• ११ पुस २०८१, बिहिबार

सडक पुगे पनि छुटेन डोकोनाम्लो

blog

गोकर्ण दयाल

बैतडी, मङ्सिर ४ गते  । गाउँ गाउँमा सडक पुगे पनि किसानले घण्टौँ पैदल हिँडेर डोकोमै खाद्यवस्तु बोकेर बजार लैजानपुर्ने बाध्यता हट्न सकेको छैन । ग्रामीण सडकमा बुकिङबाहेकका गाडी नचल्दा किसानको दुःख फेरिन सकेको छैन । मेलौली नगरपालिका–६, सिगास गाउँपालिका–१, दशरथ चन्द नगरपालिका–१ को मुडापगाउँ, २ नम्बर वडाको देहिमाण्डौँ र ४ नम्बरको जर्गगाउँका किसान दैनिक दुईदेखि तीन घण्टा पैदल हिँडेर डोकोमै तरकारी बोकेर बजार पुर्‍याउँदै आएका छन् । 

मेलौली नगरपालिकाका–६ मा सडक पुगे पनि उत्पादन बेच्न डोकोमै भारी बोक्नुपर्ने बाध्यता छ । गाउँमा सडक पुगे पनि जनप्रतिनिधिका गाडीबाहेक सार्वजनिक सवारीसाधन नियमित नचल्दा बोकेरै बजार लैजाने गरेको अगुवा किसान चिन्तामणि भट्टले बताउनुभयो । बर्खामा बन्द भएका ग्रामीण सडक दसैँतिहारका बेला सफा गरिए पनि नियमित गाडी नचल्दा किसानलाई सडक हुनु र नहुनुमा कुनै फरक नपरेको उहाँले बताउनुभयो । चुनावका बेला कृषि एम्बुलेन्सका कुरा उठे पनि निर्वाचन सकिएपछि जनप्रतिनिधिले वाचा बिर्सने गरेको उहाँले गुनासो गर्नुभयो । स्थानीय तहको सरकारले गाउँमै तरकारी सङ्कलन केन्द्र स्थापना गर्न सहयोग नगरेको किसानको गुनासो छ । हिउँदे सिजनमा यहाँका किसानले रायो, मुला, धनियाँ, पालुङ्गोलगायतका हरियो साग प्रशस्तै फलाउने गरेका छन् । मेलौली नगरपालिका–६ मा प्रदेश सरकारबाट मुख्यमन्त्री आधुनिक कृषि परियोजना लागु भएपछि यहाँका ३१ जना किसान तरकारी खेतीमा लागेका छन् । 

प्रदेश सरकारले कृषि ज्ञान केन्द्रबाट ३६ लाख रुपियाँ बजेट खर्च गरेर गाउँमा स्थायी पोलिहाउस निर्माण गरिदिएपछि किसान तरकारी खेतीमा लागेका छन् । व्यावसायिक तरकारी खेतीमा लागे पनि उत्पादन भएको तरकारी बजार लैजान डोकोनाम्लोकै भरले पर्नुपर्ने बाध्यता रहेको पाटन नगरपालिका–९ का अगुवा किसान मोहन बिजलेले बताउनुभयो ।  

शीतभण्डार अलपत्र  

प्रदेश सरकारले निर्माण गर्ने भनिएका तीन वटा शीतभण्डार (कोल्ड स्टोर) निर्माणको काम अलपत्र पर्दा किसान झनै मार्कामा परेका छन् । जिल्लामा कोल्ड स्टोर नहुँदा आलुका बिउ बोकेर डडेलधुराको कोल्ड स्टोरसम्म लैजानुपर्ने बाध्यता रहेको पाटन नगरपालिका–८ का अगुवा किसान गोपाल विष्टले बताउनुभयो । प्रदेश सरकारले पाटन नगरपालिका–८, खोड्पेमा र क्षेत्री कृषि निर्देशनालयले दशरथ चन्द नगरपालिका–१, गुरुखोलामा निर्माण सुरु गरेको शीत भण्डार अलपत्र परेका छन् । शीत भण्डार सञ्चालन गर्न छलफल भइरहेकै बेलामा कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख घनश्याम चौधरीले आफ्नो सरुवा भएको बताउनुभयो ।