बुटवल समाचारदाता
बुटवल, फागुन २६ गते । रुपन्देहीका पाँच वटै निर्वाचन क्षेत्रमा विजय हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सांसद सोमबारदेखि मतदातालाई धन्यवाद दिन घरदैलो अभियानमा निस्किएका छन् । निर्वाचनमा समर्थन गरेकोमा आभार व्यक्त गर्न उनीहरू जिल्लाका विभिन्न स्थानमा पुगेर मतदातासँग भेटघाट गरिरहेका छन् । प्रचारप्रसारका क्रममा जस्तै तालिका बनाएर घरदैलो कार्यक्रम सञ्चालन गरिएको र त्यसमा निर्वाचित सांसदसँगै पार्टीका अगुवा नेता पनि सहभागी भएका छन् ।
रुपन्देही–३ बाट निर्वाचित डा. लेखजङ्ग थापाले आफ्नो निर्वाचन क्षेत्रका विभिन्न स्थानमा धन्यवाद कार्यक्रम आयोजना गर्नुभएको छ । रास्वपा रुपन्देहीका नेता विनोद खरेलका अनुसार सिद्धार्थनगर, मायादेवी, तिलोत्तमा, शुद्धोधन र बुटवल उपमहानगरपालिकाका विभिन्न वडामा धन्यवाद कार्यक्रम तय गरिएको छ । उहाँका अनुसार निर्वाचन क्षेत्रका सबै ३६ वटै वडामा मतदातालाई भेटेर धन्यवाद व्यक्त गर्ने योजना बनाइएको छ ।
त्यसै गरी रुपन्देही–५ बाट निर्वाचित तौफिक अहमद खानले पनि मतदाताप्रति आभार व्यक्त गर्दै घरदैलो कार्यक्रम सुरु गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत धन्यवाद दिएका उहाँले आफ्नो निर्वाचन क्षेत्रका मतदातासँग प्रत्यक्ष भेटघाट गर्ने कार्यक्रम बनाइएको बताउनुभयो । उहाँले सोमबार सैनामैना नगरपालिका–५ देखि ११ सम्म पुगेर मतदातालाई धन्यवाद दिने कार्यक्रम सम्पन्न गर्नुभएको छ । खानका अनुसार चुनावी प्रचारका क्रममा पनि यसै गरी घरदैलो गरेर मत माग्नुका साथै मतदाताका अपेक्षा र सुझाव सङ्कलन गरिएको थियो । निर्वाचित भएपछि सांसद मतदाताबाट टाढा हुने गुनासो हटाउन आफूले नियमित रूपमा मतदातासँग भेटघाट र संवादलाई निरन्तरता दिने उहाँको भनाइ छ ।
रुपन्देही–४ बाट निर्वाचित रास्वपा सांसद कन्हैया बनियाँले पनि धन्यवाद कार्यक्रम सुरु गर्नुभएको छ । लुम्बिनी प्रदेश सभा सदस्य पदबाट राजीनामा दिएर सङ्घीय निर्वाचनमा उम्मेदवारी दिएका बनियाँ पहिलो प्रयासमै विजयी भएपछि उत्साहित देखिनुभएको छ । आफ्नो क्षेत्रको विकास र परिवर्तनका लागि काम गर्ने प्रतिबद्धता जनाउँदै उहाँले मतदाता नै आफ्नो शक्ति भएकाले उनीहरूको साथ नछोड्ने बताउनुभएको छ ।
यसैबिच रुपन्देही–१ बाट निर्वाचित रास्वपा महामन्त्री सुनील लम्साल र रुपन्देही–२ बाट निर्वाचित सुलभ खरेलले पनि धन्यवाद कार्यक्रम सञ्चालन गरिरहनुभएको छ । लम्सालले तालिका बनाएर मतदाताको घरदैलोमा पुगिरहेको बताउनुभएको छ भने खरेलले मत परिणाम सार्वजनिक भएलगत्तै धन्यवाद सभा आयोजना गर्नुभएको थियो । उहाँले पनि चरणबद्ध रूपमा आफ्नो निर्वाचन क्षेत्रका सबै मतदातासम्म पुग्ने योजना बनाएको बताउनुभएको छ ।