धनगढी समाचारदाता
धनगढी, फागुन २६ गते । कैलालीमा प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उम्मेदवार बनेका चार पूर्वमन्त्री पराजित भएका छन् । नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टीबाट उम्मेदवार बनेका पूर्वमन्त्री पराजित भएका हुन् । कैलालीका चार वटा निर्वाचन क्षेत्रमा एक/एक जना पूर्वमन्त्री उम्मेदवार बनेका थिए ।
क्षेत्र नम्बर ४ मा नेकपा (एमाले) का उपमहासचिवसमेत रहेका पूर्वमन्त्री लेखराज भट्ट लगातार दोस्रो पटक पराजित हुनुभएको छ । यसअघि संविधान सभाका दुई वटा निर्वाचन यसै क्षेत्रबाट जितेका उहाँ प्रतिनिधि सभा सदस्यको निर्वाचनमा भने लगातार पराजित हुनुभएको छ । २०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारसँग पराजित भट्ट यस पटक नौ हजार ४४४ मतका साथ तेस्रो स्थानमा खुम्चिनुभयो । भट्ट उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री हुनुभएको थियो ।
क्षेत्र नम्बर ५ मा पूर्वमन्त्री प्रेम आले पराजित हुनुभएको छ । यसअघि डोटीबाट दुई निर्वाचन जितेका आलेलाई नेपाली कम्युनिस्ट पार्टीले यस पटक कैलालीमा उम्मेदवार बनाएको थियो । सात हजार ८७६ मतका साथ आले पनि तेस्रो स्थानमा खुम्चिनुभयो । उहाँले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीका रूपमा काम गर्नुभएको थियो ।
नेकपा (एमाले) बाट कैलाली क्षेत्र नम्बर ३ मा उम्मेदवार बनेका गौरीशङ्कर चौधरी पराजित हुनुभयो । दुई पटक मन्त्री भइसकेका उहाँले चार हजार ७५२ मतका साथ चौथो स्थानमा झर्नुभयो । प्रतिनिधि सभाको निर्वाचनमा उहाँ लगातार दोस्रो पटक पराजित हुनुभएको हो । पूर्वशिक्षा राज्यमन्त्री जनकराज चौधरी क्षेत्र नम्बर १ मा पराजित हुनुभएको छ । कांग्रेसका चौधरी १२ हजार ९४५ मत प्राप्त गरी रास्वपाका उम्मेदवारसँग पराजित हुनुभएको हो ।