• ७ मंसिर २०८१, शुक्रबार

साक्षर पालिका घोषणा

blog

जुम्ला समाचारदाता

जुम्ला, मङ्सिर ६ गते । जुम्लाको तिला गाउँपालिकासहित सात वटा स्थानीय तह साक्षर घोषणा भएका छन् । मङ्गलबार तिला गाउँपालिका साक्षर घोषणा भएपछि आठ वटा स्थानीय तहमध्ये सात वटा साक्षर घोषणा भएका हुन् । तिला गाउँपालिकालाई जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले एक कार्यक्रमबिच साक्षर घोषणा गर्नुभएको छ । गाउँपालिकाका अध्यक्ष मोतिलाल रोकाया, उपाध्यक्ष गोरीकला बुढा, गाउँपालिकाका प्रथम अध्यक्ष रतननाथ योगीको उपस्थितिमा पालिकालाई साक्षर पालिका घोषणा गरिएको हो । गाउँपालिकाले सबै वडामा गरेको सर्भे र कार्यक्रमका आधारमा ९५.४ प्रतिशत व्यक्ति साक्षर भएको जानकारी दिएको छ । 

तिला गाउँपालिका शिक्षा शाखा प्रमुख झनमाया खत्रीका अनुसार जम्मा १४ हजार ५३९ जनसङ्ख्यामा १५ देखि ६० वर्ष उमेर समूहका ८६७ जना निरक्षर भएकोमा ८२७ जना साक्षरता कार्यक्रमबाट साक्षर भएका छन् । सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख आचार्यले नेपाल सरकारको मापदण्ड अनुसार तिला गाउँपालिकाले समेत गाउँपालिका साक्षर घोषणा गरेकोमा धन्यवाद दिनुभयो । तिला गाउँपालिकाका अध्यक्ष मोतिलाल रोकायाले भौगोलिक विकटता भएको तिलामा साक्षरता अभियान घोषणाका लागि खटिने गाउँपालिकाको टिम, कार्यक्रममा सघाउ पु¥याउने सबैको कामप्रति सराहना गर्नुभयो ।