लोकतन्त्र केवल मतदान गर्ने प्रक्रिया मात्र होइन, यो सहिष्णुता, अनुशासन र सभ्य राजनीतिक संस्कारको अभ्यास पनि हो । चुनाव लोकतन्त्रको महत्वपूर्ण उत्सव हो; जहाँ विचार, नीति र नेतृत्वबिच प्रतिस्पर्धा हुन्छ । प्रतिस्पर्धा सकिएपछि परिणामलाई कसरी स्वीकार गरिन्छ भन्ने कुराले लोकतन्त्रको वास्तविक चरित्र प्रकट गर्छ । जितपछि उन्माद देखाउने र हारपछि आक्राेश पोख्ने प्रवृत्ति लोकतान्त्रिक संस्कारसँग मेल खाने विषय होइन ।
नेपालको पछिल्लो राजनीतिक परिवेशले पनि यस्तै पाठ सिकाइरहेको छ । हिजोको जेनजी आन्दोलनपछि देशले जटिल र संवेदनशील अवस्था सामना गर्नु परेको थियो । राजनीतिक अनिश्चितता, आशङ्का र अनेक भ्रमका बिच देशलाई स्थायित्वको दिशामा अघि बढाउनु चुनौतीपूर्ण थियो । यस्ता परिस्थितिका बिच पनि लोकतान्त्रिक प्रणाली कमजोर भएन, बरु अझ परिपक्व रूपमा अगाडि बढ्ने प्रयास देखियो ।
यही जटिल अवस्थालाई चिर्दै यस पटक सम्पन्न भएको नेपालको मध्यावधि निर्वाचन लोकतान्त्रिक अभ्यासका दृष्टिले सकारात्मक अनुभवका रूपमा लिन सकिन्छ । नेपालको इतिहासमै पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारले विभिन्न शङ्का–उपशङ्का र भ्रम चिर्दै तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउनु महìवपूर्ण उपलब्धि हो । कठिन राजनीतिक परिस्थितिका बिच पनि निर्वाचनलाई नैतिक, अनुशासित र तुलनात्मक रूपमा सौहार्दपूर्ण वातावरणमा सम्पन्न गराउन सक्नु राज्य संयन्त्र र नागरिक दुवैको लोकतान्त्रिक प्रतिबद्धताको उदाहरण हो ।
यस पटकको निर्वाचन संस्कार विगतका धेरै अनुभवभन्दा परिपक्व देखिएको छ । प्रतिस्पर्धा तीव्र भए पनि समग्र वातावरण शान्तिपूर्ण रहनु लोकतान्त्रिक चेतनाको सकारात्मक सङ्केत हो । यस सफलताका लागि केवल कुनै एक संस्था मात्र होइन, सम्पूर्ण लोकतान्त्रिक संरचना धन्यवादका पात्र छन् ।
राष्ट्रपति, सरकार, निर्वाचन आयोग, सुरक्षा निकाय, राष्ट्रसेवक कर्मचारी, पत्रकार, राजनीतिक दल, अन्य निकाय र सबै मतदाता हाम्रो निर्वाचन संस्कारलाई सुसंस्कृत बनाउने महत्वपूर्ण भूमिका खेल्ने पक्ष हुन् । उनीहरूको संयम, जिम्मेवारी र प्रतिबद्धताले लोकतान्त्रिक प्रव्रिmयालाई सफल बनाएको छ । निर्वाचन सम्पन्न हुनु नै लोकतन्त्रको अन्तिम लक्ष्य होइन । चुनावी परिणामपछि समाजमा देखिने व्यवहारले नै लोकतन्त्रको वास्तविक परिपक्वता देखाउँछ । जितपछि उन्माद र हारपछि आव्रmोश फैलाइयो भने त्यो लोकतान्त्रिक संस्कारको कमजोरी हो । चुनावी प्रतिस्पर्धा सकिएपछि समाज फेरि एउटै साझा जीवनमा फर्कनु पर्छ भन्ने चेतना हामी सबैमा हुनु पर्छ ।
नेपाल जस्तो सामाजिक जीवनमा घनिष्ठ समाजमा चुनावी परिणामका कारण सम्बन्ध बिगार्नु सबैका लागि घातक हुन्छ । एउटै गाउँ, एउटै समुदाय र एउटै समाजमा बस्ने मानिसहरू चुनावका कारण स्थायी रूपमा विभाजित हुनु उचित होइन । राजनीतिक विचार फरक हुन सक्छ तर मानवीय सम्बन्ध र सामाजिक सद्भावना त्यसभन्दा ठुलो कुरा हो ।
