• ७ मंसिर २०८१, शुक्रबार

युक्रेनले छवटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार

blog

क्षेप्यास्त्र प्रहारपछि भएको क्षति । फाइल तस्बिर : एपी

मस्को,  मङ्सिर ४ गते । रुसी सेनाले मङ्गलबार युक्रेनले ब्रायन्स्क सीमा क्षेत्रमा रहेको सैन्य सुविधामा अमेरिकाले आपूर्ति गरेको लामो दूरीको क्षेप्यास्त्र प्रहार गरेको बताएको छ । यो वासिङ्टनले आफ्नो हतियार प्रयोग गर्न अनुमति दिएपछिको पहिलो आक्रमण हुनेछ ।

“स्थानीय समयानुसार बिहान ०३ः२५ बजे शत्रुले ब्रयान्स्क क्षेत्रमा छवटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । पुष्टि गरिएको तथ्याङ्कअनुसार अमेरिकामा निर्मित एटिएसिएमएस सामरिक क्षेप्यास्त्र क्षेपणास्त्रहरू प्रयोग गरिएको थियो”, सैन्य मन्त्रालयले एक बयानमा भनेको छ ।

युक्रेनले महिनौँदेखि वासिङ्टनलाई रूसी क्षेत्रमा रहेका स्थलहरूमा प्रहार गर्न लामो दूरीको एटिएसिएमएस क्षेप्यास्त्र प्रयोग गर्न दिन माग गर्दै आएको थियो ।

मस्कोले रुसको अन्तर्राष्ट्रिय मान्यता प्राप्त क्षेत्रमा आक्रमण गर्न पश्चिमी हतियारको प्रयोगले संयुक्त राज्य अमेरिकालाई द्वन्द्वमा प्रत्यक्ष सहभागी बनाउने र ‘उचित र स्पष्ट जवाफ’ दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

आफ्नो बयानमा रुसको रक्षा मन्त्रालयले आफ्नो हवाई सुरक्षाद्वारा पाँचवटा क्षेप्यास्त्र खसालिएको र छैटौँको टुक्रा अनिर्दिष्ट ‘सैन्य सुविधा’ मा खसेको भन्दै सानो आगलागी भएको बताएको छ । “कुनै हताहत वा क्षति भएको छैन”, मन्त्रालयले भन्यो ।

युक्रेनका विदेशमन्त्रीले सोमबार रुसभित्र आक्रमणका लागि क्षेप्यास्त्र प्रयोग गर्ने अनुमतिको लगभग तीन वर्ष पुरानो द्वन्द्वमा सम्भावित ‘गेम चेन्जर’ का रूपमा प्रशंसा गर्नुभयो ।  रासस, एएफपी