• २४ पुस २०८१, बुधबार

कुलुङ जातिमा लोमेवा दाम

blog

‘कुलुङ’ जातिलाई अलग्गै जातिका रूपमा नेपालका कुनै पनि निकायले चिन्दैन । नेपाल सरकार, नेपालका अन्य जात, समूह, वर्ग, आदिवासी जनजाति महासङ्घ, आदिवासी जनजाति आयोग, नेपालस्थित आइएलओको कार्यालयले ‘कुलुङ’ बेग्लै जाति मान्दैन । अहिलेसम्म ‘कुलुङ’ जातिलाई अलग्गै जातिका रूपमा नमानेर ‘राई !’ जातिको एक थर मानिन्छ । जबकि ‘राई !’ जात वा जाति नभएर ‘पद–पदवी–पगरी’ मात्रै हो भने, २०२१ सालमा आएको भूमिसुधार ऐन तल तल (भुइँ तह) सम्म लागु नहुँदासम्म जो पायो त्यही व्यक्तिले नामको पछाडि ‘राई !’ लेख्न भन्न पाइँदैन थियो, पाउँदैन थिए । भनाइको मतलब जिम्मावाल–तालुकदारले मात्रै ‘राई !’ लेख्न, भन्न पाउँथे, त्यो पनि नामको अगाडि नै । जस्तै ‘राई !’ जुद्धबहादुर, ‘राई !’ गङ्गाप्रसाद, ...आदि । 

लिम्बु नेपालको एक जाति हो भने, लिम्बु जातिभित्र पनि विभिन्न थर र उपथर रहेको हुन्छ । जस्तो कि आङ्बो, आङबुहाङ, इङ्नाम, इस्पो, कन्दङ्वा, खेवा, चोङबाङ, तबेबुङ, तुम्बाहाङ्फे, निङ्लेकु, पाहिम, फोम्बो, माबुहाङ, लुम्फुङ्वा आदि लिम्बु जातिको थर हो । हो, त्यसरी नै ‘कुलुङ’ जातिभित्र पनि थर÷उपथर रहेका छन् । जस्तैः थम्रा, लोवात्ती, ङोपोचो, तोङेर्बु, होनित्ती, बुक्खो, सोम्फोरु, देउराम, लाम्लछा, ताम्बुछा, तोर्ङो, सैमालुङ, पिदिसै, सुर्वा, राजित्ती, हिमार, रुखुपो, रिन्हो, तोमोछा, मोल्थो, कुबित्ती, मोरोखु, वादिरी, थोरेप्पा, मोरोमूल, छेन्हो, मुलुखु, मान्थेर्बु, ओखोथी, सेकछा, थोमरोस, मान्थेर्बु, मोल्थो, वारोखु, गोक्तुलु, वालाखाम, वार्सी, फोवात्ती, हारिम्बु, गान्खु, रेम्निसि ङ, होङेलु, पिदिमु, बेलेर, छाप्दुलु, पोखोती आदि गरे ३८० वटाभन्दा बढी ‘कुलुङ’ का थर र उपथर रहेका छन् । त्यसैले कुलुङ–कुलुङबिचमै विवाहवारी हुने गर्छ । अन्यथा यदि ‘राई !’ जात र ‘कुलुङ’ चाहिँ ‘राई !’ को एक थर मात्रै भएको भए त कुलुङ–कुलुङबिचमै कसरी विवाहवारी चल्छ ? के ‘राई !’ भनिनेहरू पशु समान हो, जसले एकै थरभित्र (आफ्नै नाता–सम्बन्धभित्र) विवाह गर्छन् ? प्रश्न उठ्छ वा भनौँ यस सम्बन्धमा प्रश्न उठाउन सकिन्छ । 

