• ११ पुस २०८१, बिहिबार

पुस्तौंदेखि भारतको भरमा दलित बस्ती

blog

बाजुरा समाचारदाता

बाजुरा, मङ्सिर ६ गते । बाजुराको बुढीगङ्गा नगरपालिका–१०, बदेडाको दलित बस्तीका परिवारलाई पुस्तौँदेखि  अहिलेसम्म भारतकै भरमा बाँच्नु परेको छ । गाउँमा गरेर खाने केही व्यवस्था नभएपछि यो बस्तीका दलित परिवारले पुस्तौँदेखि अहिलेसम्म भारतकै रोजगारीको भरमा बाँच्नु परेको हो ।

गाउँमा गरी खाने केही उपाय नभएपछि अहिले भारतमा रोजगारी गरेर छोराछोरी पाल्ने गरेको बुढीगङ्गा नगरपालिका–१० का स्थानीय रूपबहादुर सार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँमा खेती लगाउँ भने पनि केही जमिन त छ तर त्यो जमिनमा सिँचाइको सुविधा नहुँदा सधैँ बाँझो राख्नु पर्छ ।”

पहिला हजुरबुवा र बुवाले पनि यसरी नै भारतमा बसेर हामीलाई हुर्काउनुभयो । अहिले हामीले पनि भारतमै बसेर गाउँमा छोराछोरी पाल्नु परेको सार्कीले बताउनुभयो । बुढीगङ्गा नगरपालिका–१० को बदेडा बस्तीमा झन्डै ५० भन्दा बढी दलित परिवार छन् । यहाँ यो बस्तीमा चालिस परिवार सार्की, १३ परिवार विक र दुई परिवार नेपाली बसोबास गर्दै आएका छन् ।

अहिले यो बस्तीका झन्डै १५० जना युवा भारतका विभिन्न ठाउँमा रोजगारी गर्दै आएका छन् ।  उनीहरू दसैँतिहारको बेला गाउँ फर्किने र त्यसपछि रोजगारीका लागि फेरि भारतमै जाने गरेको सार्कीले बताउनुभयो । यो दलित बस्तीमा दुई/तीन जना भारतमा नभएको कुनै घर बाँकी छैन । दसैँतिहार उता असारमा खेती लगाउने बेला केही युवा गाउँमा देखिए पनि त्यसपछि भने गाउँमा कोही युवा भेटिँदैनन् ।

उहाँले भन्नुभयो, “मेरो श्रीमान्को हातमा सिप छ तर त्यो सिप अनुसारको गाउँमा केही काम नमिलेपछि उहाँले उतै बस्नु परेको हो ।” दसैँतिहारका बेला घरमा आउनुहुन्छ । त्यसपछि उहाँले सँधै भारतमा गएर परिवार पाल्नु परेको सार्कीले बताउनुभयो ।

यहाँका दलितको आर्थिक अवस्था निकै कमजोर भएका कारण उनीहरूका छोराछोरीले उच्च शिक्षा पढ्नसमेत सकेका छैनन् । यो बस्तीका बालबालिकाले १ कक्षादेखि १० सम्म पढ्ने र त्यसपछि उनीहरू पनि कामको खोजीमा अभिभावकसँगै भारतका विभिन्न ठाउँमा जाने गर्छन् ।

यो बस्तीमा अहिलेसम्म एक जना पनि कुनै सरकारी सेवामा कार्यरत छैनन् । यहाँका अधिकांश युवा अहिले भारतका विभिन्न होटेलमा काम गरिरहेका छन् । उनीहरूले त्यहाँबाट पठाएको पैसाले गाउँमा परिवारले बिहान बेलुकीको छाक टार्दै आएको सार्कीले बताउनुभयो ।