• १२ पुस २०८१, शुक्रबार

वीरगञ्जमा यात्रुसँग दोब्बर भाडा असुल्दै सार्वजनिक यातायात

blog

वीरगन्जबाट हेटौँडा–काठमाडौँ चल्ने टाटा सुमो । फाइल तस्बिर

वीरगञ्ज (पर्सा), कात्तिक २६ गते । छठपर्व मनाएर काठमाडौँ फर्किने यात्रुसँग वीरगन्जका सार्वजनिक यातायातमा दोब्बर भाडा असुल्न थालिएको छ । वीरगन्जबाट हेटौँडा–काठमाडौँ चल्ने टाटा सुमो, इलेक्ट्रिक बस तथा लामो रुटमा चल्ने सवारीसाधनमा साबिकको भन्दा दोब्बर भाडा असुल्न थालिएको तर प्रशासनले भने कारबाही गर्न नसकेको यात्रुहरूको गुनासो छ । हाल वीरगन्जका बस काउन्टरमा यात्रुले टिकट पाउनसमेत मुस्किल छ ।

वीरगन्ज महानगरपालिका–१५ लक्ष्मणवा बस्ने जयमोद ठाकुरले गत शनिबार आफ्नो छोरा वीरगन्ज–हेटौँडा हुँदै काठमाडौँ जाँदा इलेक्ट्रिक बसले दोब्बर भाडा असुलेको गुनासो गर्नुभयो । “मेरो छोरालाई वीरगन्जबाट काठमाडौँ पठाउँदा अन्य बेलाभन्दा दोब्बर भाडा तिरेर पठाए । अरू बेला वीरगन्जबाट काठमाडौँ जाँदा आठ सय ५० सम्म लिने गरिन्थ्यो तर अहिले यातायात व्यवसायीले एक हजार पाँच सयसम्मको भाडा मागे । यसरी जथाभाबी ढङ्गले भाडा असुल्नेलाई प्रहरीले कारबाही गर्न सकिरहेको छैन”, उहाँले भन्नुभयो । ठाकुरले वीरगन्जका यातायात व्यवसायीले बढी भाडा असुलेको विषयलाई लिएर आइतबार सामाजिक सञ्जाल फेसबुकमा भिडियोसमेत पोस्ट गर्नुभएको छ ।

व्यवसायीले अरू बेला टिकट दिने गरे पनि हाल टिकट छैन भनेर बढी मूल्य दिनेलाई मात्रै उपलब्ध गराउने गरेको आरोप लगाउनुभयो । वीरगन्ज बसपार्कमा यात्रु सहायता कक्ष राखेको भए पनि प्रहरी प्रशासनले यात्रुलाई राहत र बिचौलियालाई कानुनी दायरामा ल्याउन नसकेको ठाकुरको भनाइ छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख लोकराज भट्ट भने बढी भाडा लिएको भन्दै गुनासो आएपछि अनुगमनमा जाँदा गुनासोकर्ता नै सम्पर्कमा नआउँदा कारबाही गर्न समस्या भइरहेको दाबी गर्नुहुन्छ । “शनिबार पनि बढी भाडा लिएको भन्दै फोनमा गुनासो टिपाएपछि हामी त्यसबारे बुझ्न जाँदा पीडित पक्ष सम्पर्कमा नै आएनन्, अनि के आधारमा कारबाही गर्नु”, उहाँले भन्नुभयो, “हामीले परवानीपुरमा पनि नियमित जाँच गरिरहेका छौँ । कतिपय यात्रु बढी भाडा तिरेर जाँदा पनि ट्राफिक प्रहरीलाई रिपोर्ट नगर्दा त्यस्ता सवारीसाधनलाई कारबाही गर्न समस्या भइरहेको छ ।”

पर्साका ट्राफिक प्रहरी प्रमुख भट्टले वीरगन्जको गण्डकचोकबाट बढी भाडा लिएको गुनासो आएसँगै आइतबार एउटा सवारीसाधनलाई बढी भाडा लिएको भन्दै फिर्ता गराउन लगाएको जानकारी दिनुभयो । “आइतबार बढी भाडा लिएको भन्ने एउटा सवारीसाधनबाट बढी भाडा फिर्ता पनि गरायौँ ।” उहाँले भन्नुभयो, “बढी भाडा लिएको सवारीसाधनलाई आवश्यक कारबाही गर्नका लागि यातायात व्यवस्था कार्यालय वीरगन्जलाई सिफारिस गरेका छौँ ।” रासस