२०६८ सालको ११ औँ राष्ट्रिय जनगणना अनुसार नेपालमा १२५ जातजाति र १२३ भाषाभाषी रहेका थिए । २०७८ सालको १२ औँ राष्ट्रिय जनगणनामा १४२ जातजाति, १२४ भाषाभाषी अनि १० धार्मिक समूहको तथ्याङ्क आएको छ । जे होस् २०६८ सालको ११ औँ राष्ट्रिय जनगणनामा उल्लेख भएका १२५ जातजाति र १२३ भाषाभाषीमध्ये एक जातिका रूपमा ‘कुलुङ’ जातिको पनि तथ्याङ्क आएको थियो । २०७८ सालको १२ औँ राष्ट्रिय जनगणनामा पनि ‘कुलुङ’ जातिको तथ्याङ्कमा आएको छ । हुन पनि त्यसअघिका जनगणनामा ‘कुलुङ’ जातिलाई ‘राई !’ जातिमा गाभ्ने गरिएको थियो । त्यसो त अभैm पनि नेपाल सरकार मातहतमा रहेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत रहेको आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ मा ‘कुलुङ’ जातिलाई छुट्टै जातिका रूपमा सूचीकृत गरिएको छैन । यसो हुनुमा ‘राई’ के हो ? ‘कुलुङ’ के हो ? भन्नेबारेमा वास्तविक कुरा बाहिर नआएकाले पनि हो । २०६८ सालको जनगणना अनुसार कुलुङ जातिको जनसङ्ख्या २८ हजार ६३१ र ३३ हजार १७० रहेको थियो । २०७८ सालको १२ औँ राष्ट्रिय जनगणनामा कुलुङ जातिको जनसङ्ख्या केही बढेर ३३ हजार ३८८ पुगेको छ । त्यस्तै कुलुङ मातृभाषीको सङ्ख्या ३७ हजार ९१२ र आफ्नो पुर्खाको भाषा ‘कुलुङ’ भनी लेखाउनेको सङ्ख्या ४० हजार ४७९ रहेको छ । हुन त कुलुङ जातिको आधिकारिक संस्था ‘नेपाल किराँत कुलुङ भाषा संस्कृति उत्थान सङ्घ (किराँत कुलु गुसखोम)’ ले गरेको आन्तरिक जनगणना अनुसार कुलुङ जातिको जनसङ्ख्या एक लाख १० हजारभन्दा बढी सङ्ख्यामा रहेको छ । 

विश्वका जुनसुकै देशमा रहनु, बस्नु भएका जातजाति वा भनौँ समाजमा बसेका मानिसले जीवन चलाउन अझ भनौँ वंश चलाउन, सृष्टिलाई जीवन्तता दिन विवाह अनिवार्य हुने गरेको छ । अर्थात् मानवको सृष्टि व्रmमलाई निरन्तरता दिन विवाह गर्ने गरिन्छ । प्रायः विश्वका जातजाति वा भनौँ समाजमा मानिसले जीवन चलाउन वा भनौँ वंश चलाउन र सृष्टिलाई जीवन्तता दिन विवाह गर्दा खेरी तीन प्रकारको विवाह अपनाइने गरेको पाइन्छ । जस्तो कि मागी विवाह, चोरी विवाह र विधवा विवाह । 

तर ‘कुलुङ’ जातिमा चाहिँ छ प्रकारका विवाह प्रचलनमा रहेको पाइन्छ । ‘कुलुङ’ जातिमा मागी विवाह, प्रेमविवाह, चोरी अर्थात् जबरजस्ती विवाह, भाउजू सकार्ने विवाह, जारी विवाह, विधवा र विदुरबिच रित पु¥याएर गरिने विवाह जुन विवाहलाई कुलुङ भाषामा ‘लोमेवा दाम’ भनिन्छ । त्यसो त ‘कुलुङ’ जातिमा आम रूपमा प्रचलनमा मागी विवाह र प्रेमविवाह रहेको छ । ‘कुलुङ’ जातिमा जुनसुकै विवाह गरे पनि दुई चरणमा गर्ने गरिन्छ । सो जातिमा ‘सगुन’ विवाह र ‘छिन्ती’ विवाह गरिन्छ । पहिलो चरणमा गरिने ‘सगुन’ विवाह भन्नाले सामान्य रूपमा बेहुलाबेहुलीका परिवार र नाता सम्बन्धम साइनो फेर्ने काम गरिन्छ तर त्यसका लागि छोरीले पहिले ‘सगुन’ स्विकार्नुपर्ने हुन्छ । अनि मात्रै विवाहका लागि छोरी तयार भएको मानिन्छ र दोस्रो  चरणमा गरिने ‘छिन्ती’ विवाह । ‘सगुन’ विवाह र ‘छिन्ती’ विवाह दुवै विवाहमा बोङ्पा (कलिया) अनिवार्य रूपमा चाहिन्छ । ‘छिन्ती’ विवाह भनेको सम्पूर्ण रूपमा आफ्नो छोरी (चेली) लाई ज्वाइँ (कुटुम्ब) को घरमा सुम्पिएको मानिन्छ । अर्थात् सम्पूर्ण रित पु¥याएर छोरीलाई ज्वाइँ पक्षलाई हस्तान्तरण गर्नु हो तर ‘सगुन’ विवाह मात्रै भएको अवस्थामा केही गरिकन छोरीको मृत्यु भएमा माइतीले नै काजकिरियालगायतका कार्य गर्नु पर्छ । सायद यस्तो काम (कर्म) लाई हिन्दु धर्मावलम्बीले आफ्नो छोरीलाई ‘जग्गे’ मा राखेर सात फन्को घुमाएर सम्पूर्ण रूपमा ज्वाइँलाई सुम्पिँदै ‘पाले पुण्य मारे पाप, आजदेखि मेरी छोरीलाई हजुर (तपाईं) को हातमा सुम्पेको छु’ भने जस्तै मान्नु पर्छ ।

