• १२ पुस २०८१, शुक्रबार

दिनेश र अन्जनालाई स्वर्ण

blog

खुला कराँतेमा प्रतिस्पर्धा गर्दै खेलाडी ।

काठमाडौँ, कात्तिक २६ गते । प्रथम काठमाडौँ महानगरपालिका उपमेयर कप उपत्यका व्यापी अन्तरपालिका एकायन कराँते प्रतियोगिताको खुला तौल समूहमा पुरुषतर्फ दिनेश बम र महिलातर्फ अञ्जना बुढाथोकी च्याम्पियन बन्नुभएको छ ।

राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्र काठमाडौँमा भएको दुई दिने प्रतियोगितामा पुरुषतर्फ अभिषेक तामाङ तथा महिलातर्फ एलिना थापा उपविजेता बन्नुभयो ।काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा नेपाल एकायन कराँते सङ्घले आयोजना गरेको प्रतियोगिताअन्तर्गत महिला वर्गमा ३५ के.जी. मुनि रेखा रोकायाले स्वर्ण तथा साक्षी ढकालले रजत पदक जित्नुभयो ।

यसैगरी ४० के.जी. मुनि सिवानी आले मगर पहिलो र आराध्य घिमिरे दोस्रो तथा ४५ के.जी. मुनि कृपा खड्का पहिलो तथा आयुषा तामाङ दोस्रो स्थानमा रहनुभयो । ५० के.जी. मुनि तौल समूह रेश्मिला राई र सभ्यता नेपाली तथा ५५ के.जी. मुनि निशा तामाङ र आस्था तामाङले क्रमशः स्वर्ण र रजत पदक जित्नुभयो ।

पुरुषतर्फ २५ के.जी. मुनि अरुण लामाले फाइनलमा लविन कार्कीलाई हराएर पहिलो हुनुभयो । यसैगरी ३० के.जी. मुनि विवेश जैशीले नरेश रावत, ३५ के.जी. मुनि गणेश विष्टले सायन भुजेल, ४० के.जी. मुनि प्रविन श्रेष्ठले साजन नेपाली, ४५ के.जी. मुनि सुवास शाहीले समीर बराम, ५० के.जी. मुनि पवन तामाङले अनमोल श्रेष्ठ तथा ५५ के.जी. मुनि बिराज मगरले सुवास नेपालीलाई हराएर स्वर्ण पदक जित्नुभयो ।

विजेता खेलाडीलाई काठमाडौँ महानगरपालिकाका उपमेयर सुनिता डंगोललगायत अन्य अतिथिले पुरस्कार वितरण गर्नुभयो । प्रत्येक तौल समूहमा स्वर्ण पदक विजेताले २० हजार, रजत पदक विजेताले १२ हजार र कांस्य पदक विजेताले सात हजार रुपियाँले पुरस्कृत भएका थिए ।