मुगु समाचारदाता
मुगु, जेठ २७ गते । माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार पार्न ड्रिलिङ थालिएको छ । एलिभेट इनर्जी प्रालिको प्रस्तावित आयोजनाका साइट भौगर्भिक इन्जिनियर सुरेन्द्र तिमिल्निाका अनुसार ३०६ मेगावाट बिजुली उत्पादन क्षमताको आयोजनाले स्थानीयलाई क्षमता अनुसारको रोजगार प्रदान गर्ने र आसपासमा सिँचाइका लागि ठुला परियोजना सञ्चालन गर्नेलगायतका लक्ष्य लिएको छ ।
तीन वर्षभित्रै डिपिआरको तयारी गर्ने उद्देश्यले छायानाथ रारा नगरपालिका–१२, लुम्सको गाँठे स्थानमा ड्रिलिङ भइरहेको छ । उक्त ड्रिलिङको लम्बाइ ३८५ मिटर रहेको छ । अहिलेसम्म १९ मिटरको काम सम्पन्न भएको जानकारी उहाँले दिनुभयो । मुगुमा जलविद्युत्, जलमार्ग र पर्यटन क्षेत्रको विकासका लागि पनि नवीनतम परियोजनाका रूपमा रहेको प्रस्तावित आयोजना मुगुको मुगुमकार्मारोङ गाउँपालिका र छायानाथ रारा नगरपालिकाको लुम्समा पर्छ ।
आयोजनालाई भविष्यमा बहुद्देश्यीय परियोजना रहने उहाँले बताउनुभयो । जलविद्युत् उत्पादनमा अनियन्त्रित पानीलाई नियन्त्रण गरी उपयोग गर्ने र सिँचाइको सुविधा उपलब्ध गराउन महत्वपूर्ण हुने उहाँको भनाइ छ ।
तिमिल्सिनाका अनुसार जलाशयबाट पर्यटन, रोजगारी, माछापालन, स्थानीयलाई निर्माणका क्रममा र सम्पन्न भएपछि रोजगारी दिइने छ । समुदायलाई लाभान्वित हुने गरी कार्यक्रम गरिने र पुनर्बास र पुनस्र्थापनाको काम पनि हुने छ ।
नेपाल विद्युत् प्राधिकरण शाखा मुगुका कार्यालय प्रमुख साजन ऐडीले माथिल्लो मुगु कर्णाली जलविद्युत् निर्माण गर्नु सकारात्मक रहेको बताउनुभयो । उहाँले परियोजनाका फाइदा बेफाइदाभन्दा पनि यसको व्यवस्थापन कसरी गर्ने भन्ने कुरा महत्वपूर्ण हुने बताउनुभयो । माथिल्लो मुगु कर्णाली जलविद्युत् योजना मुगुमकार्मारोङ गाउँपालिकाको रिउस अथवा पुलमा बाँध रहने प्रस्ताव छ । उक्त आयोजना बाँध आंशिक जलाशय (पिकिङ–आरओआर, पिआरओआर) का रूपमा निर्माण हुने छ । यो प्रकारको नदीमा बाँध निर्माण गरी दैनिक चार घण्टा पानी भण्डारण गरिन्छ । यसरी सञ्चित पानीबाट विद्युत्को उच्च माग भएको समयमा विद्युत् उत्पादनमा सञ्चालन गरी माग पूर्ति गर्ने प्रालिको योजना रहेको छ ।