• २७ पुस २०८१, शनिबार

बजार अनुगमन नहुँदा ठगिँदै सर्वसाधारण

blog

सर्लाहीको लालबन्दी बजारमा तिहारको किनमेल गर्नेको भिड । तस्बिरः जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, कात्तिक १६ गते । सर्लाहीका विभिन्न बजारमा तिहारका सामग्रीको किनबेच बढेको भए पनि उच्च मूल्यले सर्वसाधारण ठगिएका छन् ।  

जिल्लाको लालबन्दी, हरिवन, बयलवास, बरहथवा, मलङ्गवा लगायतका प्रत्येक हाटबजारमा तिहारमा प्रयोग हुने सरसामग्रीको व्यापारमा वृद्धि भएको हो । भाइमसला, सप्तरङ्गी टीका, फलफूल, माला, तेल, खाद्यान्न, कपडालगायत किनमेल गर्नेको बजारमा भिड छ । 

यो वर्ष तिहारका बेला भाइमसलासहित अन्य सामग्री असाध्य महँगो रहेको सर्वसाधारणले गुनासो गरेका छन् । लालबन्दी नगरपालिका –१३, की गृहिणी दिलमाया थोकरले भाइमसलाको प्रत्येक सामग्रीमा गत वर्षको तुलनामा २० देखि ३० रुपियाँसम्म बढी मूल्य लिइएको गुनासो गर्नुभयो । 

लालबन्दी बजारमा किनमेलका लागि आउनुभएकी थोकरले चाडपर्वको मौका छोपेर पसलैपिच्छे मनपरी ढङ्गले मूल्य लिइएको बताउनुभयो । मुख्य पर्व तिहारमा बजारका प्रत्येकजसो सरसामग्री महँगो हुँदा न्यून आय भएका परिवार प्रभावित बनेका छन् । 

यसरी जथाभावी मूल्य लिइँदा बजार अनुगमन हुन सकेको छैन । व्यापारीले आफूखुसी मूल्य लिँदा ठगिएको गुनासो सर्वसाधारणले गरेका छन् । सधैं किनमेल गरिरहने सामग्रीको समेत तिहारको मौकामा अचाक्ली मूल्य बढाइएको गुनासो सर्वसाधारणको छ । तिहारका बेला भाँडावर्तनमा झनै मनपरी मूल्य लिइएको गुनासो  धेरैको छ । 

बजार अनुगमनको जिम्मेवारी पाएका स्थानीय तहले चाडपर्वका बेला आम नागरिक ठगिँदा समेत बजार अनुगमनमा कुनै चासो देखाएका छैनन् । लालबन्दी नगरपालिकाकी उपप्रमुख कल्पनामाया पाख्रिनले दशैँअघि सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा दुई पटक जिल्ला प्रशासन कार्यालयबाट खटिएको बजार अनुगमन टोलीमा पालिकाबाट प्रतिनिधि पठाएर बजार अनुगमन गरिएको बताउनुभयो ।

तिहारअघि पालिकाले नेतृत्व लिएर स्थानीय प्रशासन, उद्योग वाणिज्य सङ्घलगायत निकायसँग समन्वय गरी बजार अनुगमनको तयारी गरे पनि विविधि कारणले अनुगमन गर्न नसकिएको स्वीकार गर्नुभयो । जिल्ला प्रशासन कार्यालय सर्लाहीले दशैँअघि स्थानीय तह, उद्योग वाणिज्य सङ्घलगायत निकायसँग समन्वय गरी मलङ्गवा, लालबन्दी, हरिवनलगायत स्थनमा बजार अनुगमन गरेको जनाएको छ ।