काठमाडौँ, मङ्सिर ३ गते । प्रतिजैविक प्रतिरोधका कारण हरेक वर्ष विश्वभर करिब सात लाख मानिसको मृत्यु हुने गरेको अनुमान छ । विश्व स्वास्थ्य सङ्गठन अनुसार अनुसार यदि यो समस्याको सुधारका उपायहरू नअपनाएमा यो सङ्ख्या सन् २०५० सम्म एक करोड पुग्न सक्ने र विश्वव्यापी आर्थिक क्षति एक सय ट्रिलियन अमेरिकी डलर बराबर हुन सक्ने अनुमान गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी विज्ञप्ति निकाल्दै प्रतिजैविक प्रतिरोधको समस्याको समाधानका लागि मानव स्वास्थ्य, पशु स्वास्थ्य, खाद्य सुरक्षा र वातावरण क्षेत्रको सामूहिक प्रयास अपरिहार्य रहेको बताउनुभयो ।
यसका लागि एक स्वास्थ्य अवधारणालाई आत्मसात् गर्दै प्रतिजैविक औषधीको उचित प्रयोगलाई प्रोत्साहित गर्नुपर्ने उहाँको ठहर छ । उहाँले भन्नुभयो, “यो समस्याको समाधानका लागि मानव स्वास्थ्य, पशु स्वास्थ्य, खाद्य सुरक्षा र वातावरण क्षेत्रको सामूहिक प्रयास अपरिहार्य छ। यसका लागि एक स्वास्थ्य अवधारणालाई आत्मसात् गर्दै प्रतिजैविक औषधीको उचित प्रयोगलाई प्रोत्साहित गर्नुपर्ने आवश्यकता छ ।”
डा. बुढाथोकीका अनुसार सङ्क्रमणको उपचारमा प्रयोग हुने औषधीहरू, विशेष गरी एन्टिबायोटिक्स, प्रभावहीन हुँदै जानु नै प्रतिजैविक प्रतिरोध हो । यस समस्याले रोगको उपचार कठिन बनाउनुका साथै मानव स्वास्थ्य, पशु स्वास्थ्य र वातावरणमा गम्भीर असर पुर्याइरहेको उहाँको भनाइ छ ।
प्रतिजैविक औषधी त्यस्तो औषधीकोहरुको समूह हो जसले कीटाणुका कारण लाग्ने रोगको रोकथाम तथा उपचार गर्छ ।
प्रतिजैविक प्रतिरोधबारे सचेतना फैलाउन र रोकथामका उपायहरू प्रोत्साहित गर्न हरेक वर्ष नोभेम्बर १८ देखि २४ का बिचमा विश्व एन्टिमाइक्रोबियल सचेतना सप्ताह मनाइन्छ । यस वर्ष पनि “प्रतिजैविक प्रतिरोध बुझौँ, बुझाऔँ, आजैबाट रोकथाम जुटौँ” भन्ने नाराका साथ आजबाट सुरु भएको छ ।
बुढाथोकीले सप्ताह सफलताका साथ मनाउन आग्रह गर्नुभएको छ । औषधीको उचित प्रयोग, जनचेतना र रोकथामका उपायहरूको प्रभावकारी कार्यान्वयन गर्न गराउनु हुन सबै सरोकारवालालाई आफ्नो क्षेत्रबाट योगदान दिन मन्त्रालयले अपिल गरेको छ ।