• १ माघ २०८१, मङ्गलबार

विकलजयन्ती सम्पन्न

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ कात्तिक २१ गते । रमेश विकल साहित्य प्रतिष्ठानले ९६ औँ विकलजयन्ती मनाएको छ । कार्यक्रममा सङ्घीय सांसद सन्तोष चालिसेले विकलको साहित्यिक छत्रछायामा आफू मात्र नभएर यस भेगका थुप्रै मान्छेले सच्चरित्र निर्माण गरेको बताउनुभयो । पछिल्लो पुस्तालाई सत्मार्गमा लाग्न प्रोत्साहन गरिरहने आख्यानकार विकलको समाजसेवी व्यक्तित्वको पाटोबारे प्रकाश पार्दै उहाँले ४० को दशकमा काठमाडौँको उत्तर पूर्व भेगमा विकलको नेतृत्वमा भएका नाटक प्रदर्शनी र आफू पनि त्यसको पात्र भएको रोचक प्रसङ्ग पनि सुनाउनुभयो । 

गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख दीपक रिसालले आफ्नो कार्यकालभित्र विकलका सम्पूर्ण कृतिलाई एकत्र गरी संरक्षण गर्न सघाउने हेतुले यो वर्ष पनि रमेश विकल समग्र खण्ड अन्तर्गत उहाँका बालसाहित्यको प्रकाशनका लागि बजेट छुट्याइएको जानकारी दिनुभयो । 

कार्यक्रममा पूर्वराजदूत रमेशप्रसाद खनालले विकलको साहित्यिक तथा सामाजिक व्यक्तित्वबारे प्रकाश पार्दै जनस्तरबाट स्थापित रमेश विकल साहित्य प्रतिष्ठानलाई साहित्यिक धामका रूपमा चित्रित गर्नुभयो । पूर्वसचिव गोपी मैनालीले विकलका कृतिलाई विदेशी भाषामा अनुवाद गर्ने कार्यलाई जोड दिन आवश्यक रहेको बताउँदै भन्नुभयो, “सर्जक कृतिमा बाँच्दछ, पाठकको हृदयमा अमरत्व पाउँछ ।” प्रतिष्ठानका उपाध्यक्ष तथा ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति के के कर्माचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका कोषाध्यक्ष शाम्ब चालिसे साहित्यकार तथा विजय चालिसे, महेन्द्र चालिसेलगायतले विकलको कृतिमाथि चर्चा गर्नुभएको थियो ।