बेरुत(लेबनान), मङ्सिर ७ गते । इजरायलले निकासी आदेश जारी गरेको केही समयपछि हिजबुल्लाह लडाकुहरूको गढ बेरुतको दक्षिणी उपनगरमा आक्रमण गरेको लेबनानी मिडिया र एएफपिटिभी फुटेजले शुक्रबार जनाएका छन् ।
लडाकु विमानहरुले दक्षिण बेरुतमा दुईवटा छापा मारेपछि लेबनानी विश्वविद्यालयको छेउछाउबाट बाक्लो धुवाँ उडिरहेको राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ । इजरायली सेनाले तिनवटा स्थान खाली गर्न आदेश दिए पछि सामाजिक सञ्जालमा आक्रमणको चेतावनी दिँदै एएफपिटिभीको प्रत्यक्ष फुटेजले यस क्षेत्रको अवस्था देखाएको थियो ।
यस लगतै इजरायली सेनाले विज्ञप्ति मार्फत लडाकू जेटहरुले बेरुतको दक्षिणी उपनगरहरुमा आक्रमणको नयाँ चरण पूरा गरेको जनाएको छ । बेरुत र लेबनानको दक्षिण तथा पूर्वका अन्य क्षेत्र पछिको इजरायली आक्रमणमा इजरायलले इरान समर्थित हिजबुल्लाह लडाकुहरुलाई लक्षित गरेको बताएको छ ।
गाजा द्वन्द्वलाई लिएर इजरायल र हेजबोल्लाहबिच ११ महिना भन्दा बढीको सीमापार लडाँइ सेप्टेम्बरमा पूर्णयुद्धमा परिणत भएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयले बिहीबार इजरायली हमलामा कम्तिमा ५२ जनाको र लेबनानको पूर्वमा करिब ४० को मृत्यु भएको जनाएको छ ।
इजरायली सेनाले शुक्रबार तटीय सहर टायर र नजिकैको बुर्ज अल-शेमाली प्यालेस्टिनी शरणार्थी शिविरका केही भागहरुका लागि निकासी चेतावनी पनि जारी गरेको थियो । इजरायल हिजबोल्लाह युद्धको अन्त्यका लागि मध्यस्थता गर्न अमेरिकी दूत अमोस होचस्टेनले बुधबार बेरुतको भ्रमण समाप्त गरेपछि लेबनानमा आक्रमणको गति बढेको छ ।
लेबनानको स्वास्थ्य मन्त्रालयले बिहीबार सन् २०२३ अक्टोबर देखिको हिंसामा कम्तीमा तीन हजार ५८३ जनाको मृत्यु भएको जनाएको जस मध्ये अधिकांश मृत्यु यस वर्षको सेप्टेम्बर देखि भएको हो । रासस/एएफपी