• २५ पुस २०८१, बिहिबार

माथिल्लो तमोर जलविद्युत् आयोजना सुरु

blog

ताप्लेजुङ समाचारदाता

ताप्लेजुङ, कात्तिक ९ गते । ताप्लेजुङमा तमोर इनर्जी प्रालिले माथिल्लो तमोर जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । तमोर नदीको पानी उपयोग गरी प्रालिले २८५ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गर्ने भएको हो । यसको आयोजना स्थल फक्ताङ्लुङ गाउँपालिकामा पर्दछ । फक्ताङ्लुङ गाउँपालिका–५, तापेथोकमा आयोजनाको बाँध (मुहान) रहने छ । सोही गाउँपालिका–३, लिङ्खिमको ठौवामा विद्युत्गृह रहने गरी आयोजना निर्माण हुने भएसँगै काम नै प्रारम्भ भइसकेको तमोर इनर्जी प्रालिका अध्यक्ष पुष्पज्योति ढुङ्गानाले बताउनुभयो ।

अध्यक्ष ढुङ्गानाका अनुसार आयोजनाका लागि प्रयोग हुने व्यक्तिगत स्वामित्वमा रहेको जग्गा खरिद गरिसकेको छ । उहाँले जग्गा खरिद गरिसकेपछि आयोजना स्थलमा हालसम्म शिविर (आवास) का संरचना निर्माण गरिएको पनि जानकारी दिनुभयो । यस्तै सडक निर्माणको काम भइरहेको ढुङ्गानाको भनाइ छ । 

उहाँका अनुसार आयोजनाको तापेथोक बगरमा रहने बाँध स्थलदेखि विद्युत्गृह ठौवासम्म ८.३७० किलोमिटर लामो सुरुङ हुने छ । विद्युत्गृह भूमिगत हुने उहाँले जानकारी दिनुभयो । आयोजना निर्माणपछि उत्पादन हुने विद्युत् करिब १५ किलोमिटर टाढा रहेको मैवाखोला गाउँपालिका–१, ढुङ्गेसाँघु सबस्टेसनमा जडान गरिने छ । नेपाल विद्युत् प्राधिकरणको उक्त ढुङ्गेसाँघु सबस्टेसनमार्फत कोशी कोरिडोर हुँदै राष्ट्रिय प्रसारण लाइनमा विद्युत् जडान हुने प्रवर्धक कम्पनीका अध्यक्ष ढुङ्गानाले जानकारी दिनुभयो ।  

तमोर इनर्जी प्रालिका अनुसार आयोजना निर्माण गर्न कुल ५५ अर्ब १५ करोड रुपियाँ लगानी हुने अनुमान गरिएको छ । कुल लागतको करिब ३० प्रतिशत रकम प्रवर्धक कम्पनीको आन्तरिक लगानी हुने र ७० प्रतिशत विभिन्न बैङ्क तथा वित्तीय संस्थाको हुने कम्पनीले जनाएको छ । आयोजना सम्पन्न भई सञ्चालनमा आएपछि नौ अर्ब २७ करोड रुपियाँ प्रतिवर्ष आम्दानी हुने छ । त्यसपछि क्रमशः तीन प्रतिशतसम्म वृद्धि हुँदै आयोजनाबाट ११ अर्ब ५० करोड रुपियाँ वार्षिक आम्दानी हुने अनुमान गरिएको प्रालिले जनाएको छ ।

प्रवर्धक कम्पनीले स्थानीय सरोकारवालासँग सदरमुकाम फुङ्लिङमा जिल्लास्तरीय अन्तर्क्रिया गर्दै आयोजना निर्माण गर्दा आयोजनाका तर्फबाट निर्वाह गर्नुपर्ने जिम्मेवारीमा कुनै कमी हुन नदिने प्रतिबद्धता गरेको छ । आयोजनाको काममा स्थानीयलाई रोजगारी दिने विषय, सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजनाले बेहोर्नुपर्ने करिब ३२ करोड रुपियाँ हुने र सो रकम तलमाथि नगरी कार्यान्वयन गर्ने कम्पनीले जनाएको छ ।

प्रवर्धक कम्पनीका अध्यक्ष ढुङ्गानाले सामाजिक उत्तरदायित्वको रकम दूरगामी प्रभाव राख्ने योजनामा खर्च गर्ने गरी स्थानीयसँग परामर्श गर्ने बताउनुभयो । सामाजिक उत्तरदायित्व रकमको ५० प्रतिशत शिक्षा क्षेत्र र बाँकी रकम अन्य आवश्यकतामा खर्च गर्न आफ्नो प्रस्ताव रहेको पनि उहाँले बताउनुभयो । प्रस्ताव पारित भएमा शिक्षा क्षेत्रमा एक नमुना हुने गरी भवनलगायतका संरचना निर्माण गरिदिने उहाँको भनाइ छ ।

यता स्थानीय सरोकारवालाका तर्फबाट प्रतिनिधि सभा सदस्य योगेशकुमार भट्टराईले २८५ मेगावाट क्षमताको जलविद्युत् आयोजना ताप्लेजुङमा निर्माण हुन लाग्नु खुसीको विषय भएको बताउनुभयो । पूर्वमन्त्रीसमेत रहनुभएका भट्टराईले संविधान, ऐन, नियम र कानुनमा भएको व्यवस्था कार्यान्वयन गरी आयोजना निर्माण गर्न सुझाव दिनुभयो । निर्बाध रूपमा आयोजना निर्माण गर्ने वातावरणका लागि जनप्रतिनिधिसमेतको हैसियतले आफूले सहयोग गर्ने पनि बताउनुभयो ।

यस्तै प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलको नेतृत्व, सामाजिक सङ्घ संस्थाका प्रतिनिधिलगायतले पनि स्थानीयको आवश्यक मागलाई सम्बोधन गरेर निर्माणको काम गर्न सुझाव दिएका छन् । आयोजनाप्रति रहेका सामान्य विवाद तथा अवरोध छलफल र संवादका माध्यमबाट समाधान गर्नुपर्ने र आवश्यक समन्वयका लागि सहयोग गर्नेसमेत स्थानीयको भनाइ थियो ।    

प्रवर्धक कम्पनीका अध्यक्ष ढुङ्गानाले आयोजना निर्माण गर्न २०६४ सालदेखि प्रक्रिया सुरु गरेको र सबै प्रक्रिया पूरा गरेर लामो समयपछि निर्माणको चरणमा आइपुगेकाले सहयोग स्थानीयलाई आग्रह गर्नुभयो । कम्पनीका तर्फबाट प्रावधान र प्रतिबद्धता कार्यान्वयनमा प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।