• २४ पुस २०८१, बुधबार

चिकित्सकले मृत घोषणा गरेका एक भारतीय चिताबाट ब्यूँझिएपछि...

blog

जयपुर, मङ्सिर ८ गते । बोल्न र सुन्न समस्या भएका २५ वर्षीय रोहिताश कुमारलाई बिहीबार बिरामी परेपछि उपचारका लागि अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरे । अस्पतालले उहाँको पोष्ट मोर्टम गरेन । तर मृत घोषणा गरिएका रोहितासलाई चितामा आगो लगाउने तयारी भइरहँदा उहाँ ब्यूँझिएको चिकित्सा अधिकारीहरुले शनिबार बताएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार रोहिताश विरामी परेपछि उहाँलाई परिवार र आफन्तजनले पश्चिमी राज्य राजस्थानको झुनझुनुस्थित एक अस्पतालमा लगेका थिए । तर उहाँको उपचार नगरिकनै मृत घोषणा गरिएको थियो र उहाँलाई मृतकहरु राख्ने कक्षमा पठाइयो । परिवारजनले उहाँको हिन्दु संस्कार अनुसार अन्त्येष्टिको तयारी गरे । भारतीय सञ्चारमाध्यमका अनुसार वास्तवमा उहाँलाई छारे रोग (मिर्गी)को समस्या देखिएको रहेछ । 

अस्पतालका प्रमुख मेडिकल अफिसर डी सिंहले एएफपीसँग भन्नुभयो, “एक जना चिकित्सकले पोष्टमार्टम नगरी पोष्टमार्टम रिपोर्ट तयार पारेको र त्यसपछि शवलाई दाहसंस्कारका लागि पठाइएको खुल्न आएको छ ।” “चिता जलाउनुभन्दा केही समयअघि रोहिताशको शरीरले हलचल सुरु भएपछि मलामीका रुपमा गएका मानिसहरुले उहाँ जीवित रहेको र सास फेरिरहेको पाएपछि उहाँलाई पुनः अस्पताल लगिएको थियो,” सिंहले भन्नुभयो ।

रोहिताशलाई दोस्रो पटक अस्पताल लगिएको र उपचारको क्रममा शुक्रबार उहाँको मृत्यु भएको पुष्टि भएको थियो । अधिकारीहरुले अस्पतालको सेवा केही समयका लागि बन्द गरेको जनाएका छन् । रासस/एएफपी