छ तर सडकको बिच भागदेखि १५/१५ मिटर दायाँबायाँभित्र बनेका संरचना र टहरा भने हटाउनुभएको थिएन । नगरपालिकाले सूचना जारी गर्दासमेत स्थानीयले अटेर गरेपछि चार दिनयता फेरि डोजर लगाई संरचना र टहरा हटाउन थालिएको नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर १० का वडाध्यक्ष खेमराज भट्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले अवरोध छैन । डोजरले भत्काउन सुरु गरेपछि स्थानीय आफैँले संरचना र टहरा भत्काइरहेका छन् । पाँच मिटर मात्रै चौडा कालोपत्रे भएको सडक विस्तार गर्न सरकारले ६० करोड रुपियाँभन्दा बढी रकम मुआब्जा बाँडेको छ । यो रकम पछिल्ला तीन वर्षमा स्थानीयलाई बाँडेको हो तर हालसम्म पनि केही स्थानीयले सडकको दायाँबायाँ १५/१५ मिटरभित्र बनाएका संरचना हटाउनुभएको थिएन । अमरगढी नगरपालिका–५, बागबजारको पिपिल चौतारादेखि वडा नम्बर ८ को डकलेसम्म सडक विस्तार गर्न सरकारले मुआब्जा वितरण गरेको सडक डिभिजन कार्यालय कुलपाते डोटीका कार्यालय प्रमुख रमेश भट्टराईले जानकारी दिनुभयो । 

सडक डिभिजन कार्यालय कुलपाते डोटीले यो सडकखण्ड निर्माण विस्तारका लागि ९७ करोड बजेट विभागबाट माग गरेको छ । बजेट माग गरेको दुई वर्ष पुगे पनि रकम प्राप्त भएको छैन । बजेट प्राप्त हुनेबित्तिकै टेन्डर गर्न सजिलो हुने भएकाले सडक क्षेत्राधिकार भित्रका संरचना हटाउन लागिएको उहाँले बताउनुभयो । सुदूरपश्चिमका सात पहाडी जिल्लाको ट्रान्जिट प्वाइन्टका रूपमा रहेको डडेलधुरामा साँघुरो सडकले आवतजावतमा सास्ती हुने गरेको छ । जिल्ला सदरमुकामको सडक कालोपत्रे भएको २६ वर्षपछि सडक स्तरोन्नतिको योजना अगाडि बढे पनि निर्माण बजेट नहुँदा स्थानीय निराश भएका छन् ।