• ८ मंसिर २०८१, शनिबार

फोहोरमा कवाडी खोजेर मोहोर जोड्दै

blog

हरिप्रसाद कोइराला 

उर्लाबारी, कात्तिक ८ गते । मोरङको सुन्दरहरैँचा–१० का ३४ वर्षीय दिनेश तामाङ र उहाँकी पत्नी सम्झना तामाङले फोहोरमा कवाडी सामान खोजेर घर चलाउन थालेको छ वर्ष भयो । 

फोहोरमा कवाडी सामान खोजेर घर चलाउनु सामान्य मानिँदैन । त्यसै पनि कवाडी सङ्कलनमा पहाडे समुदायको उपस्थिति छैन । अझ फोहोरको डङ्गुरमा पेय पदार्थका आल्मुनियम र फलामका बट्टा, तार, फलाम र विभिन्न रेडिमेड सामान जलाएर त्यसभित्र रहेका फलामका साना साना टुव्रmा सङ्कलन गर्ने काम कम जोखिमपूर्ण छैन तर पनि उहाँहरू  फोहोरको डङ्गुरमा नै कवाडी सामग्री खोजी गर्दै आउनुभएको छ । सङ्कलन गरिएका कवाडी बेचेर नै आफ्ना दुई छोराछोरी र आमासहितको परिवार धान्दै आउनुभएको छ ।  दिनेश भन्नुहुन्छ,  “बिहानदेखि दुवै जना खटिँदा दैनिक आठ सयदेखि एक हजार तीन सय रुपियाँसम्मको कवाडी सामान सङ्कलन हुन्छ ।” उहाँहरूले त्यस्तो सामान विराटचोक पु-याएर बिक्री गर्ने गर्नुहुन्छ । 

बुधबार बिहान लेटाङको फोहोर फाल्ने डम्पिङ साइटमा भेटिएका दिनेशले भन्नुभयो, “फलाम प्रतिकिलो ३५ रुपियाँ, टिन (जस्ता) प्रतिकिलो २० रुपियाँ र आल्मुनियम प्रतिकिलो ५० रुपियाँमा बिक्री हुन्छ ।” उहाँहरू लेटाङबाहेक बेलबारी, सुन्दरहरैँचा, पथरीशनिश्चरे र कानेपोखरीको डम्पिङ साइटमा पनि फलाम, जस्ता र आल्मुनियम खोज्न जाने गर्नुहुन्छ । 

दिनेश तामाङ मात्र होइन, रक्सना खातुन र अप्सना खातुन पनि विगत ११ वर्षयता फोहोरमा खोजेको सामग्री बिक्री गरेर मोहोर साटिरहनु भएको छ । कहिले पथरी त कहिले केराबारीको डम्पिङ साइट पुग्ने रक्सनालाई श्रीमान्ले छाडेपछि घर चलाउन गाह्रो भयो । छ जना सन्तानकी आमा रक्सनाले भन्नुभयो, “दिनको सात सय रुपियाँ कमाइ हुन्छ । रक्सनालाई  अप्सनाले कवाडी सङ्कलनमा जोड्नुभएको हो । उहाँहरू दुवै जनाको घर सुन्दरहरँैचा–१० मा पर्छ ।” रक्सनाले भन्नुभयो, “हरेक डम्पिङ साइटमा कसले के सङ्कलन गर्ने तय भएको हुन्छ । हामी यहाँ प्लास्टिकजन्य फोहोर खोज्छौँ । फलाम दिनेशले सङ्कलन गर्नुहुन्छ ।”

हरेक डम्पिङ साइटमा उहाँहरूको जिम्मेवारी अलग अलग छ । कोही सिसाजन्य फोहोर मात्र सङ्कलन गर्छन् । कोही फलामजन्य त कोही प्लास्टिकजन्य मात्र फोहोर सङ्कलन गर्छन् जसले गर्दा सङ्कलकबिच झगडा हुँदैन । 

फोहोरमा बियर र पेय पदार्थका बोतल सङ्कलन गरिरहेका सुन्दरहरैँचा–१० का अब्दुल मोहमदले भन्नुभयो, “होटेल, पसलमा खोज्दै, माग्दै गयो भने पैसा माग्छन् तर नगरपालिकाको गाडीमा पैसा तिरेर हालिदिन्छन् । यहाँ नगरपालिकाको गाडीले ल्याएर फाल्छ । यही फोहोर सङ्कलन गरेर हामी धेरै जनाले जीविकोपार्जन गरेका छौँ ।” ४७ वर्षीय अब्दुलले भन्नुभयो,  “फोहोरमा लाखौँ रुपियाँ फालिन्छ तर नगरपालिकाले उपयोग गर्न जानेको छैन ।”