• ७ मंसिर २०८१, शुक्रबार

विद्यार्थीलाई ‘क्लोज क्याम्प’

blog

बङ्गलाचुली गाउँपालिका–२ को मर्पेसडाँडामा क्लोज क्याम्पका रुपमा बस्दै आएका विद्यार्थीहरु । तस्बिर – लीलाधर वली

घोराही समाचारदाता

घोराही, कात्तिक २३ गते । गुरुकुल एकेडेमीमा कक्षा ९ मा अध्ययनरत घोराहीनिवासी यशु बुढाथोकीलाई ग्रामीण जीवनका बारेमा धेरै कुरा थाहा थिएन । बजार क्षेत्रमै जन्मिएर हुर्कंदै गर्नुभएकी बुढाथोकीलाई घरायसी काम गर्न पर्दैन थियो ।

घरमा खाना पकाउने, कपडा धुनेदेखि सरसफाइलगायतका काम बुवाआमाले गर्ने भएकाले उहाँलाई काम गर्न पर्दैन थियो तर हप्ता दिनयता बुढाथोकीले खाना पकाउन आवश्यक सामग्री दाउरा जुटाउनेदेखि पानी भर्ने, पकाउनेदेखि सरसफाइलगायतका काम आफै गर्दै आउनुभएको छ । आफू अध्ययनरत विद्यालय गुरुकुल एकेडेमीले बङ्गलाचुली गाउँपालिका–२ को मर्पेसडाँडामा सञ्चालन गरेको ‘क्लोज क्याम्प’ मा बसेर ग्रामीण जीवन र समाजलाई बुझ्नेदेखि दैनिक जीवनमा गर्नुपर्ने काम गरिरहेको उहाँले बताउनुभयो । 

आफूले अध्ययनरत विद्यालय गुरुकुल एकेडेमीले ‘क्लोज क्याम्प’ का रूपमा एक हप्ताअघि ल्याएर बसाएपछि ग्रामीण जीवन र समाजलाई बुझ्न पाएको उहाँले बताउनुभयो । घरमा काम नै नगरेको बेला ‘क्लोज क्याम्प’ मा बसाइका क्रममा काम गर्दै पढ्दा जीवन र समाजका बारेमा धेरै कुरा बुझ्न पाएको उहाँको भनाइ छ । 

जीवनमा आइपर्ने तर विद्यालयको कक्षाकोठाभित्र सिक्न नसकेका कुरा आफूले ‘क्लोज क्याम्प’ को सात दिनको बसाइका क्रममा सिकेको बताउनुभयो । 

‘क्लोज क्याम्प’ को बसाइले जीवनमा नौलो कुराको अनुभूति गराएको भन्दै कक्षा ९ मा अध्ययनरत विद्यार्थी सचिन भण्डारीले ‘क्लोज क्याम्प’ को बसाइले दुर्गम ग्रामीण क्षेत्रमा अन्य मानिस र आफू जस्ता विद्यार्थीले भोग्नुपर्ने समस्याका बारेमा बुझ्ने अवसर प्रदान गरेको बताउनुभयो । सहरको सम्पन्नताभन्दा टाढा रहेर अभावमा पनि कसरी बाँच्न सकिन्छ भन्ने कुरा सिकाएको उहाँले बताउनुभयो । 

‘क्लोज क्याम्प’ बसाइका क्रममा खाना बनाउनका लागि साथीसँग मिलेर दाउरा खोज्नेदेखि पानी ल्याउन जाने गर्दा समुदायमा कसरी मिलेर बस्नुपर्ने रहेछ र अप्ठ्यारो पर्दा गर्नुपर्ने सहयोगका बारेमा सिकाइ भएको उहाँले बताउनुभयो । जीवनमा बाँच्नका लागि गर्नुपर्ने सङ्घर्षका बारेमा ‘क्लोज क्याम्प’ ले सिकाएको उहाँले बताउनुभयो । 

व्यावहारिक शिक्षा दिने उद्देश्यले हरेक वर्ष ९ कक्षामा अध्ययनरत विद्यार्थीलाई पहाडी क्षेत्रको दुर्गम बस्तीमा लगेर राख्ने र उनीहरूलाई व्यावहारिक शिक्षाबारेमा सिकाइने गरेको गुरुकुल एकेडेमी तुलसीपुरका प्रिन्सिपल मुकुन्द गिरीले बताउनुभयो । प्रधानाध्यापक गिरीले विद्यार्थी नेपाली समाजको सामाजिक चित्रण गराउन बर्सेनि ‘क्लोज क्याम्प’ जस्ता समुदाय केन्द्रित कार्यक्रम गर्दै आएको बताउनुभयो ।