कर्णाली प्रदेश ब्युरो
सुर्खेत, फागुन २६ गते । फागुन २१ गते भएको प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना सकिएपछि धेरै जसो उम्मेदवारको जमानत जफत भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वर्चस्वले गर्दा पुराना दल नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारको जमानत बचे पनि अन्य उम्मेदवारले तोकेको मत नकटाउँदा जमानत जफत भएको हो । १२ निर्वाचन क्षेत्रको कर्णालीमा १३८ जनाले उम्मेदवारी दिएका थिए ।
रुकुमपश्चिमस्थित मुसीकोट समाचारदाताका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत रुकुमपश्चिमका १२ मध्ये नौ जना उम्मेदवारको जमानत जफत भएको छ । सहायक निर्वाचन अधिकृत मन्दिरा शाहीका अनुसार कुल सदर मत ५९ हजार ५२३ मत रहेको र यसको १० प्रतिशत अर्थात् पाँच हजार ९५३ मत ल्याउन नसक्दा नौ जना उम्मेदवारको जमानत जफत भएको हो ।
शाहीका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका मानबहादुर शाही, नेकपा (एमाले) का नन्दराम देवकोटा, नेकपा (माओवादी) का चन्द्रबहादुर बुढा, राष्ट्रिय प्रजातन्त्र पार्टीका गोपाल खड्का, राष्ट्रिय जनमोर्चाका सत्यनारायण श्रेष्ठको जमानत जफत भएको छ । उज्यालो नेपाल पार्टीका नरेन्द्र केसी, नेकपा (संयुक्त) का शेरबहादुर केसी, आमजनता पार्टीका प्रेमा दमाई नेपाली र नेपाल मजदुर किसान पार्टीका धनबहादुर विष्टको पनि जमानत जफत भएको छ । विभिन्न सात वटा पार्टीले पाँच सय मत पनि कटाउन सकेनन् । रुकुमपश्चिमबाट विजयी भएका नेपाली कम्युनिस्ट पार्टीका गोपाल शर्माले २१ हजार ६०९ मत ल्याउनुभएको छ । नेपाली कांग्रेसका राजु केसीले १६ हजार ६६१ र प्रगतिशील लोकतान्त्रिक पार्टीका जनार्दन शर्माले १४ हजार ३४६ मत ल्याउनुभएको छ ।
सिँजा समाचारदाताका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत जुम्लामा छ उम्मेदवारको जमानत जफत भएको छ । निर्वाचनमा खसेको सदर मतको १० प्रतिशत मत ल्याउन नसक्दा निर्वाचन कार्यालयमा राखेको धरौटी जफत भएको हो । जिल्लामा विभिन्न नौ राजनीतिक दल र एक स्वतन्त्र गरी जम्मा १० जना उम्मेदवार चुनावी मैदानमा थिए ।
देशभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चर्चा र प्रभाव देखिए पनि जुम्लामा भने त्यसको प्रभाव खासै देखिएन । रास्वपाबाट उम्मेदवार बन्नुभएकी विनीता कठायतको जमानत जफत भएको छ ।
प्रगतिशील लोकतान्त्रिक पार्टीका मनऋषि धितालले ११२ मत मात्र पाउनुभएको छ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का विर्षबहादुर रावतले चार मत प्राप्त गर्नुभयो भने नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का बिर्ख शाहीले ७१ मत पाउनुभयो । नेपाल जनता पार्टीका रनिलविक्रम शाहीले ४३ मत मात्र प्राप्त गर्नुभयो ।
स्वतन्त्र उम्मेदवार भक्तबहादुर रावलको पनि जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय जुम्लाका निर्वाचन अधिकारी दीपेन्द्र कँडेलले बताउनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार ज्ञानेन्द्र शाही विजयी हुनुभएको छ ।