लोकतन्त्रमा जनताले आफ्नो मत बदल्न पाउने अधिकार हुन्छ । समय, आवश्यकता र चेतना अनुसार मत परिवर्तन हुनु स्वाभाविक पनि हो । पार्टी राजनीतिमा एउटा महत्वपूर्ण नैतिक पक्ष पनि हुन्छ । पार्टीको झन्डा र परिचय बोकेर सव्रिmय रूपमा काम गर्ने कार्यकर्ताले त्यही पहिचान कायम राख्दै भित्री रूपमा मत बदल्ने व्यवहारले समाजमा भ्रम र अविश्वास पैदा गर्न सक्छ । कसैले आफ्नो विचार परिवर्तन गर्न चाहन्छ भने त्यो उसको अधिकार हो तर इमानदारीपूर्वक कार्यकर्ताको भूमिका त्यागेर सामान्य मतदाताका रूपमा निर्णय गर्नु नै राजनीतिक नैतिकता र पारदर्शितासँग मेल खाने बाटो हो । यसले लोकतान्त्रिक प्रव्रिmयामा स्पष्टता र विश्वास कायम राख्न मद्दत गर्छ । किनकि अस्पष्टता र दोहोरो व्यवहारले समाजमा अनावश्यक द्वन्द्व र अविश्वास जन्माउने सम्भावना रहन्छ । लोकतन्त्रमा अधिकारसँगै जिम्मेवारी पनि जोडिएको हुन्छ भन्ने कहिल्यै बिर्सनु हुँदैन ।
अर्को महìवपूर्ण कुरा के हो भने चुनाव जित्नु सर्वस्व प्राप्ति हुनु होइन र हार्नु सर्वस्व गुमाउनु पनि होइन । चुनाव त देश बनाउने र बचाउने एउटा लोकतान्त्रिक उपक्रम मात्र हो । यस प्रक्रियाले नेतृत्वलाई जिम्मेवारी दिन्छ र जनतालाई आशा दिन्छ । चुनावसँगै जनताका असङ्ख्य चाहना, अपेक्षा र महìवाकाङ्क्षा पनि जोडिएका हुन्छन् । चुनावी परिणाम केवल राजनीतिक गणितको विषय मात्र होइन, यो जनविश्वासको ठुलो जिम्मेवारी पनि हो ।
निर्वाचनबाट प्राप्त जनमतले नेतृत्वलाई अवसर मात्र दिँदैन, चुनौती पनि दिन्छ । जनताका अपेक्षा पूरा गर्न गहिरो सोच, परिपक्व विचार, समझदारी, कूटनीतिक सुझबुझ र जनभावनाको मर्म बुझ्ने क्षमता आवश्यक हुन्छ । नेतृत्वले यी पक्षलाई आत्मसात गर्न सकेन भने चुनावी जित पनि अर्थहीन बन्न सक्छ । सत्ता प्राप्ति भन्दा पनि राष्ट्रनिर्माणको जिम्मेवारीलाई प्राथमिकता दिनु लोकतान्त्रिक नेतृत्वको प्रमुख कर्तव्य हो ।
जित्ने पक्षले विशेष रूपमा संयम र विनम्रता देखाउनु आवश्यक हुन्छ । विजयपछि उत्सव मनाउनु स्वाभाविक हो तर त्यो उत्सव अरूलाई अपमानित गर्ने वा उत्तेजित गर्ने स्वरूपमा हुनु हुँदैन । त्यसै गरी हार्ने पक्षले पनि परिणामलाई सहज रूपमा स्वीकार गर्दै भविष्यका लागि नयाँ तयारी गर्नु नै लोकतान्त्रिक परिपक्वता हो । लोकतन्त्रमा हार र जित स्थायी हुँदैनन्; समयसँगै परिस्थिति बदलिन्छ र जनमत पनि बदलिन सक्छ । हामीले सम्झनुपर्ने कुरा के हो भने चुनाव केही समयको राजनीतिक प्रव्रिmया हो तर समाज र सम्बन्ध दीर्घकालीन हुन्छ । चुनाव सकिएपछि हामी फेरि छिमेकी, साथी, सहकर्मी र सहयात्रीका रूपमा एउटै समाजमा बस्नु पर्छ । क्षणिक भावनामा बगेर दीर्घकालीन सम्बन्ध बिगार्नु बुद्धिमानी हुँदैन ।
आजको आवश्यकता भनेको जितको उन्माद र हारको आक्रोशभन्दा माथि उठ्ने राजनीतिक संस्कार विकास गर्नु हो । हामीले चुनावी परिणामलाई परिपक्व रूपमा स्वीकार गर्न सक्यौँ भने समाजमा सौहार्दता, भाइचारा र सहअस्तित्व अझ मजबुत बन्न सक्छ । यही संस्कारले लोकतन्त्रलाई बलियो बनाउँछ र राष्ट्रलाई स्थिरता तथा समृद्धिको दिशामा अघि बढाउँछ । अन्ततः लोकतन्त्रलाई केवल दल र नेताहरूले मात्र होइन, नागरिकहरूको चेतावनीले पनि बलियो बनाउनु पर्छ । जितले विनम्रता सिकाओस्, हारले धैर्य र आत्ममूल्याङ्कनको अवसर प्रदान गरोस् । यही लोकतान्त्रिक चरित्रले समाजमा सद्भावना कायम राख्छ र राष्ट्रनिर्माणको यात्रालाई सही दिशामा अघि बढाउँछ ।