• २१ पुस २०८१, आइतबार

माओवादी बाँकेले जिल्लाका सबै पालिकामा एकैपटक अधिवेशन गर्ने

blog

पालिका अधिवेशनका बारेमा जानकारी गराउनुहुँदै माओवादी केन्द्र बाँकेका संयोजक नरेन्द्र पाण्डे ‘जेम्स’ । तस्बिर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, मङ्सिर १० गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति बाँकेले जिल्लामा रहेका आठ वटा पालिकामा एकैपटक पार्टीको अधिवेशन सम्पन्न गर्ने भएको छ । माओवादी केन्द्र बाँकेले जिल्लाका सबै पालिकामा एउटै मितिमा पालिका अधिवेशन गर्न लागिएको जनाएको हो।

माओवादी केन्द्र बाँकेका संयोजक नरेन्द्र पाण्डे ‘जेम्स’ले जिल्लाका सबै पालिकामा आगामी मङ्सिर २९ र ३० गते एकैपटक पालिका अधिवेशन सम्पन्न गर्न लागिएको जानकारी दिनुभयो । “बाँकेका ८१ वटा वडामध्ये हालसम्म ७५ वटा वडाको अधिवेशन सम्पन्न गरिसकेका छौँ, बाँकी रहेका वडाहरूमा मङ्सिर १२ गतेसम्म अधिवेशन सम्पन्न गर्दछौँ ।” संयोजक पाण्डेले भन्नुभयो, “सबै वडाको अधिवेशन सकिएपछि आगामी मङ्सिर २९ र ३० गते सबै पालिकामा एकैपटक पालिका अधिवेशन गर्ने योजना बनाएका छौँ ।”

उहाँका अनुसार पालिका सम्मेलन सफल बनाउनका लागि खजुरामा केन्द्रीय सदस्य आइपी खरेल र लुम्बिनी प्रदेश सदस्य डम्बरबहादुर बिक ‘तुफान’, डुडुवामा केन्द्रीय सल्लाहकार प्रकाश सुवेदी ‘चन्द्रकान्त’ र लुम्बिनी प्रदेश सचिवालय सदस्य गेहराज रिजाल ‘नवीन शर्मा’, बैजनाथमा जिल्ला इन्चार्ज पूर्णा सुवेदी, नरैनापुरमा केन्द्रीय सदस्य नरेन्द्र न्यौपाने, जानकीमा केन्द्रीय सदस्य अञ्जना थारु, कोहलपुरमा केन्द्रीय सदस्य उषा पुन र जिल्ला संयोजक नरेन्द्र पाण्डे, राप्तीसोनारीमा केन्द्रीय सदस्य कृष्णा केसी ‘नमुना’ र पट्टु थारु, नेपालगन्जमा प्रदेश सहसचिव अकलबहादुर बम र जिल्ला सचिव डिल्ली बराललाई जिम्मेवारी दिइएको छ ।

जिल्लामा रहेका पार्टी केन्द्रीय सदस्य, प्रदेश सदस्य, जिल्ला समन्वय समिति सदस्य, प्रदेश सल्लाहकार, प्रदेश परिषद् सदस्यहरूलाई आआफ्नो जिम्मेवारीसहित कार्य विभाजन प्रदान गरिएको छ । व्यापक जनपरिचालनसहित व्यापक पार्टी सदस्यहरूको सहभागितामा पालिका अधिवेशन सम्पन्न गरिने संयोजक पाण्डेले बताउनुभयो ।

माओवादी केन्द्रका बाँके इन्चार्ज पूर्णा सुवेदीले पार्टीको विधि विधान अनुसार सबै पालिकाका अधिवेशन सम्पन्न हुने बताउनुभयो । उहाँले वडा भेलाबाट प्रतिनिधि छनौट हुने र आन्तरिक प्रतिस्पर्धाबाटै अधिवेशन सम्पन्न हुने बताउनुभयो । “सकेसम्म सर्वसम्मतिबाटै पदाधिकारी तथा सदस्य छनौट हुनेछन्, कुनै कारणवश त्यसो हुन नसके निर्वाचन प्रक्रियाबाट समेत नेतृत्व चयन हुन्छ ।” उहाँले भन्नुभयो, “कुनै नेताको दबाब र टीका लगाएर कुनै पनि नेतृत्व चयन हुने छैनन् ।”

माओवादी केन्द्र बाँकेका अनुसार पार्टी सदस्यताको नवीकरणलाई तीव्रता दिइएको छ । हालसम्म जिल्लामा करिब छ हजार पार्टी सदस्यको सदस्यता नवीकरण भइसकेको छ । मङ्सिर १५ गतेसम्म सबै सदस्यहरूको अभिलेखीकरण गरिसक्ने र कार्ययोजना अनुसार मङ्सिर २५ गतेसम्म सबै पालिकाको अधिवेशन प्रतिनिधि छनौट गरिसक्ने माओवादी केन्द्र बाँकेले जनाएको छ ।