• ७ पुस २०८१, आइतबार

महिला फुटबलमा दर्शकको ‘क्रेज’

blog

काठमाडौँ, कात्तिक १५ गते । खेलकुदमा दर्शकलाई १२ औँ खेलाडी भनिन्छ । घरेलु दर्शकको ऊर्जामा सानो टिमले पनि ठुला टिमलाई हराएको थुप्रै उदाहरण छन् । नेपाली दर्शक बुधबार आफ्नो टिमलाई पहिलो पटक साफ च्याम्पियन बनाउन दशरथ रङ्गशालामा तीन, चार घण्टाअघि नै ओइरिसकेका थिए । साँझ ६:३० मा सुरु हुने खेलका लागि ४ नबज्दै दशरथ रङ्गशाला खचाखच भरिसकेको थियो । 

दशरथ रङ्गशालाभित्र ३ बजे नै पुग्नुभएका विवेक लामाले भन्नुभयो, “आज त मेरो व्रतजस्तै भयो, बिहान लाइन बसेर बल्लबल्ल टिकट पाएँ । दिउँसो ३ बजे नै आएँ । अहिलेसम्म पानी पनि पिएको छैन ।” नेपालको हारले मेरो भोक प्यास व्यर्थ गयो उहाँले भन्नुभयो । 

यसपालि घरेलु दर्शकलाई रङ्गशालासम्म पुग्न सहज भएन । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले अन्तिम समयमा आएर फाइनलको टिकट आफैँले बिक्री गर्ने निर्णय गरेपछि दर्शकले फाइनल हेर्न ठुलो सास्ती खेप्नुप¥यो । अहिलेको डिजिटल युगमा एन्फाले अन्तिम समयमा आएर भौतिक रूपमा टिकट बिक्री गर्ने अपरिपक्व निर्णय गरेको थियो । एन्फाले माउन्ट एभरेष्ट स्पोटर्स एन्ड इभेन्ट्स प्रालिलाई टिकट बिक्री गर्ने सम्झौता गरेको थियो तर सेमिफाइनलमा तोकिएकोभन्दा अत्यधिक टिकट बिक्री गरेकाले एन्फाले उक्त सम्झौता रद्द गरेको हो ।

नेपाली दर्शक टिकट पाउने आशामा बिहान ४ बजेदेखि लाइनमा बसेका थिए । एन्फाले जावलाखेल खेलमैदान, सातदोबाटोस्थित एन्फा कम्प्लेक्स र भद्रकालीस्थित आर्मी हेड क्वाटरको गेटबाहिर बुधबार बिहान ८ बजेदेखि भौतिक रूपमा टिकट बिक्री ग¥यो । १५ हजार चार सय क्षमता भएको दशरथ रङ्गशालामा बुधबारको खेल हेर्न भाग्यमानी १५ हजार ३७३ दर्शकले मात्र प्रवेश पाए । हजारौँ दर्शक लाइनमै बसेर पनि टिकट नपाएर निराश बने । 

साफ महिला फुटबल हेर्नका लागि सुचन मुस्यान बिहान ६ बजे जावलाखेल पुग्नुभयो । तर घण्टौँ लाइनमा बसेर पनि टिकट नपाएपछि उहाँ निराश भएर फर्किनुभयो । उहाँले भन्नुभयो, “लाइनमा बसेँ, मेरो पालो आउन लागेको बेलामा टिकट सकियो भनियो । अब घरमा बसेर हेर्नुबाहेक अरू केही उपाय छैन ।” 

फुटबलप्रेमी सुनीता अमात्य बिहान ४ बजे नै टिकट खरिद गर्न भद्रकाली पुगेर लाइनमा बस्नुभयो । उहाँले महिलालाई समर्थन गर्नुपर्नेे र आफूलाई पनि सानैदेखि फुटबल खेल्न रुचि भएकाले बिहानै पुगेको बताउनुभयो । अहिलेको डिजिटल युगमा अनलाइन टिकट बिक्री नगरी भौतिक रूपमा टिकट काउन्टरमा आएर खरिद गर्नुपर्ने बाध्यताले एन्फाको व्यवस्थापन कमजोर छ भन्ने प्रस्ट हुन्छ । जमाना कहाँबाट कहाँ पुगिसक्यो, हामी भने अहिले पनि ढुङ्गेयुगमा छौँ, उहाँले गुनासो गर्नुभयो । 

खेलअघि भद्रकालीस्थित आर्मी हेड क्वाटरमा प्रहरीले टिकट लिन नसक्नेलाई नजिकै टुँडिखेलमा ठुलो पर्दामा हेर्न अनुरोध गरिरहेका थिए । दशरथ रङ्गशालामा प्रत्यक्ष उपस्थित हुन नसकेकालाई काठमाडौँ महानगरपालिकाले तीन स्थान टुँडिखेल, चाबहिल फुटबल ग्राउन्ड र सानो गौचरन (हाँडीगाउँ) मा ठुलो पर्दामा दर्शकलाई खेल हेर्ने व्यवस्था मिलाएको थियो ।