काठमाडौँ, असोज २५ गते । “हिजोआजको पुस्ताको त हाडै कच्चा ! सानै ठाउँबाट पनि लड्यो कि पिटिक्कै भाँच्चिने ! हात खुट्टा झनै कमजोर ! सामान्य रूपमै भ-याङ ओर्लंदा फर्किएको खुट्टा कुर्कुच्चाबाट भाँचिएका कैयौँ दृष्टान्त छन् । न खानपिन गतिलो, न खेतीपातीका काम र नत शारीरिक अभ्यास नै । कसरी बलियो होस् त हड्डी ?”
बुढापाकाबाट यस्तै यस्तै सुन्न पाइन्छ अहिले । उहाँहरू उहिले र अहिलेको खानपान, रहनसहन, उठबस, काम विशेष तथा बानीबेहोराको तुलना गर्ने गर्नुहुन्छ । उहाँहरूका भोगाइमा अहिलेको पुस्ताको शारीरिक तन्दुरुस्ती पहिले जस्तो छैन । ‘टेबल वर्क’ धेरै छ तर शारीरिक अभ्यास न्यून । हिँडाइ त झन् छँदै छैन, एक किलोमिटरलाई पनि गाडी चढ्छन् । त्यसैले यो पुस्ताको स्वास्थ्य पनि बलियो छैन ।
घाँसका भारीसित लड्दा होस् या रुखबाट भुइँमा खस्दासमेत हातखुट्टा नभाँचिने अनुभव उहाँहरू सुनाउनु हुन्छ । घाँस दाउरा र लेकबेँसी धेरै हुने र हिँड्ने बाटो पनि खेतबारीका कान्लाबाट उक्लिने र ओर्लिने खालको हुने । त्यसैले शारीरिक अभ्यास प्रशस्त मात्रामा पुग्ने उहाँहरूको अनुभव छ । अनि खानपानका अनुभव पनि निकै रोचक । एउटा लैनो भैँसीको घिउ र दुध एक्लैले खाने रे । त्यस कारण हड्डी बलियो बन्ने र सानातिना चोटले केही असर नगर्ने उहाँहरूको अनुभव छ ।
नेपालका हाडजोर्नीसम्बन्धी विशेषज्ञ चिकित्सक कैलाश भण्डारी पाकापुस्ताका यी अनुभवप्रति सहमत हुनुहुन्छ । के नेपालीका हाड पाकापुस्ताका यस्तै अनुभव जस्तै कमजोर हुँदै गएका हुन् ? डा. भण्डारी केही हदसम्म कारण यिनै हुन् भन्नुहुन्छ । अहिले सानातिनै चोटपटकमा पनि हाड भाँचिने गरेका छन्, एउटै हात या खुट्टा पटक पटक भाँचिएर अस्पताल ल्याउने बिरामी धेरै भेटिन्छन् । ‘हिस्ट्र टेकिङ’ गर्दा उहाँहरू सामान्य रूपमा लडेको मात्र बताउनु हुन्छ तर हड्डीमा क्षति धेरै पुगेको हुन्छ ।
हड्डीको यस प्रकारको रुग्णतामा डा. भण्डारीले दिने कारण पनि उस्तै छ, खानपान, आहारविहार र अहिलेको खानाको शुद्धतामा ह्रास । उहाँ भन्नुहुन्छ “खानपान त उही हो, धेरैको पत्रुखाना (जङ्कफुड) नै हुन्छ र शारीरिक अभ्यास छैन । खाना बनाउन, शारीरिक अभ्यास गर्न या हिँड्नै पनि मानिस चाहँदैन, सौखिन बन्दै गएको छ । उसको ‘टेबल वर्क’ बढी छ अनि शारीरिक सव्रिmयता कम तर उही खानेकुरामा पनि पहिले र अहिले पाउने प्रोटिन या अन्य खनिजहरूको प्रचुरता फरक पर्दै गएको छ । शुद्धतामा ह्रास आइरहेको छ ।”
उही खानेकुरामा पनि पहिले र अहिले पाइने प्रोटिनको शुद्धतामा किन फरक ? यसको कारण विषादिको प्रयोग, माटोमा प्रयोग गरिने आधुनिक अर्थात् रासायनिक मलको प्रयोग हो । यसले खानामा पाइने प्रोटिनको शुद्धतामा फरक पर्दै गएको उहाँको तर्क छ । त्यसै गरी ‘आउटडोर एक्टिभिटिज’ कम हुँदै जाँदा आवश्यक शारीरिक अभ्यास नपाएर तथा हड्डी खुम्चिएर रहने या जाम हुने अवस्थासमेत देखिएको डा. भण्डारीको भनाइ छ ।
