• २० कात्तिक २०८१, मङ्गलबार

समयमै डेंगुको उपचार गराए जोखिम र मृत्युदर कम हुन्छ

blog

इडिसिडीको किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहाल ।

काठमाडौँ, कात्तिक १३ गते । पछिल्लो समय डेंगु सङ्क्रमण बढ्दै गएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) को तथ्याङ्क अनुसार हुम्लाबाहेक ७६ जिल्लाबाट २८ हजार २१२ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । गत पुस महिनायता  डेंगु सङ्क्रमणले  १२ जनाको मृत्यु भएको छ । जाडो बढे पनि डेंगु सङ्क्रमण नघटेपछि सरकारले 'पुनः खोज र नष्ट गर' अभियान देशव्यापी रूपमा सञ्चालन गर्न अपिल गरेको छ ।

नेपालमा डेंगुको अवस्था कस्तो छ ?

यो वर्ष डेंगु सङ्क्रमणको अवस्था हामीले सोचेको जस्तो छैन । अघिल्ला वर्षमा तथ्याङ्क हेर्ने हो भने कात्तिक महिनाको अन्तसम्म डेंगु सङ्क्रमण हुने क्रम कम भइसक्नुपर्ने थियो । तर यो वर्ष  हालसम्म पनि डेंगुका बिरामी विभिन्न ठाउँबाट रिपोर्ट भइरहेका छन् । डेंगुका बिरामी जनवरीदेखि हालसम्म बढ्दै गएको छ । डेंगुको अहिलेसम्मको तथ्याङ्क र हाम्रो अनुभवलाई आधार मान्ने हो भने मनसुन सुरु हुनुभन्दा केही समय अगाडि र मनसुन सकिएको दुई महिना पछिसम्म पनि डेंगुका बिरामी पुष्टि हुने क्रम बढी नै देखिन्छ । त्यसपछि बिस्तारै कम हुँदै जान्छ । यो वर्ष जेठ महिनादेखि बिरामी पुष्टि भएका थिए भने कात्तिक महिनासम्म पनि जुन गतिमा घट्नुपर्ने हो घट्न सकेका छैनन् । कात्तिक महिना र केही पछाडिसम्म डेंगुको सङ्क्रमणको जोखिम कायम नै रहने अनुमान छ ।

कुन जिल्लामा बढी छ ?

नेपालमा हुम्ला बाहेक ७६ जिल्ला डेंगु सङ्क्रमण पुष्टि भइसकेको छ । डेंगु सङ्क्रमित जनवरीदेखि हालसम्म २७ हजारभन्दा बढीमा पुष्टि भएको छ । अहिलेसम्म डेंगुको कारणले १२ जना सङ्क्रमितको मृत्यु भइसकेको छ । हाल डेंगु सङ्क्रमण गण्डकी प्रदेशमा हटस्पटका रूपमा देखापरेको छ । गण्डकी प्रदेशका केही जिल्ला जस्तै कास्की, तनहुँ, गोरखा, पर्वतबाट बढी सङ्क्रमित पुष्टि भएका छन् । त्यसैगरी, बाग्मती प्रदेशको काठमाडौँ र ललितपुरमा डेंगुका बिरामी बढ्दै गएका छन् । 

नेपालमा कुन क्षेत्र बढी डेंगुको जोखिममा छ ?

नेपालमा डेंगु सङ्क्रमण विभिन्न वर्षमा फरकफरक जिल्लामा पुष्टि हुँदै आएको छ ।  दुई वर्ष अगाडि डेंगुले काठमाडौँ उपत्यकालाई हटस्पट बनाएको थियो । गत वर्ष सुनसरी जिल्ला बढी प्रभावित बनेको थियो । यो वर्ष गण्डकीको कास्की, तनहुँमा बढी सङ्क्रमित पुष्टि भएका छन् । डेंगु लगातार एउटै समयमा, एउटै ठाउँमा एउटै जिल्लामा नदेखिने दुई तीन वर्षको अन्तरालमा मात्र पुनः त्यो ठाउँमा देखिने क्रम बढ्दो छ । 

डेंगु तराईमा कम देखिनुको कारण ? 

तुलनात्मक रूपमा तराईका जिल्लाहरू किटजन्य रोगको प्रकोप बढी देखिन्छ । तर पछिल्लो समय तराई बाहेक पहाड र केही हिमाली जिल्लामा डेंगु लगायत अन्य किट जन्य रोगको सङ्क्रमण पुष्टि भइरहेको छ । यो वर्ष पनि तराईका जिल्लामा डेंगु सङ्क्रमण पुष्टि कम भएको छ । पछिल्लो समय हिमाली जिल्ला र पहाडी जिल्लामा डेंगुका बिरामी बढ्नुको कारण डेंगु सार्ने लामखुट्टेले आफ्नो आनीबानीमा परिवर्तन गर्नु, डेंगु सार्ने लामखुट्टेले जुनसुकै वातावरणमा बाच्न सक्ने भएको भएको छ । मानिसहरूको आवतजावत बढ्दै गएको लामखुट्टे पनि सरसामानको माध्यमबाट एक ठाउँबाट अर्को ठाउँमा आवतजावत गर्ने । एक ठाउँमा सङ्क्रमित भएका मानिस अर्को ठाउँमा जाँदा त्यहाँका लामखुट्टे टोकेर लामखुट्टे सङ्क्रमित हुने र अन्य मानिसलाई रोग सार्ने भएकाले विभिन्न जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ । डेंगु पहिचान गर्ने किट र प्रयोगशाला सहजै उपलब्ध भएकाले सबै जिल्लामा डेंगु सङ्क्रमण बढ्दै गएको छ। 

 हटस्पटमा डेंगु नियन्त्रण गर्न के गर्ने ?

