• ७ मंसिर २०८१, शुक्रबार

अर्जुनचौपारीमा धमाधम सडक कालोपत्रे

blog

अर्जुनचौपारी वडा –३ जाने कालोपत्रे सडक । तस्विरः अर्जुन काफ्ले

अर्जुन काफ्ले

स्याङ्जा, कात्तिक २८ गते । देश सङ्घीयतामा गएको पाँच वर्षसम्म कालोपत्रेले नछोएको अर्जुनचौपारी गाउँपालिकामा धमाधम सडक कालोपत्रे हुन थालेको छ । पालिका बनेको छैटौँ वर्षमा प्रदेश सरकारले हेलु–अर्जुनचौपारी–पर्वत खण्डमा चार किमी कालोपत्रे गरेकोमा गत आर्थिक वर्षमा तीन किमी १५८ मिटर पालिकाले कालोपत्रे गरेको थियो । 

पालिकाले वडा–३ पुग्ने एक किमी एकसय मिटर सडक एक करोड ४३ लाख ७३ हजार १५८ रुपियाँ ६२ पैसामा कालोपत्रे गरेको हो । यो सडक कैलमाण्डौ–अगेरभगेर निर्माण सेवा जेभीले सडक कालोपत्रे गरेको हो । 

यस्तै, वडा २ जाने सडकको डेढ किमी सडक शीतलादेवी निर्माण सेवा पुतली बजारले गरेको हो । सडक एक रोड १६ लाख ६७ हजार ५२२ रुपियाँ २४ पैसामा कालोपत्रे गरेको हो । 

यस्तै, वडा–६ जाने सडक अर्जुनचौपारी–दरौँ खण्डमा ५५८ मिटर पालिकाले ढलान गरेको हो । पञ्चमुल निर्माण सेवा पोखराले ढलानसहित नाला, मेसिनरी वालगरी एक करोड नौ लाख ९६ हजार २८८ रुपियाँ ९४ पैसामा काम गरेको हो । 

यस्तै, पालिकाले यो आर्थिक वर्षमा १० किमी ५० मिटर सडक कालोपत्रे गर्ने तयारी गरेको छ । पालिको अर्जुनचौपारी पहुँच मार्गका तीन किमी एकसय मिटर लम्साल–हेजेल निर्माण सेवा जेभीले निर्माण गर्नेछ । 

निर्माण कम्पनीले दुई करोड ८० लाख नौ हजार १०७ रुपियाँ १९ पैसामा आगामी डेढ मसान्तसम्म काम सक्नेगरी सम्झौता गरेको पालिका सबइन्जिनियर सन्दीप बोगटीले बताउनुभयो । 

यस्तै, पर्वत सडकको वडा–३ को सिरिण्डाडाँबाट वडा–४ को कार्यालय रापाकोटसम्मको तीन किमी ७५० मिटर खण्ड कालोपत्रे गर्नेगरी बुद्ध निर्माण सेवा कुस्मा पर्वतले सम्झौता गरेको छ । निर्माण कम्पनीले आगामी पुस मसान्नसम्म काम सक्नेगरी चार करोड ४२ लाख ३३ हजार ६४२ रुपियाँ ०८ पैसामा सम्झौता गरेको छ । 

यस्तै, लामडाँडा सडक खण्डको वडा २ सम्म एक किमी ७९० मिटर शुभ शुभम् कन्स्ट्रक्सन वालिङले कालोपत्रे गर्नेछ । शुभ शुभम् कन्स्ट्रक्सनले एक करोड ३४ लाख १९ हजार ६८१ रुपियाँ ०३ पैसामा आगामी जेठ मसान्तसम्म सक्ने गरेर सम्झौता गरेको छ । 

सोहीअनुसार अर्जुन चौपारी–दरौँ सडकको वडा–६ कार्यालय पुग्ने गरेर १ किमी ४१० मिटर कालोपत्रे शुभ शुभम् कन्स्ट्रक्सने गर्ने बोगटीले बताउनुभयो । शुभ शुभमले १ करोड ३८ लाख ५१ हजार ७४५ रुपियाँ १५ पैसामा आगामी जेठ मसान्तसम्म सक्नेगरी सम्झौता गरेको छ । 

पालिकाका अध्यक्ष प्रकाश तिवारी विगतमा धुलेबाटो रहेको पालिकामा पछिल्लो समय कालोपत्रे भइरहेको बताउनुभयो । यहाँ बोटानिकल पार्क, नवग्रह मन्दिर तथा साना सडकको स्तरोन्नति पनि भइरहेको छ ।