भैरहवा समाचारदाता
भैरहवा, पुस १५ गते । रुपन्देहीको बेलहिया–सुनौली सीमानाकाबाट माइती नेपालले सन् २०२५ को डिसेम्बर २५ सम्ममा बेचबिखनको जोखिममा परेका २०१ जना महिला तथा किशोरीलाई उद्धार गरेको छ । चेलीबेटी तथा बालबालिका बेचबिखनविरुद्ध कार्यरत गैरसरकारी संस्था माइती नेपालले सीमामा निगरानी, बेचबिखन रोकथाम, बेचिएकाको उद्धार तथा पीडितलाई परिवार र समाजमा पुनस्र्थापना गर्दै आएको छ ।
शुक्रबार भैरहवामा आयोजित वार्षिक समीक्षा कार्यक्रममा माइती नेपाल भैरहवाकी प्रमुख माया क्षेत्रीले बेलहिया–सुनौली सीमानाकाबाट उद्धार गरिएका २०१ जनामध्ये १८ वर्षमुनिका ७२ जना र १८ वर्षभन्दामाथिका १२९ जना रहेको जानकारी दिनुभयो । उहाँका अनुसार उद्धार गरिएका महिला तथा किशोरी विभिन्न कारण देखाउँदै भारत जान लागेका थिए र उनीहरू बेचबिखनको उच्च जोखिममा थिए ।
उद्धार गरिएकामध्ये २६ जना रुपन्देहीका विभिन्न पालिकाका हुन् भने अन्य सिन्धुली, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, मकवानपुर, धादिङलगायतका रहेका छन् । रुपन्देहीतर्फ मायादेवी गाउँपालिकाका चार, देवदह नगरपालिकाका चार, रोहिणी, कञ्चन र बुटवल उपमहानगरपालिकाका तीन/तीन जना, सैनामैना र गैँडहवा गाउँपालिकाका दुई/दुई जना तथा सिद्धार्थनगर, सम्मरीमाई, सियारी, ओमसतिया र तिलोत्तमाबाट एक/एक जनाको उद्धार गरिएको हो ।
यस अवधिमा माइती नेपाल भैरहवाले भारतका विभिन्न स्थानबाट तीन जनाको उद्धार गरेको छ भने सीमानाकामा १२ हजार ८९५ जना महिला तथा किशोरीलाई बेचबिखनसम्बन्धी सचेतना तथा प्रशिक्षण दिएको छ । जिल्ला प्रशासन कार्यालयमा रहेको एकाइमार्फत एक हजार १९ जनालाई बेचबिखनबारे जानकारी गराइएको छ ।
खोजतलाससम्बन्धी २४ वटा निवेदन प्राप्त भएकोमा १२ जना फेला परेका छन् भने घरेलु हिंसासम्बन्धी १० वटा निवेदन परेको माइती नेपालले जनाएको छ । यस अवधिमा दुई हजार ७९७ वटा सार्वजनिक यातायातका साधनमा जाँच तथा निगरानी गरिएको छ । उद्धार गरिएकामध्ये ४६ जनालाई सीमानाकाबाटै सिधै घर पठाइएको छ ।
प्रमुख क्षेत्रीले भन्नुभयो, “बेचबिखनको जोखिम पहिचान गर्न बसचालक तथा कर्मचारीसँग समन्वय गर्दै आएका छौँ । उद्धार कार्यका लागि नेपाल तथा भारतका सरकारी र गैरसरकारी निकायसँग सहकार्य भइरहेको छ ।”
गरिबी, बेरोजगारी, सामाजिक सञ्जालको दुरुपयोगबाट प्रेम सम्बन्धमा परेर नक्कली विवाह, नेटवर्किङ व्यवसाय तथा आकर्षक तलबको प्रलोभनमा मसाज र डान्स बारमा काम गर्ने भनेर बेचबिखनमा पर्ने गरेको माइती नेपालले जनाएको छ । क्षेत्रीले जनचेतनाको अभाव, घरेलु हिंसा, तिनै तहका सरकारमा स्पष्ट नीति, योजना र बजेटको कमी, तथ्याङ्कको अभाव तथा प्रभावकारी अनुगमन नहुनु बेचबिखन नियन्त्रणमा चुनौती बनेको बताउनुभयो । साथै बेचबिखनमा संलग्न व्यक्ति प्रायः आफन्त वा चिनेजानेकै हुने भएकाले पीडितले उनीहरूविरुद्ध उजुरी दिन नचाहनु पनि अर्को चुनौती रहेको उहाँको भनाइ छ ।