• १५ पुस २०८२, मङ्गलबार

प्रसारण लाइनको काम अन्तिम चरणमा

blog

हरिपुर नगरपालिका–२, जगतपुर क्षेत्रमा ठड्याइएको विद्युत् प्रसारण लाइनको टावर । तस्बिर : जनार्जन खत्री

सर्लाही समाचारदाता

सर्लाही, पुस १५ गते । लालबन्दी–सलेमपुर १३२ केभी प्रसारण लाइन आयोजना अन्तर्गत ग्रिड सबस्टेसन निर्माण र विद्युत् प्रसारण स्तम्भ (इलेक्ट्रिकल टावर) खडा गर्ने काम अन्तिम चरणमा पुगेको छ । सर्लाहीका आधा दर्जन पालिकामा भरपर्दो र व्यवस्थित किसिमले विद्युत् प्रवाह गर्ने उद्देश्यसहित चव्रmघट्टा गाउँपालिका–१, औरहीमा ग्रिड सबस्टेसन निर्माण गर्ने र नवलपुरदेखि औरहीसम्म उच्च भोल्टेजको बिजुली लैजान टावर ठड्याउने काम पूरा हुने चरणमा पुगेको हो । २०७६ सालबाट सर्भे सुरु गरिएको प्रसारण लाइनको काम २०८३ कात्तिक २९ गतेसम्म सम्पन्न गरिसक्ने गरी ठेक्का सम्झौता रहेको छ । 

आयोजनाका सूचना अधिकारी कुनाल चौधरीले अहिले सबस्टेसनमा वायरिङ गर्ने र बाँकी रहेका टावर ठड्याउने काम भइरहेको बताउनुभयो । उहाँका अनुसार अब प्रसारण लाइनमा मुख्य कामका रूपमा तार तान्ने काम मात्रै बाँकी रहेको छ । 

प्रसारण लाइनको नौ मिटर दायाँबायाँको जग्गाधनीलाई मुआब्जा दिने निर्णय भए अनुसार हरिवन, बरहथवा र मलङ्गवास्थित नापी कार्यालयसँग समन्वय गरी छिट्टै जग्गा नापजाँचको काम अघि बढाउने तयारी रहेको आयोजनाका सूचना अधिकारी चौधरीले बताउनुभयो । यो प्रसारण लाइनको काम पूरा भएपछि चव्रmघट्टासहित मलङ्गवा, कविलासी, गोडैता र बरहथवा नगरपालिकामा विद्युत् प्रवाह गर्ने उद्देश्य रहेको छ । 

यी क्षेत्रमा अहिले नवलपुरस्थित ग्रिड सबस्टेसनबाट लामो प्रसारण लाइन हुँदै बिजुली लैजाँदा बारम्बार प्राविधिक समस्या आइरहेको प्राविधिकले बताएका छन् । केही वर्षअघि नवलपुरमा ग्रिड सबस्टेसन निर्माण गरेर बिजुली प्रवाह हुन थालेपछि जिल्लाको उत्तरी भेगमा भोल्टेज र अनियमित विद्युत् कटौतीको समस्या धेरै हदसम्म कम भएको छ । नेपाल विद्युत् प्राधिकरणले भर्खरै हरिपूर्वा र गडहीया डुमिरयामा समेत सबस्टेसन निर्माण गरेर आसपासको क्षेत्रमा विद्युत् प्रवाह गरिरहेको छ ।