हो, यस्तो विवाह (लोमेवा दाम) संस्कार वास्तवमै नेपालको कुनै पनि जातजाति समुदाय, भाषाभाषी, धार्मिक सम्प्रदायमा प्रचलनमा नहरेको हुन सक्छ । सामान्यतया समाजमा मागी विवाह, प्रेमविवाह, चोरी अर्थात् जबरजस्ती विवाह, भाउजू सकार्ने विवाह, जारी विवाह, विधवा महिलाको पुनः विवाह गर्ने संस्कार प्रायः सबै जातजाति, भाषाभाषी प्रचलनमा आउँदै छ र कताकतै विधवाको पुनः विवाह पनि भएका छन्, हुन थालेको छ नै तर कुलुङ जातिमा विधवा र विदुरबिच हुने जुन विवाह छ, त्यसमा पनि छुट्टै रित गर्ने, पु¥याउने प्रचलन वा भनौँ छुट्टै संस्कारगत कार्य गर्नुपर्ने नियम रहेको छ । हो, यही विवाहलाई नै कुलुङ भाषामा ‘लोमेवा दाम’ भनिन्छ । त्यसो त ‘कुलुङ’ जातिमा यस्तो विवाहको प्रचलन हट्दै गएको देखिन्छ । अथवा भनौँ लोप हुन आँटेको छ तर पनि धरान उपमहानगरपालिकाका अमरहाटका महन्त राजित्तीले आफ्नो पहिलो श्रीमती (तोमा) को मृत्युपछि कान्छी श्रीमती विवाह गर्नुभयो । 

यसरी विवाह गर्दा कान्छी श्रीमतीको पहिलो श्रीमान बितिसकेका थिए । हो, त्यसरी महन्त राजित्तीले कान्छी श्रीमती ल्याउँदा जसलाई कान्छी श्रीमतीका रूपमा ल्याउनु भयो, उहाँको पनि रितभात र विधिविधान गरेर नै घर भित्र्याउनुभयो तर त्यसरी महन्त राजित्तीले कान्छी श्रीमती ल्याउँदा जसलाई कान्छी श्रीमतीका रूपमा ल्याउनुभयो, त्यसरी कान्छी श्रीमती ल्याउँदा उहाँको माइती र माइती परिवारलाई नभएर जो पुरानो घरपरिवार हो, त्यो घरपरिवार र दाजुभाइलाई रितभात बुझाउनुभयो । हो यस्तो रितभात वा भनौँ संस्कृतिलाई नै ‘लोमेवा दाम’ भनिन्छ । 

के कति र कस्तो प्रकारको रितभात गरेर कान्छी भाउजू (कुलुङ भाषामा भाउजूलाई ‘नातेल्मे’ भनिन्छ) भिœयाउनुभयो ? महन्त राजित्ती बुबुलाई प्रश्न गर्दा उहाँले भन्नुभयो, “पहिलेको चलन अर्थात् आफूले थाहा पाउँदा पाँच रुपियाँ थियो । पाँच रुपियाँ नै तिरियो ।” स्मरणीय छ, उहाँको पहिलो श्रीमती (तोमा) ‘मोरोमूल’ पाछा (थर) को चेली थिइन् भनेपछि विवाह गरेर ल्याउनुभएको कान्छी श्रीमती (तोमा) चाहिँ ‘होङेलु’ पाछाको घरको बुहारीका रूपमा भित्रिनुभएको थियो तर उहाँको पनि श्रीमान् बितेपछि एकल (विधवा) महिलाका रूपमा बस्दै आउनुभएको थियो । यसरी हेर्दा कुलुङ जातिले जुनसुकै प्रकारले विवाह गर्दा पनि आआफ्नै प्रकारका फरक फरक विवाहको संस्कार अपनाइने गरिन्छ । जसमा लगभग हराउन वा भनौँ लोप हुन लागेको  विधवा (एकल महिला) र विदुर (एकल पुरुष) बिच रित पु¥याएर गरिने विवाह अर्थात्  ‘लोमेवा दाम’ विवाह पनि एक हो ।