अहिलेका बालबालिकालाई घरमै होस् या विद्यालयमा खेल्ने खेल मैदानको उपलब्धता नै नभएको उहाँको भनाइ छ । “हेर्नुहोस् न बालबालिकालाई खेल्न न विद्यालयमा खेल मैदान छन् र न त घरमै । विद्यालय पनि प्रायः बाटोका नजिक या सँघुरा जमिनमा बनेका छन्, जहाँ खेल्नका लागि जमिन नै छैन । घरको त झन् कुरै भएन । चार आना भएपछि घर बनाउने घडेरी पुगिहाल्यो, केटाकेटीलाई खेल्ने मैदानका बारेका कसले सोचिदिने ? यसरी सहरका बालबालिका साँघुरोमै खुम्चिएर बस्नुपर्दा तिनका हाडले शारीरिक तन्दुरुस्ती बन्न पाएका छैनन्”, डा. भण्डारीको भनाइ छ ।
उहाँका अनुसार अल्छी तथा सौखिन दिनचर्या, हाडलाई आवश्यक पर्ने भिटामिन ‘डी’ को उपलब्धताको कमी र सूर्यको किरणको पहुँचबाट टाढा रहेको मानिसको दैनिकी पनि हाड कमजोर बन्दै जानाका अरू केही कारण हुन् । हाम्रो शरीरमा भिटामिन ‘डी’ को मात्रा विश्व स्वास्थ्य सङ्गठनले तोेकेको मात्राभन्दा कम रहेको उहाँ बताउनुहुन्छ ।
जोरपाटीस्थित नेपाल अर्थाेपेडिक अस्पतालका मेडिकल डाइरेक्टर डा. भण्डारी विशेष गरी अहिलेको बालिबालिकाको स्वास्थ्यप्रति चिन्ता व्यक्त गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “बालबालिकाको स्वास्थ्य अवस्था देखेर चिन्ता लाग्छ । उनीहरूका हातखुट्टा त खुर्सानीको बोट जस्तै बन्दै गएका छन्, अलिकति बल ग¥यो कि पिटिक्क भाँचिने । कारण त तिनै हुन् खानपान र आहारबिहार । कारण धेरै होलान्, दिनप्रतिदिन कमजोर बन्दै गएको देख्छु उनीहरूको हड्डी ।”
उहाँको अनुभवमा अहिलेको पुस्ता एक तला पनि भ-याङ चढ्न अल्छी मान्छ, लिफ्ट छ भने त्यसैबाट जान्छ । अरू पनि यस्तै हो कि पसिना निकालेर काम गर्न चाहँदैन । बजारको खानाको उपभोगमा वृद्धि, रक्सी तथा अन्य मादक पदार्थको सेवनले पनि हाड क्षयीकरणमा योगदान थप्दै गएको देखिएको छ भने विस्तारै न्युट्रेसनमा भएको कमीले हाडको कमजोरी हुँदै गएको छ । शरीरमा लाग्ने चोटपटक र त्यसको समयमै उपचारको कमी, बाथरोगलगायत विभिन्न रोग तथा जेनेटिक त यो समस्याका रैथाने कारण छँदै छन् ।
यो अवस्थाको निराकरणका उपाय सुझाउँदा डा. भण्डारी सबैभन्दा आवश्यक क्याल्सियम, खनिज र प्रोटिनको उपलब्धतालाई देख्नुहुन्छ । नियमित शारीरिक अभ्यास, स्वस्थ खाना र योगा हड्डी बलियो बनाउने अरू उपाय हुन् । यी आनीबानीले हाड मात्र बलियो बनाउने नभएर अन्य शरीरिक स्वास्थ्यमा पनि लाभ पु-याउँछ । सुगर होस् या अरू रोग बढ्न नदिन पनि यो व्यायामले सघाउ पु-याउनेछ ।
मानिसका हाड बलियो बनाउन उहाँले नियमित शारीरिक व्यायाम, स्वस्थकर खानेकुरा र हाडमा लाग्ने चोटपटकको समयमै उपचार गर्नुपर्ने विषयलाई राष्ट्रिय अभियानकै रूपमा नागरिकमा लैजानुपर्ने र शरीरमा हाडजोर्नीको महìव र यससम्बन्धी रोगका बारेमा विद्यालयस्तरदेखि नै पाठ्यव्रmममा राख्नुपर्ने उहाँको सुझाव छ । हाडसम्बन्धी रोगले शरीरका अरू अङ्गलाई पनि क्षति गर्ने तथा शारीरिक अपाङ्गतासमेत हुन सक्ने भएकाले यसको संवेदनशीलताको प्रचार अझ बढी आवश्यक रहेको उहाँको भनाइ छ ।
“हाडजोर्नीको उपचार जटिल नहुँदै र तुरुन्तै गर्न सकियो भने पक्षाघात हुनबाट जोगाउन सकिन्छ । मेरुदण्डको चोटपटक झनै संवेदनशील विषय हो । उपचार ढिला हुँदा कतिपय त जीवनभर नै उपचार गराइरहनुपर्ने, अपाङ्गता हुने आदि हुन्छ । परिवार पाल्नुपर्ने सदस्य नै यस्तो भइदियो भने त झन् त्यो व्यक्ति मात्र नभएर परिवारले नै दुःख पाउने भयो नि । यस विषयमा नागरिक पनि सजग हुनु जरुरी छ,” डा. भण्डारी भन्नुहुन्छ ।