• २१ कात्तिक २०८१, बुधबार

जापानी परमाणु बमबाट बचेको समूहलाई नोबेल शान्ति पुरस्कार

blog

सन् १९४५ को हिरोशिमामा भएको आणविक बम आक्रमणमा बाँचेका निहोन हिडान्क्यो । तस्बिरः बिबिसी

ओस्लो, असोज २५ गते । यस वर्षको नोबेल शान्ति पुरस्कार जापानी परमाणु विरोधी समूह निहोन हिदान्क्योलाई प्रदान गरिएको छ। हिबाकुशा पनि भनिने यो समूह हिरोशिमा र नागासाकी परमाणु बमबाट बचेकाहरूको जनआधारित आन्दोलन हो। 

सन् १९५६ मा स्थापित यो समूहले ‘परमाणु हतियारमुक्त विश्व प्राप्त गर्ने प्रयासका लागि र गवाही बयानमार्फत परमाणु हतियार फेरिक पहिल्यै प्रयोग गर्नुहुँदैन भनेर प्रदर्शन गरेकामा’ सम्मान प्राप्त गरेको ओस्लोमा नर्वेली नोबेल शान्ति समितिका अध्यक्ष जोर्गेन वात्ने फ्रिड्नेसले बताउनुभयो। 

उक्त समूहका सह–प्रमुखले पुरस्कार जितेकामा आश्चर्य व्यक्त गरेका छन्। “यो हुनसक्छ भनेर मैले कहिल्यै सपनामा पनि सोचेको थिइनँ”, टोक्योमा पत्रकारहरूसँग आँसु झार्दै तोमोयुकी मिमाकीले भन्नुभयो, “परमाणु हतियारको कारणले विश्वमा शान्ति कायम भएको छ भन्ने भनाइ छ तर यदि रुसले युक्रेन विरुद्ध, इजरायलले गाजाविरुद्ध ती हतियारको प्रयोग गर्छन् भने यो त्यहीँ अन्त्य हुनेछैन, राजनीतिज्ञहरूले यो कुरा थाहा पाउनुपर्छ।”

नोबेल समितिले सन् १९४५ अगस्टको परमाणु बम आक्रमणको प्रतिक्रियामा विकसित भएको अन्तर्राष्ट्रिय ‘परमाणु प्रतिबन्ध’ ‘दबाब’ मा रहेको भन्दै चिन्ता व्यक्त गरेको छ। 

“यस वर्षको पुरस्कार यो परमाणु प्रतिबन्ध कायम राख्ने आवश्यकतामा केन्द्रित पुरस्कार हो र हामी सबैको जिम्मेबारी छ, विशेषगरी परमाणु शक्तिहरूको”, फ्रिड्नेसले पत्रकारहरूलाई भन्नुभयो। 

मस्कोले पश्चिमी राष्ट्रहरूबाट युक्रेनलाई समर्थन गर्न रोक्न परमाणु खतराको बारम्बार उल्लेख गरेको छ। युक्रेनले सन् २०२२ फेब्रुअरीदेखि रुसको आक्रमणको सामना गरिरहेको छ। 

जापानका प्रधानमन्त्री शिगेरु इशिबाले निहोन हिदान्क्योलाई दिइएको पुरस्कार ‘अत्यन्त अर्थपूर्ण’ भएको बताउनुभयो। 

दुई अमेरिकी परमाणु बमबाट हिरोशिमा र नागासाकीका करिब एक लाख २० हजार बासिन्दाको मृत्यु भएको र पछि त्यति नै सङ्ख्यामा जलन र विकिरणको चोटले मृत्यु भएको घटना अर्को वर्ष ८० वर्ष पूरा हुँदैछ।  

“आजका परमाणु हतियारहरूमा धेरै ठूलो विनाशकारी शक्ति छ, तिनीहरूले लाखौँ मानिसलाई मार्न सक्छन् र जलवायुमा विनाशकारी प्रभाव पार्नेछन्”, फ्रिड्नेसले चेतावनी दिँदै भन्नुभयो, “एउटा परमाणु युद्धले हाम्रो सभ्यतालाई नष्ट गर्नसक्छ।”

हाल नौवटा परमाणु–सशस्त्र मुलुकहरू अमेरिका, रुस, फ्रान्स, बेलायत, चीन, भारत, पाकिस्तान, उत्तर कोरिया र सम्भवतः इजरायल रहेका छन्। 

नोबेल शान्ति पुरस्कारले निःशस्त्रीकरण प्रयासहरूलाई सम्मानित गरेको यो पहिलो पटक होइन। सन् १९७५ मा सोभियत सङ्घका असन्तुष्ट आन्द्रेइ सखारोभलाई प्रदान गरिएको थियो भने सन् १९८५ मा परमाणु युद्ध रोकथामका लागि अन्तर्राष्ट्रिय चिकित्सकहरूले यो पुरस्कार जितेका थिए। 

सन् १९९५ मा जोसेफ रोटब्लाट र उहाँको पुगवाश आन्दोलनलाई प्रदान गरिएको थियो। सन् २००५ मा अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी र यसका निर्देशक मोहम्मद एलबरादेईले यो पुरस्कार जितेका थिए। सन् २०१७ मा यो पुरस्कार परमाणु हतियार उन्मूलनका लागि अन्तर्राष्ट्रिय अभियान ९आइसिएएन० लाई प्रदान गरिएको थियो।

गत वर्ष नोबेल शान्ति पुरस्कार इरानमा महिलाहरूको दमनविरुद्ध लडाइँका लागि जेलमा रहेकी महिला अधिकार अभियन्ता नर्गेस मोहम्मदीलाई प्रदान गरिएको थियो। 

नोबेल पुरस्कारमा डिप्लोमा, सुनको पदक र १० लाख डलरको पुरस्कार राशि समावेश छ। 

डिसेम्बर १० मा स्टकहोममा राजा कार्ल सोह्रौँ गुस्ताफाले यो पुरस्कार प्रदान गर्नुहुनेछ। उक्त दिन वैज्ञानिक एवं पुरस्कार संस्थापक अल्फ्रेड नोबेलको १८९६ को मृत्युको वार्षिकी हो। (रासस/एएफपी)