• २८ फागुन २०८२, बिहिबार

प्रभावकारी उपचारबाट धेरैले पाए नयाँ जीवन

blog

सुर्खेत समाचारदाता 

सुर्खेत, फागुन २६ गते । आइएनएफ साइनिङ अस्पताल सुर्खेतले पश्चिम नेपालमा सञ्चालन गरेको कुष्ठरोग, फिस्टुला र सामान्य अपाङ्गताको प्रभावकारी उपचार सेवाबाट धेरैले नयाँ जीवन पाएका छन् । गत आर्थिक वर्ष २०८१/८२ मा आइएनएफ साइनिङ अस्पतालले कुष्ठरोग, फिस्टुला र अपाङ्गताका क्षेत्रमा गरेका काम र प्राप्त उपलब्धिका आधारमा सेवा प्रभावकारी रहेको र बिरामीले नयाँ जीवन पाएका हुन् । 

आइएनएफ साइनिङ अस्पतालले गरेको सामाजिक परीक्षण तथा समीक्षा कार्यक्रममा अछामको मङ्गलसेनबाट फिस्टुलाको उपचार पाएर निको भएको बताउँदै धनी सोडारीले आफूले नयाँ जीवन पाएको जनाउनुभयो । उहाँले १३ वर्षदेखि रोग पालिरहेको भन्दै फिस्टुलाको निःशुल्क उपचार गरेपछि निको भएको र अहिले नयाँ जीवन पाएको बताउनुभयो । उहाँका अनुसार यो सेवा थप विस्तारका साथै प्रचारप्रसार गर्नसमेत जरुरी छ । 

सामाजिक परीक्षक त्रिभुवन बिसीले २०३४ सालदेखि सुरु गरेको आइएनएफको सेवा प्रभावकारी बन्दै गएको र अहिले पनि त्यसको आवश्यकता थप हुँदै गएको पाइएको बताउनुभयो । आइएनएफ साइनिङ अस्पतालबाट गत वर्ष कुष्ठरोगको सेवा अन्तर्गत ३६० जनाको लक्ष्यमा आठ सयले कुष्ठरोगको ओपिडीबाट सेवा लिएको, उपचार भर्नाको लक्ष्य ६० जना रहेकामा ८० जनाले सेवा लिएका छन् । कुष्ठरोगसम्बन्धी अन्य परीक्षणको लक्ष्य दुई हजार रहेकामा तीन हजार ९५२ जना र कुष्ठरोगीका लागि जुत्ता र सहायक उपकरण सहयोगको लक्ष्य १२० जनालाई रहेकामा २४५ जनालाई वितरण गरेको जनाएको छ । गत वर्ष सुर्खेतमा कुष्ठरोगका १९ नयाँ बिरामी फेला परेका छन् । फिस्टुलातर्फ बहिरङ्ग सेवाको लक्ष्य ९० जना रहेकामा ९५ जना, फिस्टुला शल्यक्रियाको लक्ष्य ६० जना रहेकामा ७१ जना, बिरामीलाई परामर्श सेवाको लक्ष्य ४७० जना रहेकामा ६५६ जनालाई दिइएको छ । सामान्य अपाङ्गता कार्यक्रमतर्फ बाहिरी उपचारको लक्ष्य ५५० रहेकामा ८२२ जना, मनोसामाजिक सेवाको लक्ष्य छ हजार ४९० रहेकामा नौ हजार ७३९ जना, अपाङ्गता भएका बालबालिकालाई उपचार गरिएको छ । सिफारिस लक्ष्य १० जना रहेकामा २४ जना, अपाङ्गता भएका व्यक्तिलाई भर्ना गरी पुनस्र्थापना सेवा प्रदानको लक्ष्य ६५ जना रहेकामा १७१ जनालाई सेवा प्रदान गरिएको सामाजिक परीक्षणका क्रममा जानकारी गराइएको छ । 

आइएनएफ साइनिङ अस्पतालले प्रदान गरेको सेवाबारे सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख बृखबहादुर शाहीले कुष्ठरोग, फिस्टुला र अपाङ्गताका क्षेत्रमा भएको योगदानको सराहना व्यक्त गर्नुभयो । उहाँले सरकारले गर्न नसकेको काम पनि आइएनएफले गर्दा सहज भएको र विशेष गरी अपाङ्गता सहायता सामग्री उत्पादन र वितरण कार्यले अपाङ्गता भएका व्यक्ति लाभान्वित भएको बताउनुभयो । प्रदेश स्वास्थ्य सेवा निर्देशक डा. रविन खड्काले नारकीय जीवनबाट मुक्ति दिलाउन आइएनएफको कार्यक्रमले सहयोग पुगेको बताउनुभयो । उहाँले हालसम्मको सेवाप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि समन्वयसाथ काम गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो । आइएनएफ साइनिङ अस्पताल सुर्खेतका व्यवस्थापक ललितबहादुर सारूले बिरामीको उपचार बढिरहेको र कार्यक्रम घटिरहेको भन्दै यसमा सहयोगको आवश्यकता रहेको बताउनुभयो । उहाँले स्थानीय तह, प्रदेश सरकारसँग समन्वय गरेर कार्यक्रम सञ्चालन भइरहेको स्मरण गर्दै कुष्ठरोग, फिस्टुला र अपाङ्गताका क्षेत्रमा भइरहेको काम सन्तोषजनक रहेको उल्लेख गर्नुभयो ।