गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक १९ गते । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालले आफ्नो दिगो विकासका लक्ष्यहरु निर्धारण गर्नुपर्ने बताउनुभएको छ । नेपाल प्राकृतिक प्रकोपको उच्च जोखिममा भएको देश भएकाले दिगो विकास कसरी र के—केमा गर्ने भन्ने लक्ष्य पहिला नै निर्धारण गरी जनतालाई जानकारी गराउनुपर्ने उहाँको भनाइ छ ।
पूर्व राष्ट्रपति भण्डारीले यसअघि कस्तो खालको परिस्थिति थियो भन्ने कुराको मूल्याङ्कन गरी सय वर्षपछिका लागि हुनेगरी दिगो विकासका लक्ष्यहरु निर्धारण गर्नुपर्ने बताउनुभयो । उहाँले दिगो विकास गर्ने भइसकेपछि वन जङ्गल कति चाहिन्छ, सार्वजनिक जग्गा कति चाहिन्छ, सार्वजनिक बाटोका लागि कति ठाउँ चाहिन्छ, नदीनालाहरुका लागि कति ठाउँ चाहिन्छ ? भन्ने कुराको पहिला नै योजना बनाएर जनतालाई जानकारी दिनुपर्ने बताउनुभयो ।
पूर्व राष्ट्रपति भण्डारीले प्रकृति, संस्कृति र सम्पदालाई ध्यानमा राखेर मात्र विकास निर्माणका कामहरु अघि बढाउनुपर्ने बताउनुभयो । शहरीकरण कस्तो ठाउँमा गर्ने ? भन्ने कुरामा जनता र राज्यको ध्यानाकर्षण हुन आवश्यक रहेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘नेपाल खासगरी प्राकृतिक प्रकोपको उच्च जोखिममा भएको देशमा पर्छ । समय समयमा भूकम्प आइरहने भूकम्पको कारणले बस्तीहरु, बाटोघाटोहरु विभिन्न प्रकोपहरु पनि बढ्ने हुन्छ । त्यसले प्रत्यक्ष हानी नोक्सानी भनेको जनतालाई नै गर्छ । विश्व तापक्रम अत्यधिक बढेको र विश्व तापक्रम बढेको कारणले गर्दा विश्वलाई नै सङ्कटतर्फ धकेलिरहेको छ । जुन जलवायु अनुकूलन खालको वातावरण हुनुपर्ने हो, प्रकृति र मानव जगतको लागि त्यो नभएर अप्रत्याशित ढङ्गले चिसो हुने र अप्रत्याशित ढङ्गले गर्मी हुने, अप्रत्याशित पानी पर्ने, त्यो खालको स्थिति छ ।
यस वर्षको अग्रिम जलवायुको सूचना हेर्दा पनि यो हिउँद महिना पनि हाम्रो लागि त्यति सहज छैन भन्ने छ । हामीले हाम्रो देशको प्राकृतिक बनावट जुन छ, यहाँ हुने जुन खालका प्राकृतिक प्रकोपहरु छन्, त्यसबाट मानव जीवनलाई कसरी सुरक्षित गर्न सकिन्छ, जीवन रक्षा नै हाम्रो प्रथम दायित्व भएको हुँदा सुरक्षित बस्ती विकास गर्ने, कुनै पनि निर्माण कार्य गर्दा दिगो विकासको दृष्टिले र भविष्यमा निर्माण कार्यबाट हामीलाई सङ्कट पनि नआओस्, त्यो निर्माण कार्य सुरक्षित होस् भन्नेमा हेक्का राख्नुपर्छ उहाँले भन्नुभयो ।
पूर्व राष्ट्रपति भण्डारीले दिगो विकासका लक्ष्यहरु निर्धारण गर्दा सय वर्षअघि कस्तो खालको परिस्थिति थियो, कस्तो भूकम्प आएको थियो, कस्तो बाढी गएको थियो, कस्तो पहिरो गएको थियो, कस्तो महामारी फैलिएको थियो । हामी यो पुस्ताले सय वर्ष पछिसम्म थेग्नेगरी निर्माण कार्य गर्नुपर्छ भन्नुभयो । तत्काल कुनै घटना भयो भने उद्धार, राहतको लागि तत्काल व्यवस्था गर्ने संयन्त्र बनाउन उहाँले सरकारसँग आग्रह गर्नुभयो । ‘खासगरी मानव बस्ती शहरीकरण कस्तो ठाउँमा गर्ने ? भन्ने कुरामा जनताको पनि र राज्यको पनि ध्यानाकर्षण हुन आवश्यक छ’ उहाँले सुझाव दिनुभयो ।
पूर्व राष्ट्रपति भण्डारीले जलवायु अनुकूलन वातावरण हुनुपर्ने भए पनि अप्रत्याशित रुपमा जलवायुजन्य घटनाहरु बढिरहेको बताउनुभयो । नेपालका लागि जीवन रक्षा नै प्रथम दायित्व भएकाले सुरक्षित बस्ती विकास गर्ने, निर्माण कार्य गर्दा दिगो विकासको दृष्टिले र भविष्यमा निर्माण कार्यबाट सङ्कट नआओस् भन्ने ध्येयले काम गर्नुपर्ने बताउनुभयो । निर्माण कार्य सुरक्षित बनाई मानव जीवनलाई भयावह स्थितिबाट जोगिने खालको वातावरण निर्माण गर्न आवश्यक भएको उहाँको भनाइ छ ।
 
                                 
                                                 
                                                             
                                                                 
                                                                 
                                                            -square-thumb.jpg) 
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                