• २३ पुस २०८१, मङ्गलबार

‘आयुर्वेद सेवा सुधार गर्छौं’

blog

प्राकृतिक चिकित्सालय अवलोकनका क्रममा मुख्यमन्त्री चेतनारायण आचार्य ।

बुटवल समाचारदाता 

बुटवल, मङ्सिर ११ गते ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशभित्र रहेका आयुर्वेद अस्पतालको सेवामा सुधार गर्ने बताउनुभएको छ । मुख्यमन्त्री आचार्यले योग र प्राकृतिक चिकित्सा रोग निवारणका लागि मात्र नभई स्वास्थ्य प्रवर्धन र जीवनशैली सुधारका लागि महत्वपूर्ण रहेको समेत बताउनुभएको हो । 

रुपन्देहीको सैनामैना नगरपालिका–१ मा रहेको पदमपाणि योग तथा प्राकृतिक चिकित्सालयको अवलोकनका क्रममा मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले नागरिकको समग्र स्वास्थ्य सुधारमा योगदान पु¥याउन योग र प्राकृतिक चिकित्सा स्वास्थ्यलाई प्राथमिकतामा राखेको बताउनुभएको हो । 

उहाँले आयुर्वेद अस्पतालको स्तरोन्नति गर्नेतर्फ सरकारले जोड दिने बताउँदै निरोगी प्रदेशवासी अभियानलाई सफल बनाउन योग तथा प्राकृतिक चिकित्सा स्वास्थ्य जरुरी रहेकोमा जोड दिनुभयो । 

प्रदेश सरकारले योग तथा प्राकृतिक चिकित्सालाई नीति तथा कार्यक्रममा प्राथमिकताका साथ समावेश गरेको जानकारी दिँदै मुख्यमन्त्री आचार्यले स्वास्थ्य सेवामा सबैको पहुँच सुनिश्चित गर्न पनि अबको दिनमा योग तथा प्राकृतिक चिकित्सा स्वास्थ्यलाई अघि बढाउने उल्लेख गर्नुभयो । 

उहाँले योग र प्राकृतिक चिकित्सालाई समावेश गरेर स्वास्थ्यको क्षेत्रमा दीर्घकालीन रणनीति तयार गर्ने बताउँदै त्यसका लागि योग केन्द्रको प्रवर्धन गर्ने, जनचेतना कार्यक्रम सञ्चालन गर्नेलगायतका रणनीतिक योजना बनाउन सरकारले ध्यान दिने बताउनुभयो । 

प्रदेश सरकारले सरकारी अस्पताल तथा स्वास्थ्य केन्द्रबाट योग तथा प्राकृतिक चिकित्सासम्बन्धी परामर्शसमेत दिने गरी कार्यक्रम बनाउने समेत मुख्यमन्त्रीले  बताउनुभयो । लुम्बिनी प्रदेश सरकारले आयुर्वेद अस्पताल तथा उपचार केन्द्रमा सेवा थप गर्ने समेत जानकारी दिनुभयो । उहाँले प्राकृतिक चिकित्सक, परामर्शदाताको उत्पादनमा ध्यान दिने, शिक्षामा योग र प्राकृतिक चिकित्सा विषयलाई पाठ्यक्रमका रूपमा समावेश गरेर व्यापक बनाउने बारेमा पनि सरकारले ध्यान दिने बताउनुभयो । 

त्यस अवसरमा पदमपाणि योग तथा प्राकृतिक चिकित्सालयका अध्यक्ष चित्रबहादुर कार्कीले योग र प्राकृतिक चिकित्सालयका बारेमा जानकारी दिँदै योग र प्राकृतिक चिकित्सा स्वास्थ्यलाई प्राथमिकतामा राखेर कार्यक्रम बनाउन प्रदेश सरकारलाई सुझाव दिएको बताउनुभयो ।