• २५ पुस २०८१, बिहिबार

कोइला उत्पादन नेपालमा न्यून छ, असर ठुलो भोग्छौं’

blog

राष्ट्रिय सभाका सांसद डा. अन्जान शाक्य अजरबैजानको बाकुमा जारी कार्यक्रममा धारणा राख्नु हुँदै ।

अजरबैजान, मङ्सिर ५ गते । राष्ट्रिय सभाका सांसद डा. अन्जान शाक्यले कोइला उत्पादनमा नेपालको भूमिका न्यून भए पनि त्यसको असर भोग्न बाध्य हुनुपरेको बताउनुभएको छ । अजरबैजानको बाकुमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धी युएनएफसीसीसीका पक्ष राष्ट्रको २९ औँ सम्मेलन (कोप–२९) मा ‘एसियाको कोइलाको उपयोग घटाउने प्रयासः मुख्य निष्कर्ष र साझा मार्ग’ विषयक बहसमा सांसद शाक्यले यस्तो उल्लेख गर्नुभएको हो ।

 ‘विश्वव्यापी तापमान वृद्धिमा कोइला उत्पादनको प्रमुख भूमिका छ । कोइला त्यस्तो जीवाश्म इन्धन हो, जसको प्रयोगले ठूलो मात्रामा कार्वनडाइअक्साइड उत्सर्जन गदर्छ’ शाक्यले भन्नुभयो, ‘कोइला उत्पादनमा नेपालको भूमिका न्यून छ, तर एशियाली मुलुकमा पनि मुख्य गरेर चाइना र भारत कोइला उत्पादनमा अग्रपङ्क्तिमा छन् । यी दुई राष्ट्रको बिचमा रहेको हाम्रो देश नेपालले ती देशमा उत्पादित तथा प्रयोग गर्ने कोइलाको असर भोग्न बाध्य भएको छ ।’ 

उहाँले हरितगृह ग्यास उत्सर्जनमा नेपालको अति न्यून भूमिका रहे पनि विश्वव्यापी तापमान वृद्धिका कारण नेपाल रहेक वर्ष ठुलो क्षति व्यहोर्न बाध्य भएको पनि उहाँले उल्लेख गर्नुभयो । जलवायु परिवर्तन गराउन हरितगृह ग्यासको मुख्य भूमिका हुन्छ । ऊर्जा, उद्योग र उत्पादन क्षेत्र, कृषि–पशुपालन, वन र फोहोर हरितगृह ग्यास उत्सर्जनका मुख्य स्रोत मानिन्छन् । ‘हरितगृह ग्यास उत्सर्जनका कारण  नेपालमा रहेका २ हजार ३ सय २३ हिमतालमध्ये २० वटा हिमताल उच्च जोखिममा रहेको तथ्यहरु बाहिर आएका छन् ।’ 

उहाँले भन्नुभयो, ‘हरेक वर्ष वायुमण्डलको तापक्रम वढ्दै जाने र अधिक मात्रामा हिउँहरु पग्लदै जानेक्रम नरोकिने हो भने हिमतालहरुको संख्या वढ्ने र जोखिममा रहेका हिमतालहरु फुट्ने सम्भावना छ ।’ हिमताल फुटेको अवस्थामा नेपालको ठूलो जनधनको क्षति भोग्न बाध्य हुने खतराप्रति पनि उहाँले संकेत गर्नुभयो ।

 ‘नेपालले सुख्खा पहिरो, बेमौसमी बाढी, पानीको मुहान सुक्ने, अतिवृष्टि, अनावृष्टि आदि प्राकृतिक प्रकोपसँग जुझ्दै आइरहेको छ’ उहाँले भन्नुभयो, ‘यसको हानि र नोक्सानीको क्षतिपूर्ति सम्बन्धित देशबाट प्रभावित देशहरुले सहजरुपमा पाउनुपर्छ ।’  

उहाँले कृषि क्षेत्रमा जलवायु परिवर्तनले निम्त्याइएका असरहरुका कारण हिमाली तथा पहाडी क्षेत्रमा बसाइँसराइको क्रम बढ्दै गइरहेको पनि उहाँले उल्लेख गर्नुभयो । ‘त्यसले सामाजिक तथा आर्थिक रुपमा नकारात्मक असर पारेको छ’ सांसद शाक्यले भन्नुभयो, ‘नेपालको सङ्घीय, प्रदेश र स्थानीय सरकारमा नवीकरणीय उर्जा प्रवर्धनका लागि नीति, रणनीति र कार्यक्रमहरु बनाई कार्यान्वयनको अवस्थामा गइरहेको छ ।’ शाक्यले केही वर्षयता नेपालको कोइला उत्पादनमा उतारचढाव आएको पनि चर्चा गर्नुभयो ।