• १५ पुस २०८२, मङ्गलबार

चार वर्षपछि सडक कालोपत्रे

blog

गुलरिया समाचारदाता

गुलरिया (बर्दिया), पुस १५ गते । चार वर्षदेखि अलपत्र अवस्थामा रहेको मधुवन नगरपालिकाको कुसुम्बाबजारदेखि नगरपालिका कार्यालय जोड्ने सडक कालोपत्रे भएको छ । पटक पटक म्याद थप गर्दासमेत काम नगरेर हैरान पारेको निर्माण कम्पनीले अन्ततः कालोपत्रे गरेको छ । 

२०७९ वैशाखमा नालीसहितको कालोपत्रे सडक निर्माणका लागि महादेव खिम्ती निर्माण सेवासँग निर्माण सम्झौता भएको थियो । करिब दुई करोड ६५ लाखमा ९६५ मिटर लामो, १० मिटर चौडा सडक र नाली निर्माण गर्नका लागि २०८१ असारसम्म निर्माण गर्ने गरी सम्झौता भएको थियो तर ठेकेदार कम्पनीले समयमा काम नगरी अलपत्र छोड्दा स्थानीयले सास्ती पाएका थिए । 

मधुवन नगरपालिकाका इन्जिनियर सौरभ रेग्मीले तीन पटक म्याद थप गरेर ताकिता गरेपछि सडक कालोपत्रे भएको बताउनुभयो । उहाँले सुरुमा विद्युत्को पोल सार्दा केही समय लागे पनि पछिल्ला दिनमा कुनै बाधा अवरोध नहुँदा सडक निर्माणमा ढिलाइ भएको बताउनुभयो । 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले काम नगरेमा ठेक्का नै तोड्ने तयारी गरेपछि मात्र ठेकेदार सडक बनाउन तयार भएको बताउनुभयो । न्यौपानेले नगरपालिकाभित्रका अरू म्याद नाघेका रुग्ण ठेक्का पनि काम गर्नका लागि निर्माण कम्पनीलाई दबाब दिइरहेको बताउनुभयो । नगरप्रमुख तेजबहादुर भाटले मुख्य निर्माण व्यवसायीले अर्को स्थानीय निर्माण व्यवसायीलाई जिम्मा दिएकाले निर्माणमा ढिलाइ भएको बताउनुभयो ।