• १३ साउन २०८१, आइतबार

काठमाडौं महानगर प्रमुखमा बालेनलाई चार हजार बढी मतको अग्रता

blog

काठमाडौं, जेठ ३ गते। काठमाडौं महानगर प्रमुखमा ११ हजार ४२ मतसहित स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै रहेको छ। शाहको मत नेकपा (एमाले) का केशव स्थापितले ल्याउनुभएको मतभन्दा चार हजार ८ सयभन्दा बढी छ। 

महानगरको निर्वाचन अधिकृत राजुकुमार खतिवडाका अनुसार मंगलबार साँझ ६ बजेसम्म एमालेका स्थापितको मत छ हजार १६५ र नेपाली कांग्रेसकी सिर्जना सिंहको पाँच हजार ३८५ छ। प्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका मदनदास श्रेष्ठले एक हजार दुई, स्वतन्त्र उम्मेदवार सुमन सायमीले ७८५ मत ल्याउनुभएको छ।

यसैगरी, प्रमुखमा निर्वाचन चिन्ह तराजुमा १२१, मादलमा २१, चक्का पाङ्ग्रोमा सात, कुखुराको भालेमा छ, सुगामा चार, खानेपानीको धारामा २१, करुवामा चार, किताबमा १२, बाघमा एक, हृदयमा १३, खड्गमा १४, कि-बोर्डसहितको कम्युटरमा एक, सांचोमा तीन,  पुतलीमा तीन, खरायोमा दुई, हाँसमा एक, भुँइकटरमा एक, क्यापमा ४६, खरायोमा एक, आँपमा एक मत प्राप्त भएको छ। 

महानगरको उपप्रमुखमा एमालेकी सुनिता डंगोलले १२ हजार १५७ मत ल्याउनुभएको छ । उहाँका प्रतिस्पर्धी गठबन्धनका रामेश्वर श्रेष्ठले तीन हजार ६१४ मत पाउनुभएको छ । 

उपप्रमुखमा निर्वाचन चिन्ह तराजुमा ४८५, हलोमा दुई हजार ७६, मादलमा ३५, चक्का पाङ्ग्रोमा १२, करुवामा १६, किबोर्डसहितको कम्युटरमा छ, बाघमा चार, आधा खोसेलो निकालिएको मकैको घोगामा २१, पुतलीमा एक, खरायोमा दुई, भुँइकटहरमा एक, आँपमा दुई, गुलाफको फूलमा चार, लौरोमा ११ सय ९१, खानेपानीको धारमा एक, कैचीमा पाँच, जेब्रामा तीन, क्यापमा ९६, कागमा तीन, चुलेसीमा एक, चीलमा छ, आँखीझ्यालमा ९०८ मत प्राप्त भएको छ।

  महानगरको वडा नम्बर १ मा एमालेका भरतलाल श्रेष्ठ र वडा २ मा एमालेका राजेन्द्रकुमार श्रेष्ठ विजयी हुनुभएको छ। भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा जारी मतगणनामा महानगरका वडा नम्बर ३, ४, ५, ६, २९, ३०, ३१ र ३२ को मतगणना भइरहेको छ।