• १२ पुस २०८१, शुक्रबार

नेपाल संवतकाे अवसरमा शुभकामना र्‍याली

blog

शनिबार निकालिएको शुभकामना र्‍याली । तस्बिर : इमान सिं राना

इमान सिं राना

रामपुर (पाल्पा), कात्तिक १७ गते । नेपाल संवत् ११४५ को अवसरमा जिल्लाको रामपुरमा शुभकामना र्‍याली निकालिएको छ । नेवाः देय दबू रामपुर नगर समितिले नयाँ वर्ष नेपाल संवत् ११४५ को अवसरमा शनिबार र्‍याली निकालेर शुभकामना आदानप्रदान गरेको हो ।

रामपुर नगरपालिका–५, बेझाँड बजार चोकबाट सुरु भएको र्‍याली बेझाँड तल्लो चोक, सहकारी पथ, स्कुलरोड हुँदै पुन बेझाँड बजार चोकमा आएर सकिएको थियो । र्‍यालीपश्चात् नेपाल संवतका प्रवर्तक एवं राष्ट्रिय विभूति शंखधर साख्वाको तस्विरमा माल्यार्पणसँगै शुभकामना आदानप्रदान गरिएको थियो । निस्दी गाउँपालिकाका उपाध्यक्ष तीरन कुमारी श्रेष्ठले शुभकामना व्यक्त गर्दै नेपाली समाजमा शंखधर साख्वाले दिनुभएको योगदान सबैको प्रेरणाको स्रोत भएको बताउनुभयो । उहाँले आफ्नै देशको नामबाट सुरुवात भएको नेपाल संवतकाे आफ्नै महत्व रहेको उल्लेख गर्दै हाम्रो भाषा र संस्कृतिको संरक्षणमा सबैले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । 

नेपाल सरकारका पूर्व सहसचिव भीमप्रसाद श्रेष्ठले नेपाल संवतलाई नेवा समुदायको लागि मात्र नभै सबैको साझा भाषाको रुपमा लिनुपर्ने बताउनुभयो । उहाँले नयाँ पुस्तलाई समुदायमा रहेको कला र संस्कृतिसँग जोड्नु आवश्यक रहेको बताउनुभयो । रामपुर नेवाः समाजका अध्यक्ष  बाबुराम श्रेष्ठले नेपालीको आफ्नै संवत नेपाल् संवतलाई हामी सबैले गौरवको रुपमा लिनुपर्ने बताउनुभयो । नेवाः देय दबू रामपुरका अध्यक्ष रुद्रनारायण श्रेष्ठले समाज रामपुरका अध्यक्ष नेपाल संवतको महत्वबारे जानकारी दिन गत वर्षदेखि कार्यक्रम गर्दै आएको बताउनुभयो । उहाँले नेपाल भाषाको जगेर्ना गर्नका लागि प्रशिक्षकहरुलाई तालिम दिएर अब कक्षा सञ्चालन गर्ने तयारीमा रहेको जानकारी दिनुभयो ।