• २५ पुस २०८१, बिहिबार

पुथाउत्तरगङ्गा गाउँपालिकामा सातको उम्मेदवारी फिर्ता

blog

उपाध्यक्ष पदका प्रतिस्पर्धी उम्मेदवार कांग्रेस–एमालेका केशकुमारी तुलाचन तथा माओवादी केन्द्र–एसका नरपुरा बुढा पुन । तस्बिर : जयमान बुढामगर

जयमान बुढामगर

रुकुमपूर्व, मङ्सिर ५ गते । रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाको उपनिर्वाचनमा ७ जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ । उम्मेदवारी मनोनयन दर्तामा उपाध्यक्ष पदका लागि ७ जना र २ नम्बर वडाको वडाध्यक्ष पदका लागि ३ जनाको उम्मेदवारी परेको थियो । 

तर बुधबार उपाध्यक्ष पदका उम्मेदवार ४ स्वतन्त्र र एकीकृत समाजवादीका उम्मेदवार गरी ५ जना र २ नम्बरको वडाध्यक्ष पदमा उम्मेदवारी दिनु भएका काँग्रेस–एमालेका उम्मेदवार र एक स्वतन्त्रले उम्मेदवारी फिर्ता लिनु भएको छ । उपाध्यक्ष पदका उम्मेदवार ५ र वडाध्यक्ष २ गरी ७ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिनु भएको सहायक निर्वाचन अधिकृत ईश्वरीप्रसाद सुवेदीले जानकारी दिनुभयो । 

सुवेदीका अनुसार उपाध्यक्ष पदका उम्मेदवार नेकपा एकीकृत समाजवादीका सुनिता बुढामगर, स्वतन्त्रतर्फका मोहनभक्त बुढा, श्रीदेवी सुनार विक, भिमकुमारी पुन मगर र कोपिला बुढा पुनले उम्मेदवारी फिर्ता लिएको छ । साथै वडाध्यक्ष पदका उम्मेदवार काँग्रेस–एमालेका संयुक्त उम्मेदवार जीवन रोका र स्वतन्त्र उम्मेदवार शुक्रराज विकले उम्मेदवारी फिर्ता लिनुभएको छ । 

कांग्रेस–एमालेका उम्मेदवार जीवन रोका र स्वतन्त्र उम्मेदवार शुक्रराज विकले उम्मेदवारी फिर्ता लिएपछि वडाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार जगत घर्तीमगर निर्विरोध निर्वाचित हुनुभएको छ । 

कांग्रेस–एमालेको तर्फबाट उम्मेदवारी दिनुभएका जीवन रोकाले माओवादी उम्मेदवार आफन्त पर्ने भएकाले नाम फिर्ता लिएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी एउटै घरको नाता पर्ने हो । माओवादी उम्मेदवार काका नाता पर्नुभयो, भेगीय हिसाबमा पनि एउटै पर्नुभयो ।”

उम्मेदवारी फिर्ता लिएपछि पार्टीले कारबाही गर्ला नि ? भन्ने प्रश्नको जवाफमा उहाँले “पार्टीले के गर्ने भन्ने उसको कुरा हो । गाउँपालिका उपाध्यक्षमा पार्टीकै उम्मेदवार जिताउन लाग्छु । आफ्नो खुसीले उम्मेदवारी फिर्ता लिएको हो, पार्टीले कारबाही गरे स्विकार्छु,” भन्नुभएको छ ।

अब उपाध्यक्ष पदका लागि मात्र निर्वाचन हुने भएको छ । उपाध्यक्ष पदमा ७ जनाको उम्मेदवार परेको थियो  । तर बुधबार ४ जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी फिर्ता लिनु भयो भने नेकपा एकीकृत समाजवादीले माओवादी केन्द्रलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको छ । 

अब उपाध्यक्ष पदको लागि माओवादी केन्द्र–एसका साझा उम्मेदवार नरपुरा बुढा पुन र कांग्रेस–एमालेका संयुक्त उम्मेदवार केशकुमारी तुलाचन बिच मात्र चुनाव प्रतिस्पर्धा हुने भएको छ । उपाध्यक्ष पदका उम्मेदवार एमालेका जिल्ला उपसचिव  तुलाचन काँग्रेसको चुनाव चिन्ह लिनु भएको छ  ।