• १० कात्तिक २०८१, शनिबार

बेलबारी गोल्डकपको सेमिफाइनल समीकरण पूरा

blog

बल खोस्ने प्रयास गर्दै खेलाडी । तस्बिर : गोरखापत्र

हरिप्रसाद कोइराला 

उर्लाबारी, कात्तिक ८ गते । भारत पश्चिम बङ्गालको दलसिंहपारा फुटबल एकेडेमीलाई ३–२ गोलले हराउँदै सलहेस फुटबल क्लब सिराहा अन्तर्राष्ट्रिय आमन्त्रण सातौँ आरजु राइस बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । 

सलहेस क्लबका जितसँगै बेलबारी गोल्डकपको सेमिफाइनल समीकरण पुरा भएको छ । सहलेस फुटबल क्लबले कात्तिक ९ गते चित्लाङ फुटबल क्लबसँग दोस्रो सेमिफाइनलमा  प्रतिस्पर्धा गर्नेछ ।

सहलेस फुटबल क्लबका अजयी मार्टिनले चौथो मिनेटमा गोल गर्नुभयो । समीर तामाङले दिएको पासलाई मार्टिनले गोल गर्नु भएको हो। लगत्तै आठौँ मिनेटमा मार्टिनको पासमा समीर तामाङले गोल गर्दै अग्रता दोब्बर बनाउनुभयो  । 

यु–२० राष्ट्रिय टिमका खेलाडी समीर तामाङले २६औँ मिनेटमा सहलेसको जितका लागि वान भर्सेस वानका उत्कृष्ट गोल गर्नु भयो र अग्रता तेब्बर बनाउनुभयो । दलसिंहपारा फुटबल एकेडेमीले मध्यान्तर अघिको अतिरिक्त समयमा एक गोल फर्कायो । 

दलसिंहपाराका लागि रोहन थापाले गोल गर्नुभयो । मध्यान्तर अघि ३–१ गोलको अग्रता बनाएको सलहे विरुद्ध भारतीय टिमले ४६औँ मिनेटमा सुन्दर गोल गर्दै गोल अन्तर घटायो । दोस्रो गोल पनि रोहन थापाले गर्नुभयो । दुई गोल गरेर खेलमा फर्किएको भारतीय टिमले मध्यान्तर पछि उत्कृष्ट खेल खेलेपनि हार टार्न सकेनन् ।

सलहेसका समीर तामाङ  म्यान अफ दि म्याच घोषित भए । तामाङलाई प्रदेश खेलकुद विकास समिति कोशी प्रदेशका सदस्य सचिव कृष्ण बस्नेतले पाँच हजार सहित ट्रफि प्रदान गर्नुभयो । पहिलो सेमिफाइनलमा झापा-११ ले बुटवल लुम्बिनी फुटबल क्लब रुपन्देहीसँग प्रतिस्पर्धा गर्नेछ ।