• २३ पुस २०८१, मङ्गलबार

स्थानीय तहसँग छैन पर्यटकको अभिलेख

blog

नारायण नगरपालिका–६ मा रहेको ऐतिहासिक पञ्चदेवल । तस्बिर : कमल शर्मा

दैलेख समाचारदाता

दैलेख, मङ्सिर १३ गते । काठमाडौँ र लुम्बिनीपछि धार्मिक, ऐतिहासिक तथा पुरातात्त्विक हिसाबले निकै महत्वपूर्ण मानिने दैलेखमा हजारौँ वर्ष पुराना सम्पदा रहेका छन् । आन्तरिक तथा बाह्य पर्यटकको रोजाइँमा रहने दैलेखमा नेपाली भाषाको शिलालेख, कोतगढी, पञ्चदेवल, पानीमाथि आगो बल्ने ज्वाला क्षेत्रलगायतका पर्यटकीय स्थल छन् । पछिल्ला वर्षमा यहाँ रहेका पर्यटकीय स्थलको अवलोकनका लागि भन्दै आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दै गएको देखिन्छ । यहाँका ११ वटा स्थानीय तहमा रहेका पर्यटकीय स्थलको अवलोकनमा आएका पर्यटकको तथ्याङ्क भने राखेको पाइँदैन ।

स्थानीय सरकारले आफ्नो ठाउँमा रहेका पर्यटकीय स्थलको संरक्षण, प्रचारप्रसारसँगै अवलोकनमा आएका पर्यटकको तथ्याङ्क सुरक्षित राख्नुपर्ने भए पनि स्थानीय सरकार र सम्बन्धित निकायले तथ्याङ्क राख्न नसक्दा कति पर्यटक जिल्लामा भित्रिए भन्ने अनुमानसमेत गर्न नसकिने भएको छ । जिल्लाका ११ स्थानीय तहमध्ये नारायण नगरपालिका, दुल्लु नगरपालिका, भैरवी गाउँपालिका, नौमुले गाउँपालिका र महाबु गाउँपालिकामा विभिन्न धार्मिकदेखि प्राचीन पर्यटकीय स्थल रहेका छन् । नारायण नगरपालिका दैलेखका नगरप्रमुख लोमन शर्माले पर्यटकीय क्षेत्रको अवलोकनका लागि आउने पर्यटकको तथ्याङ्क नराखिएको बताउनुभयो । उहाँले हालसम्म यहाँ आउने पर्यटकको विवरण नराख्ने गरेको भए पनि अबका दिनदेखि तथ्याङ्क राख्नका लागि आवश्यक कार्ययोजना बनाउने बताउनुभयो । उहाँले भन्नुभयो, “नारायणमा रहेका पर्यटकीय क्षेत्रको संरक्षणमा स्थानीय सरकारले काम गर्दै आएको र शुल्कसहितको अभिलेख राख्ने काम गर्छौं ।” 

दुल्लु नगरपालिकाका प्रमुख भरतप्रसाद रिजालले नेपाली भाषाको शिलालेख, विभिन्न जातजातिको उद्गमस्थल मानिने दुल्लुले पनि यहाँको पर्यटकीय क्षेत्रको प्रचारप्रसार र त्यहाँ आउने पर्यटकको तथ्याङ्क राख्न नसकेको बताउनुभयो । उहाँले अहिलेसम्म दुल्लुमा आउने आन्तरिक तथा बाह्य पर्यटकको विवरण राख्ने नगरेको बताउँदै पर्यटकको तथ्याङ्क राख्ने निर्णय भएको भए पनि कार्यान्वयन हुन नसकेको जनाउनुभयो । जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाहीले स्थानीय सरकारले आफ्नो जिल्लामा आएका पर्यटकको तथ्याङ्क राख्न नसक्नु स्थानीय सरकारको कमजोरी भएको बताउनुभयो । जिल्लामा रहेको विभिन्न पर्यटकीय स्थलमा आउने आन्तरिक तथा बाह्य पर्यटकको तथ्याङ्क स्थानीय सरकारले नै राख्नुपर्ने जिल्ला समन्वय समितिले जनाएको छ । दैलेखका ११ वडा स्थानीय तहका ९० वडामा विभिन्न पर्यटकीय स्थल रहेका छन् । यहाँका पर्यटकीय स्थलको अवलोकनमा आएका आन्तरिक तथा बाह्य पर्यटकबाट निश्चित शुल्क उठाउन सके गाउँका सरकारको आन्तरिक आम्दानीसमेत बढ्ने सरोकारवाला निकायले बताएका छन् ।