मुगु समाचारदाताका अनुसार जिल्लामा प्रतिनिधि सभा सदस्यका लागि प्रतिस्पर्धा गरेका चार उम्मेदवारको जमानत जफत भएको छ । प्रतिनिधि सभा सदस्यको एक मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रतिस्पर्धा गरेका सात उम्मेदवारमध्ये चार जनाको जमानत जफत भएको हो । जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार भुवन टमटाको जमानत जफत भएको छ । टमटाले ५३० मत ल्याउनुभएको छ ।
जमानत जफत हुनेमा राष्ट्रिय प्रजातन्त्र पार्टीका बलबहादुर मल्लले २०३ मत, प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार ऐटनकुमार मल्लले २२ मत ल्याउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी माओवादीका उम्मेदवार रङ्गवीर परियारले २८० मत ल्याउँदा जमानत जफत भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक अधिकृत प्रेमराज खनियाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार निर्वाचन आयोगको निर्वाचन कार्यविधि अनुसार कुल सदर मतको १० प्रतिशत ल्याउनुपर्ने व्यवस्था भएको तर उहाँहरूको मत नपुगेकाले जमानत जफत भएको हो । मुगु जिल्लामा नेपाली कांग्रेस पार्टीका उम्मेदवार खड्कबहादुर शाहीले सात हजार ९१४ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का पूर्णबहादुर रोकाया छ हजार ७१८ मत प्राप्त गरी उपविजेता बन्नुभएको छ । नेपाल कम्युनिस्ट पार्टीका चन्द्रबहादुर शाहीले पाँच हजार ५५५ मत ल्याएर जमानत जोगाउनुभएको छ । मुगुमा प्रत्यक्षतर्फ कुल २१ हजार २२५ मत खसेको थियो । खसेको मतमध्ये ८४६ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मुगुमा समानुपातिक मतमा पनि नेपाली कांग्रेस पहिलो दल बनेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी प्रेमराज खनियाँका अनुसार समानुपातिकमा कुल खसेको मतमध्ये नेपाली कांग्रेसले सात हजार २७१, नेकपा (एमाले) ले छ हजार ४१, नेपाली कम्युनिस्ट पार्टीले चार हजार ६५० र राष्ट्रिय स्वतन्त्र पार्टीले दुई हजार ११० मत प्राप्त गरेका छन् । समानुपातिकतर्फ कुल २२ हजार ३१८ मत खसेकोमा २१ हजार ६१२ मत सदर भएको छ भने ७०६ मत बदर भएको छ । मुगु जिल्लामा कुल मतदाता ३६ हजार ३१ जना थिए ।
हुम्ला समाचारदाताका अनुसार यस निर्वाचनमा प्रत्यासी बनेका चार जना उम्मेदवारको जमानत जफत भएको छ । निर्वाचनमा सात राजनीतिक दलबाट उम्मेदवारी परेकोमा चार जना उम्मेदवारका जमानत फिर्ता पाउन तोकिएको मत प्राप्त नगरेको कारण जफत भएको मुख्य निर्वाचन अधिकृत नीलकण्ठ बरालले बताउनुभयो ।
कुल खसेको मतमध्ये सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसक्ने उम्मेदवारको जमानत जफत हुने कानुनी व्यवस्था छ । निर्वाचनका लागि हुम्ला जिल्लामा ३४ हजार ३७२ मतदाता रहेकोमा २२ हजार ४६७ मत खसेको थियो । त्यसमा २१ हजार ९३५ मत सदर भएका थिए । १० प्रतिशत मत प्राप्त गर्न नसक्नेमा राष्ट्रिय स्वतन्त्र पार्टीकी टासी लाजोम, राष्ट्रिय प्रजातन्त्र पार्टीका छक्क बुढा, प्रगतिशील लोकतान्त्रिक पार्टीका जटिल कार्की र नेपाल कम्युनिस्ट पार्टी माओवादीका कुम्म बुढाको जमानत जफत भएको मुख्य निर्वाचन अधिकृत बरालले बताउनुभयो । प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दर्तासँगै पुरुषको हकमा १० हजार र महिलाको हकमा पाँच हजार रुपियाँ जमानत राख्ने व्यवस्था अनुसार राखिएको थियो ।