• ७ मंसिर २०८१, शुक्रबार

तिहारअगावै रित्तिँदै बस्ती

blog

दसैँ सकिएसँगै कामको खोजीमा भारत जान थालेका बाजुराका स्थानीय । तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्की

बाजुरा, कात्तिक ९ गते । बाजुरामा दसैँ सकिएसँगै यहाँका अधिकांश गाउँबस्ती पनि खाली हुन थालेका छन् । दसैँ मनाउन गाउँ आएका सबै दसैँ सकिएसँगै धमाधम कामको खोजीमा भारत जान थालेपछि यहाँका गाउँबस्ती खाली हुन थालेका हुन् । दसैँ मनाउन गाउँमा आएको र अहिले दसैँ मनाएर फेरि कामको खोजीमा भारत नै जान लागेको बुढीगङ्गा नगरपालिका–२, बजेडीका गोकुल लुहारले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामी नेपालीका लागि जस्तो दसैँ थियो, उस्तै दीपावली पनि हो तर के गर्ने गाउँमै बसेर पेट पालिँदैन । यहाँ केही गरौँ भन्न्ने सोच त आउँथ्यो । आफूसँग न धन छ न त केही गर्ने अन्य उपाय छ ।” यहाँ असोजको पहिलो हप्तादेखि अन्तिमसम्म गाउँ आउनेको निकै लहर थियो । गत बर्खाका दिन खाली भएका यहाँका गाउँबस्ती त्यतिबेला निकै भरिभराउ भएका थिए तर सबै परदेशी फेरि कामको खोजीमा भारत जान थालेपछि ती गाउँबस्ती तिहार आउनुअगावै खाली हुन थालेका छन् ।

असोजको पहिलो सातादेखि बाजुरा फर्किनेको सङ्ख्या निकै बढेको थियो भने यतिबेला बाहिरिनेको सङ्ख्या त्योभन्दा बढी छ । यहाँका मार्तडी, तिपाडा, बल्दे, बाम्का, बेतालमाण्डौँ, रिठा, मालिका र डाब बजारका बस काउन्टरमा यतिबेला भारतमा जानका लागि टिकट लिनेको निकै भिड हुने गरेको छ । अहिले प्रत्येक दिनमा बाजुरादेखि भारतमा जानेको निकै भिडभाड हुने गरेको बाम्का संयुक्त टिकट काउन्टरका जनक बुढाले बताउनुभयो । बाजुरादेखि अहिले पाँच वटा बस दैनिक भरिएर तल जाने गरेका छन् । यसमा झन्डै दुई सय जनाभन्दा बढीको हाराहारीमा यात्रु हुन्छन् । तीमध्ये सबैभन्दा बढी भारतमा जाने यात्रु रहेको बुढाले बताउनुभयो । 

 यहाँका हिमाली, जगन्नाथ, स्वामीकार्तिक, बडीमालिका, गौमूल, बुढीगङ्गा, त्रिवेणी र खप्तड छेडेदह गाउँपालिकालगायतका स्थानीय भोको पेट पाल्नकै लागि कामको खोजीमा बर्सेनि भारतमा जाने गर्छन् । असारको महिना खेती लगाउन आउने र त्यसपछि भारत जाने र फेरि दसैँतिहारको बेला घरमा आउने चलन पहिलेदेखि अहिलेसम्म उस्तै छ । बाजुरादेखि बाहिरिनेमध्येमा करिब पाँच प्रतिशत जति खाडी मुलुकमा जाने गरेको भए पनि ९५ प्रतिशत भने रोजगारी गर्नका लागि भारतमा जाने गरेका छन् । 

पछिल्लो सयम बाजुराका नौ वटै स्थानीय तहमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम सञ्चालनमा छन् । यो कार्यक्रमले यहाँका अधिकांश बेरोजगारलाई गाउँमै रोजगारी दिने गरेको स्थानीय सरकारका स्वरोजगार संयोजक बताउँछन् । यहाँका १८ वर्षदेखि ५९ वर्षका झन्डै पाँच सय युवकयुवतीले बर्सेनि गाउँमै रोजगारी पाउने गरेको जगन्नाथ गाउँपालिकाका रोजगार संयोजक लक्षमण जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिला यहाँ प्रधानमन्त्री स्वरोजगारी कार्यक्रम मात्र सञ्चालन थियो । २०६७ देखि गाउँमा भएका बेरोजगार युवालाई रोजगारी दिने गरी स्थानीय सरकारले अध्यक्ष रोजगार कार्यक्रम सञ्चालन गरेको छ ।”

यी कार्यक्रमले यहाँका सबै बेरोजगारलाई गाउँमै रोजगारी दिन नसके पनि एक वर्षेमा झन्डै पाँच सयभन्दा बढीले गाउँमै रोजगारी पाएको संयोजक जोशीले बताउनुभयो । प्रधानमन्त्री स्वरोजगारमा काम पाएकाले एक जनाले एक वर्षमा झन्डै ६६ हजार छ सय रुपियाँ पाउने गर्दछन् । यो पैसाले यहाँका स्थानीयलाई घर धान्न निकै सहज बनाएको जोशीले बताउनुभयो ।