• ११ पुस २०८१, बिहिबार

जाडोमा बालबालिकालाई निमोनिया हुन नदिन के गर्ने ?

blog

काठमाडौँ, कात्तिक २७ गते । जाडो मौसममा श्वासप्रश्वास सम्बन्धी समस्याले सताउने गर्छ । निमोनिया श्वासप्रश्वास सम्बन्धी जाडो मौसममा दुःख दिने समस्या मध्यको एक हो । निमोनिया सबै उमेर समूहका मानिसलाई देखिए पनि विशेषगरी पाँच वर्ष मुनिका बालबालिका, वृद्धवृद्धा र दीर्घरोगी र रोग प्रतिरोधात्मक क्षमता कम भएमा मानिसमा बढी जोखिम हुने गर्छ । पाँच वर्ष मुनीका बच्चाको मृत्युको प्रमुख कारण निमोनिया हो ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा प्रत्येक वर्ष आठ लाख भन्दा बढी बालबालिकाको निमोनियाका कारण मृत्यु हुने गर्छ । विश्वमा प्रत्येक १३ सेकेण्डमा एक जनाको निमोनियाबाट बालबालिकाको मृत्युहुने विश्व स्वास्थ्य संगठनले जनाएको छ । 

कान्ति बाल अस्पतालमा आउने अधिकांश बालबालिका निमोनियाको लक्षण लिएर आउने गरेको अस्पतालका बालरोग विशेषज्ञ बताउँछन् । 

बालरोग विशेषज्ञ डा‍= रामहरि चापागाईंले पछिल्लो समय निमोनियाका लक्षण लिएर बिरामी आउने एक्सप्रेस गर्दा छातीमा निमोनिया देखिने प्रचलन बढ्दै गएको जानकारी दिनुभयो ।

सास फेर्न गाह्रो हुने, ज्वरो आउने, रुघा खोकी लाग्ने जस्ता लक्षण लिएर आउने बालबालिकाको एक्सप्रेस गर्दा निमोनियाको दाग देखिएमा निमोनिया देखिने उहाँ बताउनुहुन्छ ।  

डा= चापागाईंका अनुसार निमोनिया श्वासप्रश्वास सम्बन्धी सङ्क्रमण हो । निमोनियाले फोक्सोमा असर गर्ने डा= चापागाईंको भनाइ छ । उहाँ भन्नुहुन्छ, “निमोनिया भएमा  फोक्सो भित्र भएका स–साना हावाका थैलीहरूमा तरल पदार्थ भरिएर श्वास फेर्न कठिनाइ eP/ शरीरमा आवश्यक पर्ने अक्सिजनको मात्रामा कमी हुन्छ ।”

निमोनिया ब्याक्टेरिया, भाइरस, फङ्गसको सङ्क्रमणले गर्दा लाग्ने डा= चापागाईं बताउनुहुन्छ । मुख्यतया बच्चाको नाक र घाँटीमा रहेका जीवाणु श्वासप्रश्वासको माध्यमबाट फोक्सोसम्म पुगी निमोनिया हुने सम्भावना बढाउने गर्छ । सङ्क्रमितले हाच्छ्युँ गर्दा वा खोक्दा थुक र सिँगानको छिटाको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा निमोनिया सर्ने गर्छ।  

रोग प्रतिरोधात्मक क्षमता कम भएका, पूर्ण स्तनपान गर्न नपाएका कुपोषित र जन्मँदै कम तौल भएका बालबालिका निमोनिया हुने सम्भावना बढी हुने उहाँ बताउनुहुन्छ ।  त्यसका अलावा खाना  पकाउँदा निस्कने घर भित्रको धुवाँ  र धूम्रपान  गर्दा  निस्केको  धुवाँले साथै एउटै कोठामा धेरै बस्ने बालबालिकालाई निमोनिया हुने सम्भावना बढी हुन्छ ।  

लक्षण 

डा. चापागाईंका अनुसार खोकी लाग्ने, छिटो छिटो सास फेर्ने, छाती दुख्ने, छाती घ्यार घ्यार  हुने,  श्वास फेर्न गाह्रो  हुने, ज्वरो आउने, शरीरमा कम्पन आउने निमोनियाका लक्षण हुन् । त्यसका अलावा निमोनिया हुँदा श्वास लिँदा छोड्दा आवाज आउने, झोलिलो पदार्थ पिउन नसक्ने, द"ध चुस्न नसक्ने, धेरै सुतिरहने वा ब्युँझाउन गाह्रो हुने, नाकबाट सिँगान बगिरहने जस्ता लक्षण बालबालिकामा देखिने गर्छ । 

निमोनिया भएका बच्चामा अन्य स्वास्थ्य समस्या जस्तै झाडापखाला, दादुरा, औलो, कुपोषण समेत देखा पर्न सक्दछ। यदि बच्चामा माथिको चिन्ह वा लक्षण देखा परेमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा लैजान डा= चापागाईंको सुझाव छ ।  

डा= चापागाईंका अनुसार बालबालिकालाई निमोनिया हुनबाट बचाउन अभिभावकले पूर्ण खोप लगाइदिने, पूर्ण स्तनपान गराउने गर्नुपर्छ । 

निमोनिया भएमा पोषिलो झोलिलो खानेकुरा खुवाउने, पटक पटक स्तनपान गराउने, बच्चालाई नगुस्माई न्यानो पारेर राख्ने, धुवाँ धुलोबाट बचाउन डा= चापागाईंको आग्रह छ ।

डा. चापागाईंका अनुसार जोखिम समूहका बालबालिकालाई निमोनिया हुनबाट बचाउन यो विरुद्धको खोप लगाउन सकिन्छ । 

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।