• २३ पुस २०८१, मङ्गलबार

मेलाको ब्रान्ड बन्यो दुनाटपरी

blog

ग्राहकलाई दुनामा चटपट दिँदै मीरादेवी कठायत । तस्बिर : अविनाश चौधरी

धनगढी समाचारदाता

धनगढी, मङ्सिर ११ गते । चटपट खाने ग्राहकको भिडभाड छ । सबैको माग थेग्न धनगढीकी मीरादेवी कठायतलाई हम्मे परिरहेको छ । सालको पातका दुनामा चटपट राख्दै उहाँले पालैपालो ग्राहकलाई आफ्नो परिकार दिइरहनुभएको छ । यो दृश्य धनगढीमा लागेको महिला स्वरोजगार मेलाको हो । 

बजारमा चटपट प्रायः पुरानो कागज वा पत्रपत्रिकामा राखेर दिइन्छ तर कठायतसँग न बजारको जस्तो चटपट थियो, न त थोत्रा पुराना कागज । गेडागुडी, भुटेको चिउरालगायतका सामग्री मिसाएर फरक तरिकाले बनाइएको स्वादिलो चटपट उहाँले सालको पातका दुनामा ग्राहकलाई पस्किरहनुभएको थियो । प्रतिदुना ५० रुपियाँको सो चटपट खानेको कमी थिएन । 

“दुनाको प्रयोगले धेरै सहज भएको छ,” उहाँले भन्नुभयो । सालको पातका दुना चटपट राख्ने भाँडो र नाप्ने सामग्री दुवै बनेको कठायतको ठम्याइ थियो । 

धनगढीको पार्कमोड रोडमा हरेक शनिबार महिला स्वरोजगार मेला लाग्ने गर्छ । बजारमा कठायत जस्तै धेरै महिला उद्यमीले खानाका विभिन्न परिकार बिक्री गर्दै आएका छन् । ती सबै परिकार राख्न र ग्राहकलाई दिनका लागि सालका पात र त्यसैबाट बनेको दुनाटपरी प्रयोग भइरहेको छ । पहाडी समुदायका सेल, नेवारी समुदायको नेवारी सेटदेखि लिएर थारूका ढिक्री, घोङ्गी र रानाथारू समुदायको मिसौलासम्म दुनाटपरीमा राखेर दिने गरिएको छ । 

‘ग्रिन क्लिन’ अभियान चलाइएको धनगढीमा प्लास्टिकको प्रयोग बन्देज गरिएको छ । कप, प्लेट, झोलालगायतका प्लास्टिकजन्य वस्तु समस्याका रूपमा देखिएका र यसले वातावरण प्रदूषण गरिरहेकाले २०७९ देखि धनगढी उपमहानगरपालिकाले निषेध गरेको हो । प्लास्टिकजन्य वस्तुको विकल्पमा सो पालिकाले सालको पात र त्यसबाट बनेको दुनाटपरीको प्रयोगलाई बढावा दिनुका साथै प्रवर्धन गर्ने कार्य पनि गरिरहेको छ ।