• ७ मंसिर २०८१, शुक्रबार

विरासत जोगाउने कसरतमा ठुला पार्टी

blog

महाबु गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार नेपाली कांग्रेसका झलक भण्डारी र एमालेका जङ्गबहादुर शाही ।

दैलेख समाचारदाता

दैलेख, मङ्सिर ६ गते । यही मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा यहाँको महाबु गाउँपालिकाको अध्यक्ष पदका लागि नेपाली कांग्रेस र नेकपा (एमाले) ले प्रतिष्ठाको विषय बनाएर निर्वाचनमा होमिएका छन् । नेकपा (एमाले) ले जङ्गबहादुर शाहीलाई र कांग्रेसले युवा नेता झलक भण्डारीलाई उम्मेदवार बनाएर निर्वाचनमा होमिएका छन् । 

सत्ता साझेदार दल भएका कारण कांग्रेस र एमालेले कुनै पनि आलोचना नगरी निर्वाचनमा होमिएर आफ्नो विरासत जोगाउने र फर्काउने होडबाजीमा दुवै दलका नेता कार्यकर्ता लागेका छन् । कांग्रेसका नेता झलक भण्डारी जनताबिच लोकप्रिय नेता हुन् । २०७९ सालको स्थानीय तहको निर्वाचनमा गाउँपालिकाको अध्यक्षको आकाङ्क्षी भए पनि पार्टीले पुराना नेता लछुमुन गुरुङलाई जिताउन महìवपूर्ण भूमिका खेलेको, जनताबिच लोकप्रिय भएकै कारण आफ्नो विरासत जोगाउन भण्डारीलाई उम्मेदवार बनाएको छ । कांग्रेसबाट उम्मेदवार भई गाउँपालिका अध्यक्षमा विजयी हुनुभएका लछुमुन गुरुङको सपना पूरा गर्न पनि जनताले कांग्रेसलाई मतदान गर्ने विश्लेषण गरी कांग्रेसका उम्मेदवार विजयी गराई विरासत जोगाउने आशमा कांग्रेसका नेता रहेका छन् । 

नेकपा (एमाले) ले आफ्नो विरासत जोगाउन महाबु गाउँपालिकामा जनताबिच लोकप्रिय भई २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट गाउँपालिका अध्यक्षमा विजयी भएका जङ्गबहादुर शाहीलाई एकीकृत समाजवादी पार्टीबाट एमालेमा ल्याएर अध्यक्षमा उम्मेदवार बनाएको छ । नेकपा (एमाले) ले पुरानै विरासत जोगाउन नेकपा (एमाले) का केन्द्रीय सदस्य, प्रदेश जिल्ला र गाउँ कमिटीका नेताहरूको जिम्मेवारी तोकेर बस्तीस्तरमा खटाएको छ । २०७९ को स्थानीय तहको निर्वाचनमा पराजित भएका हरिप्रसाद उपाध्यायलाई नै उम्मेदवार बनाउन स्थानीय कार्यकर्ताले माग राखे पनि हरिप्रसाद उपाध्यायकै प्रस्तावमा उम्मेदवारी दर्ता गरेपछि एमालेभित्रको असन्तुष्टिसमेत कम भएकाले एमालेको विरासत फर्कने आशमा पार्टीका स्थानीय कार्यकर्ता छन् । 

स्थानीय तहको निर्वाचन २०७४ मा नेकपा (माओवादी केन्द्र) बाट अध्यक्ष पदमा उम्मेदवार भई पराजित हुनुभएका जङ्गबहादुर बराललाई नै उम्मेदवार बनाएको छ । महाबु गाउँपालिकामा कांग्रेस र एमालेका बिचमा नै मुख्य प्रतिस्पर्धा हुने गरेको छ । स्थानीय तहको निर्वाचन २०७९ मा कांग्रेसले दुई हजार ९७९ मत प्राप्त गरी विजयी हुँदा नेकपा (एमाले) का हरिप्रसाद उपाध्यायले दुई हजार ५१९ मत प्राप्त गर्नुभएको थियो ।