यो वर्ष मात्र होइन आगमी धेरै वर्ष डेंगुसँग लड्नुपर्ने अवस्था छ नेपालमा । पहिले पहिले डेंगु हरेक वर्ष देखिदैन थियो । विगत तीन वर्षयता प्रत्येक वर्ष डेंगुका बिरामी पुष्टि भइरहेका छन् । 

त्यही कारणले गर्दा महाशाखाले १२ महिनामा कुन महिनामा के काम गर्ने, कसरी गर्ने, सङ्घीय प्रदेश र स्थानीय तहमा कसको भूमिका के रहने त्योसँग सम्बन्धित रहेर डेंगु रोकथाम र नियन्त्रणको कार्ययोजना बनाएको छौँ । कार्यायोजना अनुसार त्यसलाई  कार्यान्वयन गर्न तीनै तहको सरकारका लागि रहेका छौँ ।  त्यो अनुसार हाम्रा क्रियाकलाप सञ्चालन भएका छन् । 

 डेंगु रोगथाम र नियन्त्रण गर्न के गर्ने ?

 डेंगु रोकथाम र नियन्त्रण गर्न जति बेलासम्म डेंगु सार्ने लामखुट्टेको घनत्वलाई नियन्त्रण गर्न सकिँदैन त्यति बेलासम्म डेंगु रोग नियन्त्रण गर्न चुनौती छ । डेंगु सार्ने लामखुट्टेको आनीबानीको आधारमा लामखुट्टेको वासस्थान, सजिलै सन्तान उत्पादन गर्ने प्रजनन स्थललाई खोज्ने नष्ट गर्न राज्यले खोज तथा नष्ट गर अभियान सञ्चालन गरिरहेको छ । 

डेंगु सार्ने लामखुट्टेको खोज तथा नष्ट गर अभियान संसारको सबैभन्दा प्रभावकारी विधि  मानिएको छ। यो अभियान राज्यका सबै क्षेत्रमा स्थानीय प्रदेश र सङ्घीय सबै तहमा यसलाई अभियानका रूपमा सञ्चालन गरिएको छ । यो अभियानका कारणले धेरै ठाउँमा डेंगु सङ्क्रमण कम भएको छ । विगतका वर्षमा भन्दा यो वर्ष तुलनात्मक रूपमा कम डेंगु सङ्क्रमण पुष्टि भएको छ ।  यो अभियान चारदेखि पाँच महिना हप्तामा एक पटक  आफ्नो घर, छिमेक, समुदाय, टोल, कार्यालयमा सबै मिलेर गर्न सकेमा डेंगु सङ्क्रमण गर्ने डेंगु सार्ने लामखुट्टेको घनत्व घट्छ । त्यो कम भयो भने डेंगु रोग कम हुन्छ । 

डेंगुको कारणले हुने मृत्युलाई कसरी शून्यमा झार्न सकिन्छ भन्ने रणनीतिमा लागिरहेका छौँ । डेंगुबाट हुने मृत्युदर कम गर्ने वा शून्यमा झार्ने, डेंगु सङ्क्रमणदरलाई घटाउने उद्देश्यले काम गरिरहेका छौँ । 

डेंगु पहिचान गर्न विभिन्न माध्यम छन् । प्रयोगशालाको पूर्वाधार नभएको ठाउँमा किटको प्रयोग गरिन्छ । ग्रामीण बस्ती, ग्रामीण स्वास्थ्य संस्थामा डेंगु किट आवश्यक पर्छ। महामारीको समयमा माग गरेजति डेंगु किट नभए पनि सङ्घीय प्रदेश, डेंगु निदान किट खरिद गरिरहेका छौँ । तत्कालका लागि डेंगु किट अभाव छैन । 

 डेंगुबाट बच्न के गर्ने ?

 डेंगुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ । त्यसको लागि घर वरिपरि हिँड्दा वा बाहिर निस्कँदा शरीर ढाक्ने कपडा लगाउने, घरमा सुत्दा झुलको प्रयोग गर्ने गर्नुपर्छ । घरमा जालीको प्रयोग गरेर लामखुट्टेको टोकाइबाट बच्न सकिन्छ । डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने गर्छ । घर वरिपरि पानी जम्न नदिने, अनावश्यक रूपमा जमेका पानी सफा गर्ने, गमलामा राखेको पानी, प्रयोग गर्न राखिएका पानी डेंगु सर्ने लामखुट्टेको वृद्धि र विकास हुने भएकाले कम्तीमा  हप्तामा एक दिन सफा गर्नुपर्छ । भाँडोमा राखेको पानी सकेसम्म एक हप्ताभित्र प्रयोग गरिसकौँ,  एक हप्ताभित्र प्रयोग गर्न नसकिने भयाे भने छोपेर राख्ने बानी बसालौँ । हामी सबै सचेत भयौ भने मात्र डेंगु सार्ने लामखुट्टेको वृद्धि विकास हुँदैन । अहिले पनि डेंगु सार्ने लामखुट्टेको समय चक्र भएकाले सचेत बन्नुपर्छ । 

जाडाे सुरु भइसक्दा पनि डेंगुको सङ्क्रमण किन बढ्दै गएको छ भन्ने विषयमा केन्द्रित भएर इडिसिडीको किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालसँग गोरखापत्र अनलाइनका लागि सिर्जना खत्री र केशब गुरुङले तयार पारेको भिडियो संवाद : 

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।