• २१ पुस २०८१, आइतबार

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु

blog

लैङ्गिक हिंसाबिरुद्धको दिवसमा आयोजना गरिएको प्रभातफेरी । तस्बिर : प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा
कालीकोट, मङ्सिर १० गते । 
कालीकोट जिल्लाका विभिन्न स्थानीय तहमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान (२५ नोभेम्बर देखि १० डिसेम्बर)अन्तर्गतको कार्यक्रम सोमबारदेखि सुरु भएको छ । ‘हामी सबैको प्रतिबद्धता: लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ कालीकोटमा पनि दिवसको मनाउन सुरु गरिएको छ । सदरमुकाम मान्ममा खाँडाचक्र नगरपालिकाले हिंसाविरुद्ध प्रभातफेरीको आयोजना गरी मनाइएको छ ।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा आयोजना गरिएको प्रभातफेरी पछि बोल्दै नगरप्रमुख कमलबहादुर शाहीले हिंसाको अन्त्य नाराले होइन मनैदेखि अन्त्य गर्न सकेमा अभियानको औचित्य हुने बताउनुभयो । नगरप्रमुख शाहीले सबै खाले हिंसा अन्त्यका लागि यो अभियानलाई सार्थक बनाउन अपिल गर्नुभयो ।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानकै क्रममा रास्कोटमा आयोजना गरिएको एक अन्तरक्रिया कार्यक्रममा नेकपा (एमाले)का नेता दयाराम सिम्खडाले कसैले पनि विभेदमा परेको महसुस नगर्ने गरी सामाजिक व्यवहार गर्न सबैले सक्नुपर्ने बताउनुभयो । हाम्रा व्यवहार फरक हुन्छन्, काम फरक हुन्छन्, त्यसैले अब राज्यले तय गरेका दिवस अभियानलाई सफल पार्ने र परिवर्तन भएको देखाउने पनि राज्यका हामी नागरिकको जिम्मेवारी भएकाले सबैले सचेतपूर्ण भएर बिना भेदभाव व्यवहार गर्नुपर्ने बताउनुभयो ।

नरहरीनाथ गाउँपालिका अध्यक्ष नगेन्द्रबहादुर विष्टले हिंसाविरुद्धका दिवस हुन या अभियान खाली औपचारिकतामा सीमित हुने गरेको बताउनुभयो । अध्यक्ष विष्टले हामीले आफूलाई हिंसा हुँदा वा कसैले अपमान गर्दा कस्तो महसुस हुन्छ त्यसको अनुभूति गरेमा अरूमाथि अर्थात् लैङ्गिक हिंसा जस्ता अमानवीय व्यवहार सबैको मनमस्तिष्कबाट हराउँदै जाने बताउनुभयो ।

नेपाल सरकारले हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसाविरुद्धको राष्ट्रिय अभियान सञ्चालन गर्ने र नोभेम्बर २५ तारिखलाई महिला हिंसाविरुद्धको राष्ट्रिय अभियान दिवसको रूपमा मनाउने निर्णय गरेको थियो ।

सन् १९८० देखि नै विभिन्न मुलुकले महिलामाथि हुने हिंसाविरुद्धको दिवस मनाउँदै आए पनि सन् १९९९ मा संयुक्त राष्ट्रसङ्घले यसको अनुमोदन गरेपछि महिलामाथि हुने हिंसाविरुद्धको विभिन्न अभियान सुरु भएको इतिहास छ ।

नेपालको मन्त्रिपरिषद् बैठकले २०७५ साल मङ्सिर २ गते नेपालमा सामाजिक सचेतनासहित लैङ्गिक हिंसाविरुद्धको अभियान सञ्चालन गर्न सङ्घीय सरकारका मन्त्रालय तथा निकायहरू, सात वटै प्रदेश सरकार, ७७ वटै जिल्ला समन्वय समिति, ७५३ वटै स्थानीय तह एवम् त्यसका वडाहरू सरोकारवाला निकायहरू, सामाजिक संघसंस्थाहरुलाई आह्वान गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार सबै निकायहरूले विभिन्न कार्यक्रम आयोजना गरी लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गर्दै आएका छन् ।