• २६ पुस २०८१, शुक्रबार

३५१ जनाको निःशुल्क आँखा परीक्षण

blog

खजुरामा आयोजित आँखा शिविरमा आँखा परीक्षण गराउन पुगेका महिला । तस्विर : सिराज खान

सिराज खान 

नेपालगन्ज, मंसिर १० गते । बाँकेका ग्रामीण क्षेत्रका वासिन्दाहरुको आँखामा मोतिया बिन्दुको समस्या बढ्दै गएको पाइएको छ । बेला बेलामा ग्रामीण क्षेत्रहरुमा आयोजना गरिने निःशुल्क आँखा परीक्षण शिविरमा धेरैको आँखामा मोतियाबिन्दु देखिने गरेको नेपालगन्जस्थित फत्तेबाल आँखा अस्पतालले जनाएको छ । 

नेपाल नेत्रज्योति संघ, फत्तेबाल आँखा अस्पताल फुल्टेक्रा नेपालगन्जका अनुसार गत केही समय यता आएर जिल्लाका विभिन्न ग्रामीण क्षेत्रमा आयोजना गरिएको आँखा उपचार शिविरहरुमा धेरै जनामा मोतियाबिन्दु देखिन थालेको हो । 

सोहीक्रममा जिल्लाको खजुरा गाउँपालिकाको वडा १ र २ मा रहेको राधापुर र सितापुर स्वास्थ्य चौकीमा सञ्चालन गरिएको निःशुल्क आँखा शिविरमा ३५१ जना बिरामीको निःशुल्क आँखा परीक्षण गरिएको थियो । 

त्यसमध्ये ७३ जनामा मोतिविन्दु देखिएकोले उनीहरुको निःशुल्क शल्यक्रियाका लागि फत्तेबाल आँखा अस्पताल नेपालगन्जमा रिफर गरिएको छ । राधापुर स्वास्थ्य चौकीमा आँखा परिक्षण गराउने १३६ जना रहेको र त्यसमध्ये २५ जनालाई मोतिबिन्दु भएको पत्ता लागेको थियो । वडा नम्बर २ मा रहेको सितापुर स्वास्थ्य चौकीमा गरिएको आँखा परीक्षणमा २१५ जनाले आँखा परीक्षण गराएकोमा ४८ जनालाई मोतिबिन्दु रहेको पाइएको नेत्र अधिकृत छन्दुलाल थारुले बताउनुभयो । 

खजुरा गाउँपालिकाको वडा नम्बर ३ र ४ मा रहेको स्वास्थ्य चौकीमा पनि निःशुल्क आँखा स्वास्थ्य शिविर सञ्चालन गरिने जनाइएको छ ।