• १३ मंसिर २०८१, बिहिबार

कलाकारको आकर्षण प्रस्तरकलामा

blog

ढुङ्गा खोपेर हात्तीको मूर्ति बनाउनुहुँदै मूर्तिकार तमबहादुर पुन ।

नारायणगढ, मङ्सिर १३ गते । भरतपुर महानगरपालिका–२० का तमबहादुर पुन फालिएका रुखका जराबाट काठको मूर्ति बनाउने मूर्तिकारका रूपमा चिनिनु हुन्छ तर पछिल्लो समय उहाँले जराबाट मूर्ति कुँद्न छाडेर ढुङ्गाको मूर्ति बनाउन थाल्नुभएको छ । काठमाडौँको कीर्तिपुर, चितवनको भरतपुरस्थित रानीपोखरी, नवलपरासीको गैँडाकोटस्थित मौलाकालिका मन्दिर र इटहरीको भाउन्नेका बगैँचामा उहाँका कलाकृति देख्न पाइन्छन् । 

“पहिला जराबाट मूर्ति बनाउँथे, चार सय जति बनाएँ होला । अहिले त्यो चटक्कै छाडेर ढुङ्गाको मूर्ति बनाउन थालेको छु । ढुङ्गाकै मूर्ति पनि दुई सयभन्दा बढी बनाइसकेँ होला,” उहाँले भन्नुभयो । रुखका जरा पाउनै कठिन, पाइहाले पनि यसको मूर्ति बचाइराख्न गाह्रो हुने तर ढुङ्गाको मूर्ति जहाँ राखिदिए पनि हुने उहाँले जानकारी दिनुभयो । 

“ढुङ्गाको मूर्ति घरभित्र होस् वा बाहिर जहाँ सजाए पनि भयो । काठको मूर्ति त घरभित्रै सजाउनु प¥यो । बाहिर त घामपानीले सत्यनास नै पार्छ,” उहाँले भन्नुभयो । ढुङ्गाको मूर्ति बनाउँदा आफूले कल्पना गरे अनुसार बनाउन सकिन्छ तर जराका हकमा उसकै आकारमा मूर्तिको कल्पना गर्नुपर्ने अनुभव पनि उहाँले सुनाउनुभयो । 

चितवनमा लामो समयदेखि जलरङ खेलाएर चित्र कोरिरहनुभएका चित्रकार प्रकाश थापा ‘प्रथा’ पनि ढुङ्गाको चित्रमा मन बस्न थालेको बताउनु हुन्छ । “मेरो पहिलो ढुङ्गाको मूर्ति जमिनबाट निस्किएको अवस्थाको शिवको मूर्ति हो,” उहाँले भन्नुभयो । “पानी चित्रबाट पाइने भनेको दुई/चार हजार रुपियाँ हो तर ढुङ्गाको मूर्ति बनाउँदा २०/३० हजारदेखि लाखौँ रुपियाँसम्म कमाइ गर्न सकिन्छ,” उहाँको भनाइ छ । 

तमबहादुर र प्रकाश मात्रै होइन, ढुङ्गाको मूर्ति बनाउने मूर्तिकारको सङ्ख्या यतिखेर बढ्दै छ । नेपालमा मात्रै होइन, विदेशमा समेत नेपाली चित्रकारले ढुङ्गाको मूर्ति बनाउने अवसर पाउन थालेपछि यसमा आकर्षण बढ्दो छ । मोरङ उर्लाबारीका मञ्जुल मितेरीको नेतृत्वमा छ जना मूर्तिकारको टोली जापानमा मूर्ति बनाइरहेका छन् । नेपाल प्रज्ञा–प्रतिष्ठान मूर्ति विभागका निर्देशक दिनेश्वर महतो पनि मूर्ति बनाउने काममा आकर्षण देखिएको भन्नुहुन्छ । “जापानको कुमामोतोस्थित खामिआमाकुसाको दुई सय मिटर चौडाइ सत्तरी मिटर अग्लो चट्टानमा विशाल बुद्धको मूर्तिसँगै अन्य मूर्तिहरू निर्माणको काम भइरहेको छ । यसले कलाको माध्यमबाट नेपाललाई विश्वसामु चिनाउने काम भइरहेको देखाउँछ,” उहाँले भन्नुभयो । 

यो टोलीले जापानकै खामिआमाकुसा क्षेत्रमा सन् २०१६ देखि २०२२ सम्म ठुलो बुद्धको मूर्ति बनाएपछि अन्य नेपाली संस्कृतिका बुद्धका मूर्ति बनाउन लागिएको उहाँले जानकारी दिनुभयो । नेपाली शैलीमा बनाउन लागिएका ती बुद्धका मूर्ति सन् २०२५ सम्ममा सक्ने योजना रहेको बताइन्छ । 

निर्देशक महतो ढुङ्गाको मूर्तिबाट छिटो पहिचानसँगै आम्दानी धेरै हुने भएकाले मूर्तिकारहरू यसमा आकर्षित भएको बताउनुहुन्छ । “चित्रले भन्दा मूर्तिले छिटो पहिचान दिन्छ । अझ विदेशमा यसको आकर्षण बढी छ ।  

आम्दानी पनि राम्रो भएकाले मूर्तिकारहरू यसमा आकर्षित भएका हुन्,” उहाँले भन्नुभयो । 

पछिल्लो समय सालिक बनाउने प्रचलनले पनि मूर्ति बनाउनेहरू बढिरहेको बताइन्छ । ललितकला क्याम्पस भोटाहिटीबाट चित्रकलामा स्नातकोत्तर गर्नुभएका राजेश बराल पनि चितवनको माडीमा मान्छेको सालिक बनाउन व्यस्त हुनुहुन्छ । “ढुङ्गा कुँदेर सालिक बनाउन सजिलो काम त कहाँ हो र तर पनि हामीले फोटोकै भरमा उस्तै स्वरूप निकालेर काम गरिरहेका छौँ,” उहाँले भन्नुभयो । 

“चित्रमा त्यति पैसा छैन । मूर्तिमा त एक फिटको मूर्ति बनाउँदा नै एक लाख रुपियाँभन्दा बढी आम्दानी हुन्छ । सामान्यतया अर्धकदका मूर्ति पाँच÷छ फिटका हुन्छन् भने पूर्णकदका मूर्ति त छ/सात फिटका हुन्छन्,” उहाँले भन्नुभयो । ढुङ्गामा मूर्ति कुँद्ने काम धेरै जटिल काम हो । एउटा सानो मूर्तिलाई एक हप्ता र ठुलो मूर्तिलाई दुई/तीन महिना लाग्न सक्छ । नेपालमा ढुङ्गाबाट मूर्ति बनाउने उद्योग नै धेरै बनिसकेका छन् । उनीहरूले देवीदेवताका मूर्ति बढी बनाएर स्वदेश तथा विदेशमा बिक्री गर्छन् । मूर्तिको कति ब्यापार हुन्छ भन्ने यकिन तथ्याङ्क भने कतै भेटिँदैन । छिनोका भरमा मूर्ति बनाउनेहरूको मूर्ति जीवन्त रहन्छन् । निर्देशक महतो भन्नुहुन्छ, “हातले बनाउने मूर्तिको माग बढ्दो छ । यसलाई हामीले जोगाइराख्न सक्ने हो भने मूर्तिकारको भविष्य सुन्दर छ ।”