• १० मंसिर २०८१, सोमबार

फूलबारी बन्यो पर्यटकको रोजाइ

blog

भारतको उत्तर प्रदेशबाट फूलबारी घुम्न आएका विद्यार्थी ।

बुटवल समाचारदाता

बुटवल, मङ्सिर १० गते । राजा मणिमुकुन्द सेनको ऐतिहासिक दरबार रहेको बुटवलको फूलबारी भारतीय पर्यटकको रोजाइमा पर्न थालेको छ । 

अहिले दिनहुँ भारतबाट आउने पर्यटक मणिमुकुन्द सेन उद्यान (फूलबारी) घुम्न आउने गरेका छन् । मणिमुकुन्द सेन उद्यानका प्रमुख कार्यकारी अधिकृत अनन्तराम सिलवालले पछिल्लो पटक भारतीय पर्यटक ठुलो सङ्ख्यामा फूलबारी घुम्न आउने गरेको बताउनुभयो । भारतका विभिन्न सहरबाट आउने पर्यटक बुटवलको फूलबारीमा रहेको स्काई साइक्लिङमा समेत रमाउने गरेका हुन् । 

विसं १५७५ मा निर्मित सेन वंशीय राजा मणिमुकुन्द सेनको दरबारको भग्नावशेष रहेको फूलबारीमा पहिले आन्तरिक पर्यटक मात्रै आउने गरेकोमा पछिल्लो समय भारतीय पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ ।  मणिमुकुन्द सेन उद्यानका पूर्वअध्यक्ष खेमप्रसाद लुइटेलले अङ्ग्रेज सेनालाई नेपाली फौजले परास्त गरेको ऐतिहासिक पृष्ठभूमिसँग जोडिएको ऐतिहासिक क्षेत्र मणिमुकुन्द उद्यान (फूलबारी) मा भारतीय पर्यटकको आगमन बढ्नु बुटवलकै लागि खुसीको कुरा भएको बताउनुभयो । 

१२ बिघा क्षेत्रफलमा फैलिएको मणिमुकुन्द सेन उद्यानभित्र पशुपन्छी संरक्षणका लागि चिडियाखाना रहेको छ । कुनै बेला ऐश्वर्य पार्कबाट संरक्षणको काम अघि बढेको यो पर्यटकीय स्थल पछिल्लो समय लुम्बिनी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य बन्न सफल भएको छ । 

उद्यानका प्रमुख कार्यकारी अधिकृत सिलवालले आर्थिक वर्ष २०८०/८१ मा छ लाख ९९ हजार ३९४ जना फूलबारी घुम्न आएको बताउनुभयो । त्यसमध्ये भारतीय पर्यटकको सङ्ख्या करिब ७० हजार रहेको बताउनुभयो ।