• ७ मंसिर २०८१, शुक्रबार

किसानका प्राविधिक समस्या समाधान गर्दै वैज्ञानिक

blog

वराहक्षेत्र समाचारदाता

वराहक्षेत्र, कात्तिक २६ गते । पूर्वी नेपालका किसानले तरकारी बालीमा भोग्दै आएका विविध समस्याबारे कृषि वैज्ञानिक र किसानबिच छलफलसहित समाधानको बाटो खोजिएको छ । कृषिविज्ञद्वारा तरकारी किसानले भोग्दै आएका समस्याबारे प्रयोगात्मक रूपमै किसानलाई जानकारी गराइएको छ । 

कृषि व्यवसायमा आत्मनिर्भर, रोजगारीका अवसर र तरकारी किसानले उत्पादन गर्दा भोग्दै आएका समस्यालाई पहिचानसहित समाधान गर्ने उद्देश्यले सुनसरीको वराहक्षेत्र–९ मा रहेको सुन्दर कृषि फार्ममा दुईदिने प्रदेशस्तरीय ‘तरकारी बालीमा कलमी प्रविधि’ कार्यशाला आयोजना गरिएको हो । कार्यशालामा तरकारी खेतीमा माटो, रोग, किराबाट आइपर्ने समस्याबारे जानकारी गराइएको राष्ट्रिय बालीरोग विज्ञान अनुसन्धान केन्द्र खुमलटारका बालीरोग वैज्ञानिक डा. रामबहादुर खड्काले बताउनुभयो । 

कार्यशालामा योजना महाशाखा प्रमुख तथा नार्क सदस्य डा. टेकप्रसाद गोतामेले तरकारी खेतीमा जैविक र अजैविक तनावलाई न्यूनीकरण गर्न तरकारीको ग्राफ्टिङ प्रविधिबारे प्रयोगात्मक रूपमै किसानलाई जानकारी गराउनुभएको थियो ।

कृषि अनुसन्धान निर्देशनालय तरहराका निर्देशक वरिष्ठ वैज्ञानिक डा. गोविन्दप्रसाद तिमिल्सिनाले विभिन्न किसिमका किराबाट तरकारीलाई जोगाउने उपायबारे जानकारी दिनुभएको थियो । राष्ट्रिय बालीरोग विज्ञान अनुसन्धान केन्द्रका वरिष्ठ वैज्ञानिक डा. सुरज वैद्यले गाँठेरोग व्यवस्थापनबारे जानकारी दिनुभएको थियो । उहाँले तरकारी बालीमा माटोजन्य रोग व्यवस्थापनबारे पनि जानकारी गराउनुभएको छ । कार्यशालामा प्रदेशका ३५ जना सक्रिय व्यावसायिक किसानको सहभागिता रहेको थियो ।  

सोलुखुम्बुका कृषक पूर्णधन राईले अहिले पनि धेरै किसान कृषि प्राविधिकको पहुँचभन्दा बाहिर रहेकाले सामान्य प्राविधिक जानकारी किसानलाई नहुँदा उत्पादनका नाममा जथाभाबी मात्रामा रासायनिक विषादीको प्रयोग भइरहेकाले यसको नियन्त्रण गर्न कृषकलाई चेतनामूलक तालिम दिनुपर्ने बताउनुभयो । कोशी प्रदेश कृषि क्षेत्रको लागि उर्वर भूमि मानिँदै आए पनि तिनै तहको सरकारले वैज्ञानिक खेती प्रणाली नअपनाउँदा कृषिले गति लिन नसकेको किसानले बताएका छन् ।

तरकारी उत्पादनमा आकर्षण बढाउन माटो र तरकारीमा लाग्ने किरा, रोग नियन्त्रण नै प्रमुख समस्या रहेको अगुवा किसान रघु चन्द्रवंशीले बताउनुभयो । गाउँघरमा व्यावसायिक तरकारी खेती, च्याउ खेतीलगायत पशुपालन गर्ने क्रम बढेर गए पनि सामान्य प्राविधिक ज्ञान नहुँदा उत्पादन लागत नै उठाउन नसकिएको देउमाई नगरपालिकाका किसान सबिनबाबु श्रेष्ठले बताउनुभयो ।  

तरकारी क्षेत्रमा नयाँ सोच, सिप तथा प्रविधिबारे किसानमा चेतना बढाउन र किसानका प्राविधिक समस्या पहिचान र समाधानबारे कार्याशाला प्रभावकारी भएको राष्ट्रिय बालीरोग विज्ञान अनुसन्धान केन्द्र प्रमुख सुरज वैद्यको भनाइ छ ।