• ११ माघ २०८१, शुक्रबार

नारायणगढ–मुग्लिन सडकखण्डमा दुर्घटना चार जनाको मृत्यु

blog

नारायणगढ, कात्तिक २३ गते ।  भरतपुर महानगरपालिका वडा नम्बर २९ सत्र किलोमा शुक्रवार बिहान भएको  सडक दुर्घटनामा चार जनाको मृत्यु भएको छ । सत्र किलो स्थित नारायणगढ मुग्लिङ सडकमा करिब बिहान ३ बजे  मुग्लिङबाट  नारायणगढतर्फ आउँदै गरेको बा.प्र. ०६–००१ज ०२९८ नं.को  ईभि हायस र नारायणगढबाट मुग्लिङ तर्फ जाँदै गरेको बा.प्र. ०३–००१ ख २८१२ नं. को बस एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक भेषराज रिमालका अनुसार सो दुर्घटनामा परी मृत्यु हुनेमा हायसमा सवार यात्रुहरू रहेका छन् ।

हायसमा सवार  गोर्खा आरुघाट गाउँपालिका  वडा नम्बर १ मान्बु का  ४० वर्षीय राजबहादुर  गुरुङ, हायसमा सवार नाम थर वतन नखुलेकी करिब ४० बर्षकी महिला, हायसमा सवार नाम थर वतन नखुलेको करिब ३२ वर्षको पुरुष र हायसमा सवार नाम थर वतन नखुलेको करिब  ३५ वर्षको पुरुषको मृत्यु भएको  रिमालले बताउनुभयो । मृतक चारै जनाको टाउकोमा गम्भीर चोट लागेको छ ।  उनीहरूलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइए पनि चिकित्सकहरूले मृत घोषणा गरेका हुन् । 

यस्तै उक्त दुर्घटनामा परी घाइते भएका बसको सह चालक काठमाडौँ  महानगरपालिका वडा नम्बर  ३२ का  ३० वर्षीय भोज विक्रम शाहको भरतपुर अस्पतालमा उपचार भई रहेको छ । यस्तै नाम थर नखुलेका एक पुरुषको गम्भीर अवस्थामा चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ भने यस्तै नाम थर नखुलेका  ३८ वर्षीय पुरुष घाइतेको टाउकोमा  गम्भीर चोट लागेको छ ।  बसमा सवार उदयपुर कटारी नगरपालिका वडा नम्बर ९ निमपाटा बस्ने वर्ष २४ का श्याम कुमार कार्कीको  निधारमा चोट छ ।  बसमा सवार चितवन रत्ननगर नगरपालिका वडा नम्वर  १३ प्रगती टोल बस्ने वर्ष १९ को मो.साकिर मियाँको दाँया कानमा भित्री चोट छ । रत्ननगरकै वर्ष ३२ का साहेब मियाँको  दुवै खुट्टामा चोट छ ।  

दुर्घटनाग्रस्त बस र हायस अहिले दुर्घटना स्थलमै छन् भने बसका चालक मकवानपुर हेटौडा उपमहानगर पालिका वडा नम्बर  ९ बस्ने वर्ष ४४ का सुर्य विक्रम  बिस्टलाई प्रहरीले  नियन्त्रणमा  लिएको छ । 

पछिल्लो समय चितवनमा हरेक दिन जसो दुर्घटना भई रहेको छ । यो पछिल्लो दुर्घटना के कारणले भयो भन्ने बारेमा अध्ययन भइरहेको प्रहरीले जनाएको छ ।