गंगा कुमारी मिजार
रसुवा, साउन ७ गते । गत असार २४ गते लेन्देखोलामा आएको भीषण बाढीका कारण रसुवागढी नाकाको मितेरी पुल बगाएपछि चीनको केरुङमा अड्किएका नेपाली नागरिक बुधबार तातोपानी नाकाबाट स्वदेश फर्किंदै छन् ।
चीनको केरुङमा रहेका सवारी चालक बद्रीबहादुर आचार्यका अनुसार उनीहरूलाई लिएर गएको चिनियाँ सवारी साधन बिहान ७ बजेतिर (चिनियाँ समयअनुसार) तातोपानी नाकातर्फ लागिसकेको छ ।
“बाढी गएपछि चीनले उद्धार गरेर केरुङ पुर्याएका नेपालीहरूलाई आज तातोपानी हुँदै नेपाल पठाइँदैछ,” आचार्यले जानकारी दिनुभयो ।
फर्कने यात्रुहरूमा मुख्यतया सवारी चालक, बिरामी भएका व्यक्ति, नियमित औषधी सेवन गर्ने र औषधी सकिएका गरी करिब २०३ जना रहेको प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बताउनुभयो ।
“काठमाडौँसम्मको यातायातको व्यवस्था नेपाल सरकारले गरेको छ भने चीनतर्फको यात्रा चीन सरकारले व्यवस्थित बनाएको छ,” उहाँले थप जानकारी दिनुभयो ।
यद्यपि, स्याफ्रुबेँसी–रसुवागढी सडक खण्ड अहिले सञ्चालनमा आए पनि मितेरी पुल पुनर्निर्माण नभएसम्म रसुवागढी नाकाबाट आवतजावत सम्भव छैन । यही कारणले उनीहरूलाई सिन्धुपाल्चोकस्थित तातोपानी नाकाबाट स्वदेश फर्काइएको हो ।